घाम नडुब्दै भेट्नु सखी!
अन्धकारको के भरोसा
जहाँ छाँया समेत मेटिन्छ
त्यहाँ मायाको कती ग्यारेन्टी होला??
घामको बैजनी किरण
तिम्रो मुहारमा पोतिँदाको आभा

दुइआँखा भरि भरि नियालेर
म त्यही आक्रिती मनको क्यानभासमा कोर्न सकुँ
ताकी जिन्दगीका भयानक अन्धकारमा पनि देखिरहुँ
तिमीलाई झल्मल सम्झनाको नियास्रो नेपथ्यमा,
याचनै सम्झ बरु तर बिन्ती!
घाम नडुब्दै भेट्नु सखी!
अन्धकारको के भरोसा??

आजका लालिगुराँसे पलहरुले
भोली विगत बनेर अवस्य चिमोट्नेछ
चाउरिएका खुजुमुज्जे हृदयका भित्ताहरुमा,
उसबेला सम्झनाका भर्र्याङ्गमा
खुट्किला टेक्तै टेक्तै
यिनै सिम्रिके घटनालाई वैशाखी बनाउँला
उसोर वैशाखीले अंधेरोमा पनि हिँड्न सघाउला
तर वैशाखी बनाउने त उज्यालो मै हो नि !
त्यसैले बिन्ती !
घाम नडुब्दै भेट्नु सखी!
दिनकै उज्यालोमा वैशाखी बनाइसक्नुपर्छ
अन्धकारको के भरोसा?!

नजानेको भोली
नदेखेको उज्यालो
नभोगेको आनन्द
भैगो उही अनिश्चित आगतका पोल्टामा राख भो,
जिन्दगीको भर्भराउँदो पलहरु
कोपिलाका याम जस्तै न हुन्
अनी हुन यि ताजा मौसमी झोँका
कि त उडन्ते चराका बथान जस्तै
रुखका लच्किने हाँगा बुढीएपछी छाडेर
हरियाली मौसमका आयाम भेट्न भुर्र्‍र उडेर पारी लागेझैँ
सपनाहरुले रहरको झोलुङ्गे तरेपछी
जिन्दगीको तारेभिर खङ्ग्रङ्ग पर्छ नै
त्यो सुष्क अंध्यारो कहरमा
कुन मायाको बिरुवा रोप्नु!
त्यसैले,
घाम नडुब्दै भेट्नु सखी!
मलाई भोलिको पटक्कै भर लाग्दैन
सखी! अन्धकारको के भरोसा?!
घाम नडुब्दै भेट्नु है सखी!!

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *