‘नून’ खाने कुखुराहरू
झोक्रिन्छन्न लठ्ठिन्छन्
र,
सम्भवतः मर्छन् पनि
००
विवेकशून्य-चेतनाशून्य
विचरा ती कुखुराहरू
अनायास ‘नून’ खॉंदै
थला पर्छन्
तर,
हामी मानिस
अर्काको ‘नून’ पाए
‘सुन’ सम्झेर खान्छौँ
जति खाए पनि
झोक्रिदैनौ-लठ्ठिदैनौ
बन्छौँ बरू
स्वाभिमानी ?
००
हामी
मालिकले
‘उठ्’ भन्दा उठ्छौँ
‘बस् भन्दा बस्छौँ
कसैलाई ‘ठोक्’ भन्दा ठोकिदिन्छौँ
कसैलाई ‘मार’ भन्दा मारिदिन्छौँ
गजब बन्छौँ हामी
कालोलाई ‘सेतो’ भन्दा
सेतोलाई ‘कालो’ भन्दा
अर्थात्
हामी नकार्दैनौँ असत्यलाई
‘नून’ को सिकार भएपछि
००
हो, हामी
सत्य बिर्सदै
न्याय बिर्सदै
बन्छौँ एक ‘तालिमे कुकुर’ जस्तै
विवेक र चेतना
पुच्छरमा हल्लाउँदै
मालिकको स्यावासी
पाउने होडमा
आफैले आफैलाई
लिलामी तुल्याउँदै
बन्छौँ कसैको दास ।
०००
Please follow and like us: