जून पोखिएको शितल रात
भुइँझारको सतरञ्जामा पल्टिएर
चन्द्रज्योत्सनाले पखाल्न सकुँ
बेदनाका दागहरु,
तर नमागुँ हात फैलाएर कसैसङ्ग
दयाको पानी र उपकारका साबुनहरु।
चुक पोखिएको निस्पट्ट रात
आत्मबिश्वासको गोरेटोमा
चेतनमनको दियालो बालेर गन्तब्य खोज्न सकुँ
तर नपर्खुँ अनजान भोलिको उज्यालो,
लुटाएर आजको अमुल्य प्रहरहरु।
अवशरहरु कहिले आउन्नन् बाजा बजाउँदै
न त समयले पाइला चाल्छ बिगुल फुक्दै
जिन्दगीको छातीमा यदाकदा उम्रने सुनाखरी चुम्न
म पहिल्याउन सकुँ केवल यिनले दिने संकेतहरु
म धारण गर्नसकुँ ति सक्षम र सार्थक ज्ञानेन्द्रियहरु ।
कल्पनाको फूलबारी भन्दा
यथार्थको काँढघारी मन्जूर छ
रक्ताम्य सही
यात्राको निरन्तरतामा
म
हजार बार पछारिँदै फेरी उठेर,
धूलो मैलो टक्टक्याएर
अनन्त अनन्त लम्किरहन सकुँ
तर नसुस्ताउँ कतै लालचको चौतारीमा
पर्खिने समयको धर्सो तानेर,
समयका समानान्तर रेखाहरु खोइ कहाँ मिल्छन्!
स्वजीवन स्वानुभूतीमा स्वबिवेकले बाँच्नेहरु,
मानवताको करेसाबारी
हार्दिकताले सिँचेर सहभाबमा हाँस्नेहरु,
समयकै अज्ञात शिलामा युगको अक्षर खोपेर जान्छन्,
म
बाँच्नुको अधुरो रङञ्चमा
तिनै युगाक्षर चिनेर एक अर्को वर्णमाला थप्न सकुँ
तिम्रो मेरो र उसको हृदयको खस्रो भित्ता
सह-अस्तित्वको लेपले लिप्न सकुँ
अनगिन्ती टुक्रामा बिभक्त मनहरु
एउटै सुत्रमा खिप्न सकुँ
हाय!
म
प्रसन्न मान्छे मान्छेको ओठबाट बर्षिने
मुस्कानी फूलहरु
अञ्जुलीभरि टिप्न सकुँ!!!