निलो सगरको
घुम्टोभित्र म !
संसार अटेका
ति उत्सुकताका
इन्द्रेणी आँखाहरुका
राग कल्पेर बसिरहेको छु l
तिम्रो पवित्र हृदयका
अनुरागी उद्वेगहरु
विरुपक धर्म-संस्कारको
ज्यथा जितेर आउनेछ l
(आशा, संकल्प )
मेरो कल्पान्त
स्वप्निल साँझ
रंगिन मिथक
पल-प्रतिपल बाँचिरहेको छु l
अखण्ड वर्णविभेदीत
यो साम्राज्यबाट
स्वतन्त्र भित्रको
बन्दी जिवनको
मुक्ति खोज्छु l
दुई जातिको
साझा रगत
र
प्रेमिलो संसार……
अमर गुलाफहरु
हृदयको बलेशीमा फुल्दा
निर्धक्क म,
अनामिका भरि सिउरिन सकूँ !
तिम्रो र मेरो
ऐच्छिक गोरेटोमा
यो समाजले
अ/जात , बि/जात, कु/जात
विशेषणका काँचो घोचाहरु नतेर्साउन् l
स्वतन्त्र मानसिक
प्रेमिल लकुनाहरु फक्रिदा
जातिविभ्रंश देख्ने
संस्कारका लोचनहरु
एक एक फट्याउन चाहन्छु l
मन्दिर/गुम्बज/मस्जिद/चर्चहरु
उठेर बोलून्, दुई जातको
प्रेमिल मुक्ति युद्धमा l
अनुहारको आकार/ छालाको रङ
अ/जातका सिमा-रेखाहरु
कसले कोर्यो यहाँ…???
सक्छौ भने छुट्याउ
रगतको रङ थरि-थरि !
निधाएका इन्द्रियाहरुलाई
आफ्नै आत्मानुभवले
झकझकाएर अब,
यो समाजको
नश्ल सुधार गर्छु-गर्छु l
प्रिय ! हाम्रो सद्धाव विच
रचिएको यो साजिसबाट
रुपंकन गर्न/हुन
समयको साधक
संकल्पको अस्वमेध घोडा
तिम्रै अनुरागको लगामले दौडाउनेछु l