फैलिँदाछन् यादहरू भुसे आगो फैले सरी
निभाउने थियो होला दर्किँदैन बर्खे झरी ।
छालहरू उर्लिएझैँ उर्लिँदै छ मन पनि
पोखिन्छ कि छल्किएर सोच्दासोच्दै नाना थरी ।
बलेसीँमा पर्खी बसेँ नजरको प्यास मेट्न
अस्ताइ गयो घाम पनि क्षितिजको साँघु तरी ।
युद्द् गर्छन् साँझबिहान मनका दुइ पाटाहरू
दोधारमा जिन्दगानी बित्छ सधै कसो गरी !
जिन्दगीको भर परिस् जताततै हिँडिँरह्यो
तँलाई किन सोध्थ्यो ‘उमा’ एक्लै गर्छ मन परी ।
Please follow and like us: