– मनु लोहोरुङ

मूल्यहीन पसिनासंग
सम्झौता गरेर
मेरो आधापेट भोक
बारम्बार डाँको छोडेर रुँदा
अचेल मलाई
अस्तित्व पचाएर अस्तु सुघ्ने
ब्वाँसोहरुको शिकार-तृष्णा जाग्दैछ ।

विश्वासका त्यान्द्रोहरुमा
छेस्का छेस्की खुसीका
चारो उनेर बल्छी हान्ने
तिम्रा दाउहरुमा
तिमीलाई नै छिर्कने
घान हाल्न नसक्नु
लोकको कायरता हुँदै होइन ।
इप्सा हो,
सभ्यता र स्वाभिमानमा बाँच्नु !

अवज्ञा जीवनका बिस्कुनहरु
भौगोलिक मान्द्रो भरि
असरल्ल पोखिँदा
खण्डहर भूमिको छेवैमा
आमाको अस्मिता
दशगाजा भरि लुटिंदा
अवाक् टुलु-टुलु हेर्ने
ती पैरवी आँखाहरु जलाउन
अब म,
पृथक अग्नि ज्वाला ओकल्छु ।

आफ्नै ढुकुटी भक्षण गर्ने
तिम्रै हात…..
औंलाका आँख्ला आँख्लाहरु भाँचेर
अमानती कामको हिसाब
ऋण असुल गर्न
मलाई बाध्य नबनाऊ !

तिम्रा मनमौजी घोचाईबाट बच्ने
मेरो माफिकी अमल्तुनो
खिया परेर कुच्चिए पछि
मन-मुटु र दिमागी संवेगमा
सहिष्णुताका सिउनीहरु बस्दैनन् l
त्यसैले म अब पाईला-पाईलामा
मुटुबाट मस्तिष्कबाट
अनि आँखाबाट च्यातिदैछु,
अग्रसुचक ध्वनीले फाट्दैछु ।
तिम्रै कर्कसाले फुट्न लागेका
भूगोल-खण्डित ग्रामहरु जोड्न l

मेरा यी सन्तानहरु
तिम्रा लात्ते भकुण्डो होइनन्
न यो छाती तिम्रो रंगशाला !
सपनाहरु खोसेर गोल हान्ने
तिम्रो तुजुक देखेर
वस्तीहरु बिउँझि सकेका छन् l

१९ अशोज २०६७
मंगलबार

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *