अन्धकारमा छायाँ मबाट भाग्छ

अनि म अदृष्‍य छायाँ वा,

हुनसक्छ,

शायद म एक अभिशप्त आकृति बन्छु, 

केवल केही जूनकिरी आशाहरुले 

मलाई पच्छ्याईरहन्छन !

निश्पट अध्यारोमा यदाकदा 

क्षीण रहरहरु बाटो देखाउने यत्न गर्दै 

मेरो हातहरु समाउन खोज्छन,

केही जिर्ण ईच्छाहरु 

मेरो लड्खडाईरहेका पाईलाहरुलाई 

सहारा दिन खोज्छ,

तर म केवल बेवारिस विम्ब हुँ !

निसार बाँच्नुको असह्य पीडा बोकेर 

मरेको मनको विभत्स मृत्‍युमा 

कुरुप अध्यारो मरीमरी हाँस्छ,

एउटा विक्षिप्त छायाँलाई 

जित्नुको उत्सव मनाउँछ,

केवल जूनकिरी आशाहरु 

शोक मनाउदै विलौना गर्छ 

थोत्रो रहरहरुका परेली

थुप्रै गुनासोहरु बोकेर रसाउँछ ! 

मन-आँखाहरुले आजकाल 

उजाड जीवनमा झ्याँगिदै 

सयौं रंगीचङी सपनाहरु देख्छ,

तर जीवन र सपनाको 

तानाबाना नमिल्दा 

जीवन आफ्नै छाती पिट्छ,

तालु ठोक्छ 

चिथोर्छ, चिमोट्छ 

अहँ जीवनले पराई सपना 

नबुझेर पागल बन्छ !

रंगीन सपनाहरुले ग्रस्त 

रोगी भिडमा पागल जिन्दगीहरु,

छातीभित्र सल्केर सुखी बाँच्नुको, 

पिर लुकाएर हाँस्नुको, 

हारेर जित्नुको,

जितेर हार्नुको आदी 

नौटंकी गरिरहन्छ !

जीवनका विम्बहरु

आफ्नै प्रतिबिम्बको खिल्ली उडाउँछ 

मुस्कानको विरोध गर्छ,

रोदनको उपहास गर्छ 

जल्छ,

जलाउँछ, 

यसरी मनका महत्वाकांक्षी 

आँखाहरुले देख्नुको नियती भोग्छन, 

अध्यारोको आँचल भित्र

जीवन दुर्घटनाहरुको संगालो ?

एउटा शून्यतामा अल्झिएको भ्रम ? 

या अन्धकारमा रुमल्लिरहेको

अभिशप्त आकृति ?
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *