जब नाङ्गा साल सिसौमा वसन्तले पालुवा लाउन थाल्छ। जब रातको अँध्यारोमा
जूनकिरीले उज्यालो छर्न थाल्छ। जब फूलबारीबाट बाबरी फूलको बासना टाढाटाढासम्म चल्न थाल्छ। तब मेरो ऊ मेरो मसित हिँडिरहे जस्तो लाग्छ। मतिर हाँसेर बोलिरहेजस्तो लाग्छ। मेरो ऊ मसित टोलाइरहेजस्तो लाग्छ।

मेरी आभा म तिमीलाई यति माया गर्छु यति माया गर्छु ….. उसको  कुरा बीचमै
काटेर म भनिदिन्छु – ए अभिषेक! प्रस्ट भनन तिमी मलाई कति माया गर्छौ ? ऊ मसँग
 क्रुद्ध हुँदै भन्छ -आभा तिमी मलाइ जहिले पनि उडाउछ्यौ , म तिम्रा बाबाआमाले भन्दा बेशी माया गर्छु। अब त बुझ्यौ ! म फेरि उसलाइ गिज्याउँदै भन्छु
-हेरौला अहिले त हाम्रो डेटिङ मात्र चल्दै छ। आभा तिमी मलाइ बुझ्दिनौ – भन्दै
 ऊ लापर्बाहीसँग हिँडिदिन्छ ।

अनि एकदिन ऊ मसित निकै गम्भीर मुद्रामा प्रस्तुत हुन्छ। आभा ! आज तिमीसित
गम्भीर कुरा गर्नुछ भन्दै मेरो हात समातेर शिवालयको हाताभित्र पस्छ । अनि बिस्तारै कुरा गर्न थाल्छ – आभा! मेरो कुरा सुन म तिमीलाई आफैभन्दा बढी माया
गर्छु। म तिमीलाई अहिले नै शिवमन्दिरलाई साक्षी राखी आफ्नी बनाउन चाहन्छु।
कुरा के भने म पाँच वर्षका लागि जर्मनी जाँदै छु । नाई नभन यो मेरो प्रेमको
निशानी माटोको धुलो हुनेछ । सम्झ मैले यही धुलो सिन्दूर सम्झेर तिमीलाई लगाई
दिनेछु। आजबाट तिमी मेरी हुनेछौ,  सिर्फ मेरी । म तीनछक्क पर्दै भन्छु
-अभिषेक ! यो सबै कसरी सोच्यौ तिमीले? तिमीलाई थाहा छ, मेरा बाबाआमा हुनु
हुन्छ। यो पनि तिमीलाई राम्रै ज्ञान छ, मेरो पढाइ सिद्धिएको छैन। म बिए तेस्रो
वर्षमा पढ्दै छु। यो तब सम्भब हुन्छ, जब मेरा बाबाआमा राजी हुनुहुन्छ। यो तब
सम्भव हुन्छ जब म कमसेकम बिए पास गरेर नोकरी गर्दै हुनेछु। हैन आभा! मैले
तिमीलाई नपढ भनेको हैन, मैले तिम्रा बाबाआमालाई नमान्ने भन्ने पनि हैन । तर
… तर … म विदेश जानुअघि सुनिश्चित हुन चाहन्छु। तिमी मेरी हौ,  मेरो
कुरालाई अन्यथा नलेऊ । मेरो कुरा मान। उसको यो जिद्दीमा मलाइ झनक्क रिस उठ्यो
र मैले भने – भयो बस् अब तिमी जाउ अभिषेक !यी सबै कुरा अहिले सम्भब छैन। पछि
हुने कुरा समयलाई छोडिदेऊ ।

अहिले बाबाआमा राम्रो केटा आएमा मेरो बिहे गर्ने भन्नुहुन्छ। मेरो आफ्नो
बिहे नगर्ने जिद्दीले गर्दा बहिनी रन्जु र भाइ रमेशको बिहे भइसक्यो । अभिषेक
जर्मनी गएको पनि पाँच नभएर दस वर्ष भएछ। म एमए सकेर घर पायक पर्ने गाउँकै
उच्च माविमा पढाउँदै छु । सम्पूर्ण घरको आम्दानी खर्च पनि मै हेर्छु। मेरा
बाबाआमा भन्नुहुन्छ – छोरा अब कहिलेसम्म बाटो हेर्छौ ? अब त आफ्नो विचार बदल
! पुनस् विचार गर ! आफ्ना बाबाआमाले आफ्नो सन्तानको चिन्ता नगरेर अरू कसले गर्छ
त ! म स्वभाविकै ठान्छु। अर्को कुरा मेरा बाबाआमाले मलाइ छोरा भन्दैमा म
अचम्म छैन। जुन छोरीले घरको सम्पूर्ण दायित्व लिएर समाजमा गतिलो पदचिह्रन
कोरेकी छे। नारी पनि कम छैनन् भनेर उदाहरण प्रस्तुत गरेकी छे। उसलाई यो उपमा
नौलो हैन, तर म छोरी नै हुँ । खुम्चिनु पर्ने जरूरत पनि म देख्तिनँ।

अझै पनि जब म उसको बारेमा सोच्छु …. चितबुझ्दो जवाफ म पाउदिनँ । तैपनि ऊ
आउँछ भन्ने म आशामा छु। ऊ फर्कन्छ भन्नेमा म दृढ छु। जब नाङ्गा
सालसिसौमा वसन्तले पालुवा लाउन थाल्छ। जब रातको अँध्यारोमा जूनकिरीले
उज्यालो छर्न थाल्छ । जब फूलबारीबाट बाबरी फूलको बासना टाढाटाढासम्म
चल्न थाल्छ। तब मेरो ऊ मसित हिँडिरहेजस्तो लाग्छ । मसित हाँसेर बोलिरहेजस्तो
लाग्छ। मेरो ऊ मसितै टोलाइरहेजस्तो लाग्छ। अस्तु:
कथाकार : विवेक दुलाल क्षेत्री
वास्तविक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल: अबुधाबी, युएइ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *