Untitled-2

सन १९९५ फेवु्रअरी । ढाका, बंगलादेश । हामीहरु बंगलादेशको ढाका शहरमा अवस्थित बशुन्धरा सिटी सपिंग मलतिर जाने तर्खरमा थियौ । सुने अनुसार बशुन्धरा सिटी सपिंग मल यहाँको सबैभन्दा ठूलो सपिंग मल हो । हामी बसेको उत्तरा भन्ने स्थानबाट बशुन्धरा सिटी सपिंग मलसम्मको दुरी अलि लामै थियो अर्थात बीस एक्काइस किलोमिटरको । टेक्सीमा यसको दुरी लगभग एक घण्टाको हो भने पनि वास्तविक समय चाँही सडक जामको अवस्थामा भर पर्छ रे । ढाकाको तेजगाँउमा अवस्थित यो सपिंग मल गएको बर्ष अगष्ट महिनामा मात्रै खुलेको थियो । यस अर्थमा पनि यो नयाँ सपिंग मल हाम्रो भ्रमण गर्नु पर्ने ठाँउहरुको सूचीमा पर्न गएको थियो । हाम्रो यात्रा शुरु भयो एउटा कारमा ।
कारमा अगाडी बढ्ने क्रममा कतिपय क्षेत्रहरुमा त्यहाँको रेलमार्ग पनि सडकको समानान्तर भएर अलि परतिरबाट अगाडी बढेको देखिनथ्यो । अचम्म लाग्दो कुरो चाँही के थियो भने मान्छेहरु ती पुराना रेलहरुका छतमा बसेर पनि यात्रा गरिरहेका देखिन्थे । मुम्बईमा ढोका खुलै राखेर रेल चल्छन भन्ने सम्म सुनेको थिए तर रेलको छतैमा बसेर यात्रा गरिरहेका मान्छेचाँही बंगलादेशको ढाकामा मात्रै देखियो । आफै सोच्थे अनि आफैलाई प्रश्न गर्थे कि ती यात्राहरु कति सुरक्षित हुँदा हुँन । पक्कै पनि ती यात्राहरु सुरक्षित छैनन । यस्ता द्धष्यहरु मैले जतिसुकै भिडभाडको समयमा भएपनि युरोप अमेरिकातिर भने कहिल्यै देखिन । तर बंगलादेशको रेलयात्रा त मुम्बईको भन्दा पनि डरलाग्दो लाग्यो मलाई ।
त्यसो त अरुको देशको मात्रै कुरा के गर्नु आफ्नै देशमा पनि त हाम्रा विकट पहाडी क्षेत्रहरुमा यात्रुहरु बसको छतमा बसेर जोखिमपूर्ण यात्रा ग्रिरहेका हुँन्छन । कानुनले पक्कै पनि यी र यस्ता कृयाकलापहरुलाई मान्यता दिए जस्तो त लाग्दैन तर पनि जीम्मेवार निकायले माग अनुसारको सेवा प्रदान गर्न नसक्नु र कानुन पालना गराउने निकायले पनि कानुनको पालन गराउन नसक्नुले समस्या झनै जटिल बन्न जाँन्छ ।
हाम्रो शहरतिरको यात्रा अगाडी बढिरहेको थियो । सडकमा ट्रफिक जाम यस्तो थियो कि बयान गरेर साध्य थिएन । ट्रफिक जामको समस्या भने ढाकाको मात्रै समस्या होईन बरु अत्याधिक देशहरुकै साझा समस्या हो भन्दा अत्युक्ति नहोला । तर यो ढाकाको सडक जाममा मेरा लागी नयाँ कुरा चाँही के थियो भने गाडीहरु अडकिएका हरेक ठाँउमा माग्न आउँनेहरुको भीड लागथ्यो । सडक जामको फाईदा उठाउँदै माग्न आउँनेहरुले सवारी साधानहरुलाई पुरै घेरिरहेझै देखिनथ्यो । ती माग्नेहरुका भीडमा बुढाबुढी, आईमाई र केटाकेटीहरुको चेहरा नै बढी देखिनथ्यो जो आफैमा टीठ लाग्दो थियो ।
आफ्ना गाडीका सिसा खोलेर तीनका झोलीमा दूई चार पैसा हालिदिने मनहरु भने मैले पटक्कै देखिन । सायद कसैले त दिदा हुँन र तीनीहरु माग्दा हुँन । त्यो दिने मन तीनले कतिखेर भेट्लान त्यो अलग्गै सवाल थियो । त्यसो त दिनेले पनि कसलाई दिने कति दिने जब पुरा शहर नै माग्न निक्लिए झै देखिन्छ । मैले माग्न आउनेहरुको दोष पनि देखिन र नदिनेहरुले गल्ती गरेको जस्तो पनि लागेन । माग्न आउने हरेकलाई दिनैपर्छ भन्ने जरुरी पनि छैन ।
दक्षिण एसियाका लागी माग्ने सस्कृति वास्तवमा नौलो बिषय होईन । तर को सडकमा माग्न निक्लिरहेको छ र किन माग्न निक्लिरहेको छ भन्ने कुरामा जिम्मेवार निकाय वेखवर झै देखिनु नै पहिलो समस्या बनेको छ । माग्नु के पेशा हो? वा कसैका लागी बाँच्नुको वा बाँचिरहनका लागी बाध्यता? यी निकै गम्भिर प्रश्नहरु हुँन र यी प्रश्नहरुले ती दक्षिण एसियाली देशहरुमा एक्काईसौ शताब्दीमा राज गर्ने शासक र नेताहरुलाई हर समय चुनौती दिई रहेको छ । मान्छेको गाँस बाँस र कपासको न्युनतम आवश्यकताप्रति पनि सचेत नहुने वा नजर अन्दाज गर्ने सरकारहरुका लागी यो सामान्य भए पनि धेरैका लागी यी द्धष्यहरु असामान्य हुँन । जनताको सामाजिक सूरक्षाको प्रत्याभुति गर्न नसक्नु त एकातिर छदैछ तर अर्कोतिर, बाध्यताका माग्ने र पेशागत माग्नेहरुको पहिचान गरी कम्तीमा पनि पेशागत माग्नेहरुलाई पेशा परिवर्तन गराउन नसक्नुले जिम्मेवार निकायको निकम्मापनको अनुहार छर्लग्गैं देखाउँछ । यस्तो अवस्थाले निरन्तरता पाई रहेसम्म यसलाई शुसासन पनि मान्न सकिन्न । कम्तीमा पनि राज्यले कसैलाई पनि पेशागत रुपमा माग्ने बनाउनु हुँदैन वा पेशागत रुपमा माग्ने बन्न दिनु हुँदैन जबसम्म उ अरु पेशाका लागी योग्य हुँन सक्छ ।
ट्रफिक जाम यसरी भएको थियो कि त्यो बयान गरेर साध्य छैन । त्यसमाथी ती माग्न आउनेहरुको भीडलाई पन्छाएर कारबाट बाहिरतिरका द्धष्य हेर्न पनि सम्भव थिएन । ती माग्ने आँखाहरु कहिले कारभित्रको मान्छेले आफुतिर ध्यान देला र आफ्नो दुखी आवरण प्रस्तुत गरौला र दयाको याचना गरौला भनेर प्रयासरत महशुस गर्न सकिनथ्यो । तर कारभित्रका मान्छेहरुसंग भने कारको झयालका सिसाहरुमा टाँसिएका ती अनुहारसंग अनुहार जुधाउँने कुनै हिम्मत नै देखिदैन थियो । हामीहरुको पनि हालत करिब करिब यस्तै नै थियो । हामी पनि तिनीहरुका आँखामा आँखा जुधाउन सक्ने स्थितीमा थिएनौ । लागथ्यो कि कारहरु भित्र दोषीहरु छन, र बाहिर निर्दोषहरु ती दोषीहरुको दयाको आवरण जाँच गरिरहेछन । तर ती दोषीहरु अझै कठोर बनिरहेका छन, बाध्यताको सिकार बनेर । किनकी तिनीहरुसंग त्यो ठूलो माग्नेहरुको जत्थाहरुलाई खुसी पार्न सक्ने कुनै सम्भावना नै छैन । त्यसै कारणले पनि तिनीहरु दोषी मानिएका होलान ।
यस्तै सोच्दा सोच्दै झण्डै डेढ दुई घण्टा लामो कारयात्रा सकेर हामीहरु बशुन्धरा सिटी सपिंग मल पुग्यौ । निश्चय पनि यो निकै नै आकर्षक र ठूलो सपिंग मल थियो । तर सपिंग मलसम्म पुग्दाको पृष्ठभूमि निश्चय नै पनि दूख लाग्दो र मर्मस्पर्शी थियो ।
सम्भवत सबै मान्छेहरुले हमेसा याद नगर्ने एउटा सत्य हो मान्छे नांगै आउँछ यो धर्तीमा र नांगै विलय हुँन्छ यही धर्तीमा नै । मान्छेहरुले बनाउने संविधान, नियम र कानुनहरुमा जेसुकै पनि परिवर्तन हुँन सक्छ तर मान्छेको यो धर्तीमा आउने र जाने सवालमा एउटै नियम छ जसले कुनै पनि अर्थमा वर्गभेद गर्दैन । न त कसैले यो कटुसत्यको संसोधन गर्न सक्छ न त यसको विरुद्धमा फिराद नै ।
मैले यसरी सडकमा माग्ने बालबालिकाहरु केवल दक्षिण एसियाली धर्तीमा नै देखे तर अन्त देखिन । किताब कापी च्यापेर शिक्षार्जनका लागी विद्यालय जानु पर्ने उमेरका ती बालबालिकाहरु हातमा कटौरा लिएर सडकमा माग्न निक्लनुले शहर, सरकार र सभ्य समाज भन्न रुचाउँने सबैलाई खुल्ला चुनौतीका साथ गिज्याई रहेझै लाग्यो ।
बशुन्धराको भव्य र आलिशान सपिंग कम्पलेक्सको बाहिरी आवरणमा मैले तिनै अवोध अनुहारहरु देखिरहे । कारभित्र निहुरी रहेका अनुहारहरु, र कारका सिसाको बाहिरपटिृ टाँसिई रहेका अनुहारहरु, थाहा छैन कुन चाँही अनुहार दोषी थियो, तर दुबै दूखद थियो, र दूभाग्र्यपूर्ण पनि थियो भन्दा अत्युक्ति नहोला ।
मैले ती केही अवोध बालचेहराहरु देखे जो गाडीका सिसा बाहिरबाट एक प्रकारको मूकप्रश्नहरु गरिरहेका थिए कि कोही सफा सुकिला लुगा लगाएर चिटिक्क परेर महंगा कारमा सवार हुँने त कोही एक पेट पाल्नका लागी सडकमा ट्रफिक जामको फाईदा उठाउँदै तीनै कारभित्र बस्नेहरुसंग दयाको भीख माग्नु पर्ने, किन यो भिन्नता मान्छे मान्छे बिच? आखिर सबै मान्छेको यो धर्तीमा आउने र यो धर्तीबाट जाने नियम एउटै छ भने बाँच्ने प्रकृयामा मात्र किन फरक? म त्यत्तिकै ट्वाल्ल परेर हेरिमात्रै रहे । मैले ती अवोध र निर्दोष चेहराहरुलाई मनमनै भने कि तिमी र तिमीहरु जस्ता सबैलाई कुनै दिन स्कुल पठाउँन सहयोग गर्न सके भने म आफुलाई धन्य ठानौला । तर त्यो कसरी सम्भव होला त्यो मलाई आफैलाई पनि थाहा थिएन । झण्डै एक दशकको कतार प्रवासले मलाई यो मेरो चाहना पुरा गर्न सहयोग गर्ला जस्तो लागेको छ । मैले एउटा महान कार्यको एउटा हिस्सा बन्ने मौका पाएको छुँ र सायद मेरो सहभागिताले मलाई पक्कै पनि सन्तुष्टी दिनेछ । के हो त त्यो महान कर्म जसले कतारको भूमिमा अवतरण गर्यो त्यो आगामी दिनहरुमा मैले छर्लग्याउँनेछु, र यो लेख छापिदासम्ममा त्यो महान कार्यको एउटा अर्को पाटोले सफलताको सिढी चढ्न थालिसकेको हुँनेछ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छुँ ।

-बिनोद खडका

हाल : दोहा, कतार ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *