जीवन—जगतलाई प्रेरणा दिने “प्रेरणात्मक कथा–संग्रह”
अघिल्लो वर्ष पल्लो किरात ईलामबाट “छापामार युवतीको डायरी”सँगै उदाईन् तारा राई ‘अनमोल’ । ताराको डायरीले ठूलै पुरस्कार पाउने बजारे हल्लाहरु हावामा हराएर गयो ।

यो वर्ष । वल्लो किरातबाट अर्को किरातकै छोरी आरती रची कोइँच सुनुवार “प्रेरणात्मक कथा–संग्रह” लिएर आएकी छिन् । वास्तवमा रचीको आवाजले सिंगो मुलुकको प्रतिनिधित्व गर्न खोजेको छ । तर सु्न्ने कसले ? सबै बलेकै आगो ताप्छन् । निर्णायकहरुको आँखा फुटेको छैन यो भने यस वर्षको मदन पुरस्कार रचीकै कृतिले पाउँछ ।
खासमा “प्रेरणात्मक कथा–संग्रह” अनलाईनमा विमोचना भएको समाचार पत्रिकामा देखेँ । अनौठो मानेर विमोचित संग्रहमा केचाहीँ रहेछ भन्दै खोजेर पढ्न थालँे । भूमिका हेर्दै अगाडि जान जाँगर चलेन । काम नभएको बेला समय विताउन लागि पढ्न थालेको त पहिलो कथा “सहयोगी दृष्टिविहीन”ले नै बेस्सरी छोयो ।
संग्रह २४ सानातिना कथाहरुको सुन्दर माला हो । लामोमा “संगत गुनाको फल” १६ सय र छोटोमा “असल कि सफल” ४ सय भन्दा धेरै शब्दहरु छैनन् ।
सबै कथामा केही न केही सकारात्मक सन्देशहरु पाईन्छन् । पात्रहरु आफैले गरेको गल्तीबाट पाठ सिकेर असल बनेकाछन् । खासगरी यो कथामा तीन अत्यन्तै महत्पूर्ण विषयहरु समावेस छन् । पहिलो लिंगीय, वर्गीय, जातीय, क्षेत्रीयजस्ता सामाजिक विभेदका आवाजहरु सलबलाएका छन् । लोभलालच, सामाजिक विकृति, अन्धविश्वासले नेपाली समाजलाई कसरी जेलेर राखेको रहेछ भन्ने स्पष्ट सन्देश कथाको अर्को पाटो हो । र, अन्तमा स्वदेशमै कसरी आत्मनिर्भर हुने, आफ्नो टोललाई सफा कसरी राख्ने, धैर्य र परिश्रमको फल मिठो हुनेजस्ता असल सन्देशहरु छन् । मृत्य कसैले टारेर नसकिने अन्तिम सत्य हो र यसबाट डराउनेले कहिल्यै प्रगति नगर्ने, फेसबुकमा रमाउने युवाहरुले समय, स्रोत साधनको कसरी दुरुपयोग गरिरहेका छन् भन्ने सन्देशहरु पनि पठनीय लाग्छन् ।
कथाको बनोट र सन्देशका हिसावले “सुनिताको पुनर्जन्म” उत्कृष्ठ लाग्छ । छोरी भएकै कारण शिक्षावाट वञ्चित सुनिता बहकिँदै हिड्दा दुर्घटनामा परेर मर्छिन् । पढ्ने इच्छा पुरा गर्नकै लागि उनको पवित्र आत्मा अर्काे सम्पन्न परिवारकोे गर्भमा गएर बस्छ । बिडम्वना पुनः छोरी भएको थाहा पाएर गर्भपतनको शिकार भईन् सुनिता । अन्तमा निसन्तान जोडीको गर्भमा जन्मेर पढ्ने इच्छा पुरा गरी छाडिन् र आफूलाई हेला गर्ने आफ्नै पूर्व आमालाई भेट्न गईन् । प्यारो भन्दो छोरोले साथ नदिएर हरिविजोग भएर बसेकी आमालाई मरिसकेकी छोरी भेट्न आउदा पो बुढी सपनाबाट तर्सिँदै बिउझेर सुनितालाई पढाउने प्रण गर्छिन् ।
लिंगीय विभेदलाई तह लगाउन सपनामा ढालेर यति राम्रो कथा बुनिन्छ भनेर सायद पाठकलाई विश्वास लाग्दैन होला । प्रेरणा नै प्रेरणाबाट जन्मिएको कथाले समाजलाई प्रशस्त मार्ग निर्देशन गरेको छ । प्रेरणाको पहिलो स्रोत आफ्नै आमा त्यसपछि सामाजिक कार्यकर्ता भएर हिँड्दा आफ्नै आँखाले देखेका र भोगेका घटनाहरुसँग सम्वन्धित छन् । प्रेरणाका सहायकहरुमा आफ्नै शारीरिक अस्वस्थाले धोका पाएको, जनवारहरुको अधिकारसँग सम्बन्धित अखवारमा छपिएको सूचना, डा. गोविन्द टण्डन र अन्तमा यो संग्रहलाई पुस्तककोरुपमा आकार ल्याउन सहयोग दिने दिदीभेनासमेत मिसिएका छन् ।
ठूलो घर भन्दा नामले चिनिएको राम्रो । अर्थात बानेश्वर हाईटमा कसैको घर खोज्दै जाँदा उनलाई चिनाउन निजको घरको सट्टामा फलानो असल मान्छेबाट चिनिनुको सान्दर्भिकता नै अर्को हुन्छ । यो ब्रह्माण्डमा सफल मान्छे धेरै होलान् तर असल कमै छन् । धेरै पढेर, जालझेल गरेर, रातदिन काम गरेर, चोरेर, ढाँटेर जसरी पनि हामी भौतिकरुपमा सफल हुन्छौँ । असल हुनका लागि खासै त्यत्रो कसरतको जरुरी पर्दैन । तर मान्छेहरु कमै भेटिन्छन् । पे्ररणा र सकारात्मक सोचको अभावमा यस्तो भएको हो । खासमा यो पुस्तकले दिन खोजेको प्रमुख सन्देश नै यही हो । कथाहरु सम्पूर्णरुपमा सन्देश मुलक छन् । म त भन्छु, नयाँ नेपालमा यो संग्रहलाई तुरन्तै हाम्रा विद्यालयमा पाठ््यपुस्तकको रुपमा ग्रहण गर्न पर्छ ।
नाम चलेका व्यवसायिक घराना कर्ण शाक्य विदेशी लेखहरुको नक्कल गरेर सोच÷खोज नाना थरीका पुस्तकहरु लेखेर केही मान्छेहरुको दिमाग भुट्न सफल भएका छन् । शाक्यको अभियानले मान्छेहरुको सोचमा कतिको परिवर्तन आयो हामी कसैलाई सर्वेक्षण गर्ने फुर्सद छैन तर उनको बैंक व्यालेन्सचाहीँ बृद्धि भएको हुनु पर्दछ । आम नेपालीहरु उनको पुस्तकको खास गुदी थाहा पाउने हैसियतमा छैनन्, नत किनेर पढ्न सक्छन् । शाक्यको भन्दा रची प्रेरणात्मक कथा–संग्रह किनेर पढे सबैको भलो । नाम चलेको लेखकको महंगो कि जीवन—जगतलाई प्रेरणा दिने पुस्तक पढ्ने पाठकलाई जिम्मा ।
हुन त कहिँ कतै समाचार, कथा वा मिथकको रुपमा बाहिर आई सकेका किस्साहरु पनि कथामा सजिएका छन् । कसैले यसलाई संकलित संग्रह भनेर प्रश्न ग¥यो भने जवाफ स्रष्टा स्वयम्ले दिनुपर्छ । आफ्ना साथीसंगीहरु क्रान्तिकारी पार्टीमा लागेर ठूलै अपराध गरेको गुनासो लेखिकाले भूमिकामा व्यक्त गरेकी छिन् । तर उनीहरु कस्का निमित्त त्यत्रो जोखिम मोलेर युद्धलाई रोजे भन्ने बारेमा कतै उल्लेख भएको पाईदैन । उनीहरुकै वलिदानले स्वाधिन नेपालको नेपालीहरु रैतिबाट नागरिक भएको एकजना खिँजी चण्डेश्वरी–४, ओखलढुंगाकी आरती रची कोइँच सुनुवारको नाम पनि छ कि छैन भनेर म आफै प्रश्न गर्छु ?
प्रकाशकद्वय भावना परिष्कृत र जंगबहादुर सुनुवारले यो संग्रह प्रकाश गरेर रचीलाई नभई समाजलाई सहयोग गरेका हुन् । किनकि सार्वजनिक भइसकेको यो सुन्दर संग्रह कुनै व्यक्तिको नभएर राष्ट्रको सम्पत्ति भएको छ ।
पुनः समाजलाई प्रशस्त मार्ग निर्देशन गर्न खोजेकी छिन् रचीले । बालक, वृद्ध, नेता, घनी, गरीव, पढेलेखेका, गुण्डा, चोर, चण्डाल, फटाहा, लफुङगा, लोभीपापी, मधेसी, हिमाली सबैले यो कथा अनिवार्य पढ्नै पर्छ । विश्वास गर्नुहोला, रचीको प्रेरणात्मक कथा–संग्रहले साँच्चै ठूलै प्रेरणा दिन्छ । देश विकासका लागि समाज परिवर्तन हुनु अपरिहार्य छ । समाज परिवर्तन हुनुमा हरेक व्यक्ति असल हुनै पर्छ ।

कृष्णकुमार हेम्ब्या, पल्लो किरात

साभार
(नेपाली सन्देश साप्ताहिकमा २१ फेब्रुअरी २०१२ मा प्रकाशित)

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *