Ram Prasad Prasain
ए, कवि
यतातिर
तिम्रो कुटिको
माथि माथि
बुर्जखलिफाको वरिपरि
मेन्जो मेन्जो फन्को मारिरहेका
बादलुले ठुस्किएको बिहानीमा
परेवाका आकृतिहरुमा स्मृतिको बुढी बोजु मन्साउँदै गर्दा
उतातिर
खोल्मे डाँडाका बाहुन बाजेले
र
सेपीका तिर्जमान राइले
चावाखोलाको अबरुद्ध बहावसँगै
ख्वाङ्ग ख्वाङ्ग
खोकेको सङ्केत गर्ने परेवाहरुसँग
संवाद गर्नु छ
किनकि
क्षुद्रताको उपज संवादहिनता हो
संवादहिनताको परिणति मृत्यु भएझैँ
तर
आइन्दादेखि मृत्युसँग नि संवाद गर्नु छ
अबका संवादहरुमा
मृत्युले बुझोस्
कसैका चुरा फटिनुहुन्न
कोहीको रुवाबासी हुनुहुन्न
काखहरु रित्तिनुहुन्न
भेडाका पाठाहरुले शोक मान्नु हुन्न
मृत्योत्सवको लागि सलामी दिइनु पर्दैन
सट्टामा
केही कविताहरु पढियून्
मान्छेका आत्महत्याको जग्गाबाट
केही अस्तुहरु निकालियून्
अमेजन उकालो बग्छ बाट
केही सलामी र सातु बाँडियोस्
जेठी कमेनाको हातबाट
केही धुनहरु सुनाइयोस्
इँवा र तमोर खोलाका
अब त के चाहियो र
मृत्यु स्वंय भाङ्ग्रे सिस्नू
र
पहाडे अल्लोले बनेको बोराको कात्रो बेरेर
लाग्नेछ
कवि, कविता र अमरशीलताको पालम भन्दै
निरन्तर उ… कालो उका…लो उकालो
(कवि समदर्शी काइँलाप्रति समर्पित)
-रामप्रसाद प्रसाईं
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग , नेपाल