– कृष्ण बोहरा ‘यात्री’
आमा !
ढोग छ ।
सिमाहरुले छेकिएको भूगोलमा,
मरुभूमिको दासतामा,
तिम्रो स्नेहको तस्वीर,
च्यातिएको छ नचाहेर ।
भत्किएको छ पुरानिएर ।
जेलमा मृत्यु छ,
मातृत्वमा ममता छ,
चैते बाँदरहरुको कुस्तिले,
दुखेको छ आशा,
पुरानो त्यो थोत्रो घरमा
बेदनाका झारहरु
आँसु बनेर उम्र्या होलान हैन ।
आमा !
जन्मँदै टुहुरो म !
बाबासंग बिछोडिएकी तिमीलाई,
संधै संधै हँसाउन भनेर,
पुत्र भै जन्ममा हस्ताक्षर गरेको थिएँ ।
तर,
तिम्रो अर्धमृत्त खुसीको सुसेलीले,
धर्मराउँदो बिश्वासको ब्यालीले,
निरास भै सराप्छ होला मलाई,
किनकि !
आजन्म आजन्म तिम्रो दुधको भारा बोकेर
छिट्टै फाँसीमा हस्ताक्षर गर्दैछु ।
आमा !
मेरो हत्केलामा तिम्रो बेदना झर्दा,
तिम्रो बात्सल्यता मुर्छाएको थियो ।
चिरा परेको कुर्कुच्चा,
सेतो केस अनि चिरिएको चोली,
संगै तिम्रो पुष्पहार र मेरो गला,
कुर्लिएका थिए भेट हुँदा ।
बिधवा आमा र टुहुरो छोरो
बिछोडिएका थियौं त्यो दिन !
फेरी भेट्ने आशामा ।
म ज्वरोले ढल्दा
चिन्ताको भल बगाएकी थियौ तिमीले
बर्सातको झरी,
बार्छिटा अनि भोको पेट
सिल्ली बनेका थियौं
त्यो रात ।
आमा !
मलाई बिश्वास छ !
तिमीले पनि यो चिठ्ठी पाउँदा
एउटा छुट्टै मृत्युमा हस्ताक्षर गर्ने छ्यौ ।
सहजपूर – ३, गिथडा, कैलाली (हाल : सानोठिमी क्याम्पस)
krishnaboharayatri@yahoo.com
Please follow and like us: