• रानीभीरको कालो गुफामा सल्काइयो रातो मैनबत्ती-
    झुण्डिएर झ्याऊका जराहरुमा
    राजा माकुराको िसंहसानतिर प्रस्थान गरे मानिसहरु ।

    झुल्केघाममा झुल्किने सुनको मृग
    युवाहरुले घॊडा चढ्न खोज्दाखोज्दै जहाँ अलप हुन्थ्यो
    डुब्दो घाम-छायाँमा फणा उठाउँदै सिन्दुरे गोमन
    आउँथ्यो बस्तीलाई डस्थ्यो र स्वाट्ट हराइजान्थ्यो
    मानिसहरु
    मृगको खुरका छापहरु पहिल्याउँदै
    गन्दै सर्पका खुट्टाका डोबहरु
    पुगे भष्मासुरको मुख त्यो रानीभीर गुफामा ।

    रानीभीर गुफा स्वाँ स्वाँ हंश फ्याँकिरहेको थियो अनन्तकालदेखि…
    एक रगतपच्छे श्वास नली सुरुङ फेला पर्दा
    मानिसहरु रहस्यमा डुबे
    जब मानिसहरुमाथि फ्याँकिदियो गुफाभित्रबाट राजा माकुराले
    हजार वर्षअघि गायब स्वतन्त्रताको कङ्काल
    मानिसहरुका आँखा खुले ।

    अब मानिसहरु क्रोधमा उम्लिए
    कापॆँ प्रतिशोधमा
    आँखा चिम्लेर उद्घोष गरे अन्तिम लडाइँको
    मैनबत्ती छोएर सपथ खाए पुनर्स्वतन्त्रताको……मुक्तिको…
    सम्पूर्ण शक्ति सोहोरेर भारी मुठ्ठी उठाए
    अब मानिसहरुले एक निर्विकल्प विजयको आवाज
    आदिम हावामा छोडिदिए ।

    झुण्डिएर स्वप्नका बुट्ट्यानहरुमा
    यसरी मानिसहरु राजा माकुराको दरबारतिर प्रस्थान गरे ।

    सुरुङमा सयौँ बन्द ढोकाहरु थिए ढुङ्गाका ढुङ्गैले फोर्दै गए
    सुरुङमा सयौँ बारहरु थिए हड्डीका हड्डीले चकनाचुर पार्दै गए
    सुरुङभित्र खैरो जङ्गल थियो माकुरा-जालको
    मैनबत्तीबाट थुपै्पल्ट चुहियो मैन-आगो
    र माकुराका जालहरुमा ठूल्ठूला आगलागीहरु भए
    आगलागीमा शत्रूहरु मर्दा मानिसहरु एकदम खुशी भए ।

    त्यो दुरुह यात्रा मानवसभ्यताको-
    मानिसहरु जीवित या मृतमा एकले अर्कालाई शङ्का गर्दथे
    धन्न भोक जिउँदै थियो मानिसहरुका पेटमा र
    आफू जिउँदै रहेकोमा विश्वस्त हुन्थे…

    सुरुङभित्र घण्टाघण्टा बिराएर हुरीबतास चल्थ्यो भयनाक
    सुरुङभित्र अमिलो पानी चुहुन्थ्यो चट्टानका कापकापबाट
    सुरुङभित्र मट्टितेलको नीर-खोला बग्थ्यो कुलकुल…
    अक्करका प्वालप्वालबाट
    चमेरा र लाटोकोशेराहरु निस्कन्थे र
    फन्को मारीमारी झम्टन्थे बत्तीलाई
    हजार बत्ती काँध-काँधमा बालेर आउँथे मुर्कुट्टाहरु
    तर त्यो अखण्ड दीप
    अविजित स्वप्न बलिरहेकॊ मानिसहरुको…।

    थोरै खतरनाक थियो बत्तीवरिपरिको अँध्यारो
    कि त्यहीँ अँध्यारोको खेलमा
    मानिसहरुलाई छिर्के लगाएर छाँगामा खसाल्दै अगाडि बढ्ने को मानिस हो
    अँध्यारोलाई थाहा थियो
    र अतिरिक्त थाहा थियो-
    बत्तीको ज्योतिमा
    गुफाबाहिरबाट सोहोरिएर आएर आदिवासी पुतलीहरु सहिद भएको …

    सुरुङ दशौँदिनको यात्रामा एक भीमकाय गुफामा परिणत भो –

    गुफामा कोक्रोजस्तो हल्लिरहेको राजा माकुराको नौजाले जालो
    जालोको बीचमा तैरिरहेको श्रीपेच
    मानिसहरुलाई लाग्यो-
    -राजा माकुरालाई उहिल्यै नै खाइसकेछन् माकुराहरुले !

    मानिसहरुलाई लाग्यो-
    -लु अब सकियो युद्ध
    -लु अब सकिए दुष्मनहरु
    दुष्मन नपाएर मानिसहरुलाई कत्रो छट्पटी भयो !

    अब मानिसहरुले देखे माकुराका जालमा झुण्डिरहेका हिराका हार
    अब मानिसहरुले देखे िसंहासानमा विराजमान सुनको मृग
    अब मानिसहरुले देखे गुफामा यत्रतत्र उडिरहेका जङ्गली परेवा
    मानिसहरुले देखे पत्थरको भित्ताको विशाल निलो ऐनालाई
    ऐनामा देखे एकअर्कालाई
    अब मानिसहरुले प्रत्येक अनुहारमा एकएक राजामाकुरा देखे

    आखिरमा देखियो ऐनामा
    -मानिसहरु मैनबत्ती खोसाखोस गरिरहेको…
    -दुईतिरबाट मैनबत्ती जलिरहेको …
    -मैनबत्तीले हानाहान गरिरहेको…
    र देखियो मैनबत्तीको छायाँमा
    नयाँ माकुराले नयाँ नयाँ जाल बुनिरहेको…
    …जन्म परम्पराको हजारौँ वर्षगाँठ त्यही मैनवत्तीमा मनाइरहेको…

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *