—रामप्रसाद प्रसाईं
पढेथेँ
पृथ्वी गोलो छ रे
क्रम उपक्रमहरूसंगै
समय, सन्दर्भ र चेतनाहरू
घुम्दा हुन्
यिनै र यस्तै वृत–परिवृतहरूमा
ठीक यसपालि पनि यस्तै भो
“जिन्दाबाद
मुन्ताजर अल–जायदी
अभिवादन मेरो
मेरो अभिमानको
गोरवशाली इतिहाँसको”
भन्ने
“म भोको पेट
म रोगी समय
म किलो शेरा टु र
रोमियो अप्रेसनका पाप्राहरू
धाँजा धाँजामा
धज्जी उडाइएका दशगजाका खम्बाहरू म
सुगोली सन्धिले आत्मदहन गरिरहेको
दुई ढुङ्गाहरूबीचको
तरूल म,
उनै राजा महाराजाले खाँडो जगाउँदा
बिटुलिइएको तिनीहरूकै दरबारमा
थन्किरहेको चाँदीको चुठुवा म”
अब धन्य छु
मुन्ताजर अली–जायदीहरूप्रति
तिम्रा विविध, परिमार्जित र नयाँ सँस्करणहरूप्रति
सुनेथेँ
हो, रहेछ
युग जन्मन्छ
घटना घट्छ
समयको भीरबाट
चेतनाका लाभा खस्दै जाँदा
युगको बलेसीमा
एउटा ठूलो बाघले
साना स्यालहरू
र
साना पाठाहरूलाई
टुक्रयाउँछ
सस्याना अस्थिहरूमा
अनि
मबाट ऊ भएपछि
मान्छे चोखे मन्छाउँछ
र
मोच मार्छ—जागीत्रहरूको,
कागति झुण्डयाउँछ—
धोकाधडीका ढोकाढोकाहरूमा,
खुर्सानीको धुलो छर्कन्छ—
खसखसाउँछन्, काला मनहरू
फाटेको जुत्ता चप्पल हल्लाउँछ—
स्वाभिमान र सँप्रभू अस्तित्व
र
स्वाधीन बर्चश्वहरूको
अनि उही
पुरानै जुत्ताको झट्टी हान्छ
नयाँ उसको लागि समय हो
दिन हो, भोलि अनि युगीन बुलन्द
फेरि
च्यातिइएका, टालेका जुत्ताहरू
देखाइरहन्छ
किनकि
ऊ
सर्वहारा हो
ऊ रूपान्त्रण हुन्छ—
उनीहरूमा
अब
उनीहरूसंग नयाँ देखाउन
फगत सपनाहरू मात्र नयाँ छन्
जित्न समग्र संसार छ
हार्न भने झिटीकुम्लाहरू
हेपाइका ख्याउटे अनुहारहरू
अमानवीयताका माखेसाङ्लाहरू
दासत्वका ताण्डवीय सँस्कारहरू
जहाँ आदिम बर्बरताका
रजगजहरू
– दापिइएकाछन्
– दाबिइएकाछन्
– धापिइएकाछन्
आधुनिकताका उँभार र उर्बर
रूप र स्वरूपहरूमा
निर्दोष रगतले टटिइएको वर्तमानका
कुरूप र कुटिल अनुहारहरूप्रति।
अक्टोबर१६सन्२०१०
रामप्रसाद प्रसाईं “आशुतोष आंशु”
कालीखोला –२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।
Please follow and like us: