भिजेको मान्छे वर्षादेखि डराउँदैन-अरबेली उखान
यो उखानलाई यसरी पनि भन्न मिल्दो हो। एकपल्ट भिजिसकेको मान्छे अझ र फेरि भिज्नुदेखि डराउँदैन। गहिरो यो अरबेली उखानको राजनैतिक सन्दर्भ अरबकै जनज्वारबाट टिप्नु कति सजिलो हुँदैछ। सड़कमा डल्लै ओइरिएको इजिप्टले मुक्ति माग्दैछ। मिडिया भन्छ – “मध्यपूर्व अशान्त”। तर यो सामयिक अशान्ति नभोगे सम्यक् शान्ति पाउन गाह्रो पर्ने सत्य पनि वर्षौंदेखि अशान्त मध्यपूर्वी अरबेली देशहरूलाई आत्मस्थ छ। त्यसैले त जनता सड़कमा आउँछन्। सड़कलाई नै विरोधको चिह्नमा फेर्दै। शासकको लट्ठी, जुत्ता र बन्दुकको पर्वाह नगरी। मुर्दा शान्ति हटाउनको निम्ति बेलाबेला जीवन्त अशान्तिको आलिङ्गन गरिरहेको हुन्छ मान्छे।
जनता स्वतःस्फूर्त सड़कमा ओर्ह्लिएको सूचना आइरहेको भए पनि केही गम्भीर वेबसाइट इजिप्टको जनान्दोलनमा केही र्याडिकल वामपन्थी गुटहरूको योजना र नेतृत्व रेहेको भेद खोल्छन्। जारतन्त्र ढाल्न उर्लिएको रूसको “अक्टोबर क्रान्ति”-को समरूपी इजिप्टको “जनवरी क्रान्ति” पनि तानाशाही विरूद्ध त हो नै। साथै, अरब विश्वमा विद्यमान अमेरिकी धलिमलि वरुद्ध पनि हो। बेरोजगारी दर विश्वको हरदर ५.७ प्रतिशतको लगभग तीन गुणा बढ़ी १४.५ प्रतिशत अरब देशहरूमा रहेको तथ्यको व्यावहारिकताले अरबेली नागरिकहरूलाई झकझकाउँछ। बेकारी, महँगी, गरिबी विरूद्ध तुनिसियामा सल्किन्छ जनाक्रोश। होस्ने मुबारकको तानाशाही र आधिकारिक आपतकालीन शासनको अत्याचारले दबिएका-दलिएका इजिप्टवासीहरूको श्वास भएर पनि मानौँ बन्द छ। तुनिसियाबाट इजिप्टले पाठ पढ़्छ। त्यो सल्किन्छ। हुँदाहुँदै यमन, जोर्डन, सिरिया, सउदी अरब पनि यो मुक्तिचेतनाको रापले छोइन्छन्। यस्तोमा एक आन्दोलनकारीको चाखलाग्दो बयान छापामा आउँछ – “सड़क अब सरकारदेखि डराउँदैन। उल्टा बरू, सरकार र सरकारी सुरक्षाबल जनताबाट भयभीत छन्। नयाँ पुस्ता निडर छ। उनीहरू डल्लै अधिकार चाहन्छन्। उनीहरू जीवन चाहन्छन्। गौरवपूर्ण जीवन।” जनतालाई अब फेरि भिज्नुदेखि, अझ रुझ्नुदेखि डर छैन। चाहिएको छ त बस जीवन। गौरवपूर्ण जीवन।
चेतनाको स्तर र हेर्नेको पृष्ठभूमि कुनै पनि बयानको ढाड़मा हुन्छैहुन्छ। त्यसैले बयानभन्दा मुख्य बयानपछिको चिन्तन हुन्छ। उदाहरण लिनु हो भने स्टालिनजस्ता इतिहासपुरुष त्यसै कसैको निम्ति दार्शनिक, कसैको निम्ति अपराधी ठहरिएनन्। मिथ र फन्तासीको जगतमा मात्र बढ़ी प्रसिद्ध अरबेली देशहरू बिस्तारै फन्तासीको सपनाबाट ब्युँझन चाहन्छन्। खरो वास्तविकताको निम्ति चलमलाउन चाहन्छन्। विश्वकै सबैभन्दा पुराना सभ्यताहरूमध्ये एक हुनुको धरोहर बोक्ने इजिप्ट तीन दशक पुरानो तानाशाहीको साङ्लो चुँड़ाउन खोज्दै सभ्य हुन खोज्छ। कट्टरताको खपेटाबाट उन्मुक्त टाउको उठाउन खोज्छ इजिप्ट। कसैले मिडियालाई इजिप्टको आन्दोलनलाई “अशान्ति” भन्न लगाउलान्। कसैले चाहिँ “क्रान्ति”।
त्यसो र मिडियामा सत्ताशक्तिको प्रभावले गर्दा “पूर्ण खबर” सम्भव छैन। समाचारपत्र, टेलिभिजन र इण्टरनेटले ल्याएको इजिप्टको उथुलपुथुलका ‘आंशिक खबर’-ले धरि विश्वभरि हलचल मच्च्याउन खोज्छन्। कहाँसम्म भने, कोही यो खबरबाट अनजान बस्नु बौद्धिक अपराधजस्तै स्थिति होलाहोला हुन्छ। आम मान्छेलाई काम नलाग्ने बड़ेमानका पिरामिड र स्फिङ्क्सहरू केवल इतिहासको सुस्केरा हालिरहेका छन्। इतिहासको सुइसुइला मार्दै चुपचाप बगेको छ-छ नील नदी। तर इतिहास बनिँदै हुन्छ राजधानी काइरोको मुटु तहरीर स्क्वायरमा। जब-जब जनता सड़कमा ओर्ह्लन्छ, तब-तब सड़क सड़क रहँदैन। सड़क फेरिन्छ युद्धमैदानमा। इतिहासको दैलोमा। तानाशाह विरोधी र तानाशाह प्रेमीहरूमाझ सङ्घात भइरहेको तहरीर स्क्वायर गृहयुद्ध र मुक्तियुद्धको यस्तै एक मिश्रित कथा हुन्छ।
फासीवाद विरुद्ध सङ्घर्षरत स्पेनको सड़कमा बगेको खूनको आहालको काव्यमय चित्र चिलीका कवि पाब्लो नेरुदाले उतारेका छन् आफ्नो एउटा कवितामा। तिनी भन्छन्- “आऊ र हेर स्पेनको सड़कमा खून।” लाग्छ, नेरुदाले लेख्नुपर्थ्यो कि- “आऊ र हेर विश्वको सड़कमा खून।” शान्त जुलूसमाथि सरकारी तन्त्रको दमनको पहलले रगताम्मे तहरीर स्क्वायरको खून र स्पेनको खून दुवै रातो। जलियाँवाला बागमा बगेको खून र कालेबुङको डम्बर चौकमा असमान भारत-नेपाल सन्धिको प्रति च्यात्न भेला भएका आन्दोलनकारीहरूमाथि सीआरपीएफको गोली बर्सिँदा चुहेको खून दुवै रातो। विश्वको कहीँ पनि उत्पीड़न विरूद्ध उठेको आवाजको खूनको रङ्ग रातै त छ। जसरी रातको उत्पीड़न विरूद्ध झुल्किएको बिहानको रातो घाम। र जहाँ-जहाँ उत्पीड़नले सीमा नाघेको छ, त्यहाँ-त्यहाँ जनता जुरमुराई उठेको छ। घामजस्तै।
जनतालाई सदा शोषण गरेर राजकाज चलाउने शासकहरूको इतिहास छ। जनताको ताकतसामु झुकी नहाले पनि हठी शासकले अन्त्यमा आत्मसमर्पण गर्नै परेको इतिहास पनि छ। जनताको सङ्घर्षको इतिहास मरेको घोषणा समेत गरियो। तर जनताको इतिहास मरेन। फेरि इतिहास बौरिन्छ। फेरि जनता जुरमुराउँछन्। यहाँ अझ याद आउँछ जनतालाई हृदयमै राख्ने कवि नेरुदाको सशक्त कविता “जनता” पनि। तिनले जनतालाई चिनेको र “तिनीभित्रबाट जनता रद्द नभएको” अभिव्यक्ति। तिनी जनताको जियालोपनप्रति उदेक मान्छन्। सबै लुगाहरू धुलोमा फेरिएको, सामानहरू टुक्रा-टुक्रा भएको, युद्धले दैलोहरू र देवालहरू भत्काइदिएको शहर एक मुट्ठी खरानी मात्र छ। यस्तोमा पनि जनता कविसँग रहन्छ। जब कि हरेक थोक शाश्वत ठानियो ऊबाहेक। “ऊ बालुवामा पनि बाँच्दछ।”
तहरीर स्क्वायरमा तानाशाह मुबारकको सेना र भाड़ाका गुण्डाहरूसँग जुझिरहेका आम र मध्यमवर्गीय इजिप्टवासीहरूको जुझारुपन र त्यसको स्रोतलाई कसरी परिभाषित गर्नु, त्यो गाह्रो छैन। “उनीहरूले आफ्ना नानीहरूलाई देख्नका लागि सपना छाड़िदिएनन्”- मैले इण्टरनेटको कुनै एक पन्नामा पढ़ेको लागिरहेको यो वाक्य यो लेख्दैगर्दा घरिघरि मेरो मानसमा दोहोरिन आइरहेको छ। शान्त ढङ्गमा चारै दिशाबाट राजधानीको व्यस्त चोकमा पदयात्रा गरी हकको लड़ाइँ लड़िरहेका इजिप्टवासीले नानीहरूको सपना देखिदिन चाहेका छन्। हाम्रै छेउमा एउटा इतिहासको निर्माण भइरहेको छ। जसको साक्षी भइरहेका छौं हामी। माओ-त्से-तुङको नेतृत्वमा सम्पन्न चीनको विश्वप्रसिद्ध दीर्घपदयात्रापछि इतिहासमा चहकिलो गरी देखा पर्नलागेको इजिप्टको “एक मिलियन पदयात्रा” जनताको इतिहास निर्माण गर्ने एउटा पाठै हुनसक्ला। अहिले, म सोच्दैछु, दार्जीलिङको चौरास्ताबाट इजिप्टको तहरीर स्क्वायर कति पो टाढ़ो होला र?
Please follow and like us: