– बसन्त कुमार श्रेष्ठ’क्षितिज’
अर्थ्याउन,बर्थ्याउन,घिच्रो तेर्साउन सक्ने
एक हुल साँढेहरु बिजुली पानी चुम्दै,झुल्दै
चारै खुट्टाले दाँया बाँया भित्तो नाप्दैछ ।
साँढे-डुक्रन्छ
साँढे-उफ्रन्छ
साँढे-लेघ्रो तान्छ
साँढे-तिघ्रो उचाल्छ ।।
जोत्न नमिल्ने-साँढे
पोत्न नमिल्ने-साँढे
हानेर
डुक्रेर
सिङौरी खेलेर
धुलो उडाएर
अरुको अस्तित्वलाई पटक्कै मान्दैन ।
साँढे-गीता,बाइबल,कुरान घोक्छ
साँढे-सेक्सपियर,चेखव,गोर्की रट्छ
साँढे-बोटल,प्याक,क्वाटर तोड्छ ।।
साँढे-महलमा मस्त भई गोठ फलाक्छ
अनि ऐनामा बस्छ र कुर्लिन्छ त साँढे होस् ।।
एउटा गाडासम्म तान्न नसक्ने
साँढे-डिंग हाक्छ
साँढे-हान्न भाग्छ ।
गिदीमा नाम्ले परेका साँढे
आफ्नो पक्षमा नभए कुर्लन्छ ।।
बाली मास्न,झुपडी भत्काउन उर्लन्छ ।।
बेला बेला तुच्छ भाषामा बहुलाउछ ।।
साँढे-साँढे नै हो उसँग
असिमित बल छ ।
जाँगर छ ।
काम छ ।।
भविष्य छ ।।
तर आफु साँढे भा’कोमा बेहिसाब घमण्ड छ ।।
बेलगाम भयो की मास्न कुद्छ र ताण्डव रच्छ ।।
ए हजुर !
गधालाई धोएर गाई
साँढे ढोकेर दाई कहाँ बनाउन सकिदो रैछ र ? \
Please follow and like us: