जनता,
नाङ्गो आङ्ग
भोको पेट
फुटेको कुर्कुचा
खिंईंदै गएको चप्पल
सडकमा
गर्छन् आन्दोलन
एक धर्सो सपना लिएर
नेताको विश्वासमा ।
नागरिक,
कालो चस्मा
सुकिलो सेतो बस्त्र
हातमा मिनरल वाटर
चम्किलो जुत्ता
सडकमा
निकाल्छन् जुलुश
शान्तिको
नयाँ नेपालको नाममा ।
नेता,
बजाउछन् भाषणको डमरु
नाच्छन् सोझा जनता
चटकीको कमाल!
“कभी इधर! कभी उधर!”
र, बिद्रोह यहिबाट सुरु हुन्छ…………….
कारण,
धेरै कुरा मिलेन
शहर र गाउँ
जनता र नागरिक
आन्दोलन र शान्ति
राजनीति र नेता
भाषण र प्रतिबद्धता
नयाँ नेपाल भित्र
केहि पनि त मिलेन ।
त्यसैले,
राजधानीका सडक-सडकमा
कुण्ठित सपनाहरूको बिस्कुन लाएर
गाउँ फर्किए जनताहरु
नेता र नागरिक
शहर र सडक
सबै छोडेर ।
के थाहा ! कुनै दिन
पुन: आउने छन् तिनीहरु
उठाउन
सपनाहरूको बिस्कुन
दृढ संकल्प लिएर ।
किनभने,
नाङ्गो आङ्ग
भोको पेट
खाली पैतालाहरुलाई
शान्तिभन्दा
हिंसात्मक बिद्रोह प्रिय लाग्न सक्छ ।
१२ मे २०१० । लन्डन