सेन्ट्रल लन्डनको ट्युबमा कोचिएर प्रत्येक दिन अफिस यात्रा गर्न अभ्यस्त परेकी मलाई काठमाडौंको साझा बसको यात्रा अनौठो लागिरहेको थिएन । मेरो पहिलो यात्रा अनुभव पनि होइन, काठमाडौंको साझा बस ।
अनौठो त मायालाई लाग्दै थियो ।
‘अबुई….. साझा बसमा ?’
किनभने, मायालाई प्रस्ताव राखेकी थिएँ– ‘साझा बसको यात्रा गर्दै बौद्ध गए कसो होला ?’
‘औ साथी ! स्योर हो ?’ माया विश्वस्त हुन सकिरहेकी थिइनँ ।
‘लाहाछाप ठोके जत्तिकै स्योर हो साथी’, प्रतिउत्तर थियो मेरो ।
धराने शैलीमा मायाले भनी, ‘ओभर रेला नगर न ! आँच, क्या हसाउँछौ यार तिमी पनि ।’
मायाले थप सुनाई– ‘औ साथी ! हामी त नेपाल बसे पनि कहिले साझा बस चढ्दैनौँ है !’
मैले हौस्याएँ, ‘आज चढ्ने नि ! त साथी, सररर साझा बसको यात्रा…..।’
सूर्यको उज्यालो भुइँमा खस्न नपाउँदै घरअगाडि चोकमा रहेको कुमारी मन्दिरको घन्टीको टिङटिङ । घरको गेटनेर खुद्रे साइकल व्यापारीको घन्टीको ट्रिङट्रिङ ! लेघ्रो तानेर ‘ए…… आलु, टमाटर ले लो !’ घरभित्र सुन्नेगरी साइकल व्यापारीको आवाज…. निद्रा कचल्टिएर चाँडै उठ्नुपर्यो । हिजो, जिमीले सूचित गरेका थिए– ‘भोलेन्टियर्सहरूको फ्लाइट अवतरण ३:४५ बजेको छ । हामी सबै साँझ बौद्धमा भेट्नेछौं ।’
त्यही मेसोमा, साझा बस चढेर मायालाई दिउँसो बौद्ध हिँड्न आग्रह गरेँ ।
दिनको ३ बजे ।
सल्लाह गरेको स्थानमा मायाले आफू आइपुगेको फोनबाट बताई ।
हस्याङफस्याङ गर्दै प्रधानमन्त्री निवासको साँघुरो गल्ली छिचोलेर चोक पुग्दा बालुवाटारको राष्ट्र बैंकअघि माया मलाई पर्खिरहेकी रहिछे ।
हाम्रो भेट भएको केही बेरमा, ‘चाबेल ! चाबेल !’ भन्दै एउटा घुर्मैलो नीलो रङको जोरपाटी जाने साझा बस राष्ट्रबैंकको सामुन्ने, सडकपेटीछेउ टक्क रोकियो । दुईचारजना यात्रु ओर्लिए । बस चढ्नेहरूको घुइँचो उति नभए पनि सिट ओगट्ने हतारो देखियो । ठेलाठेल गर्दै यात्री बस चढे ।
माया र म पनि चढ्यौं ।
सिटमा बस्दै गर्दा मायाले पुलुक्क हेरी ।
सायद पत्याएकी थिइन, लन्डनदेखि आएकी मित्रले साँच्चै साझा बसको यात्रा गराउँछे ।
हामी चढेको बस रूसी दूतावासको उकालो हुँदै महाराजगन्ज, शिक्षण अस्पतालअघि रोकियो ।
सडकको पेटीछेउ पैदल यात्रुलाई अवरुद्ध हुनेगरी फलफूल पसल, औषधि पसल, चमेनागृह अनि मान्छेका भीडहरू ।
विदेशमा जस्तो लाइन लागेर बस चढ्ने प्रवृत्तिको विकास नेपालमा अझै भएको छैन । हुरुरु यात्री ठेलाठेल गर्दै बसभित्र छिरे । एउटी महिला, कम्मरमा घैला अड्याएजस्तो सानी छोरी बोकेकी छिन् । काँधमा सानो पोका जस्तो झोला…संघर्ष गर्दै बसभित्र छिरिन् । म बसिरहेको सिट ती महिलालाई छोडिदिएँ । मुसुक्क हाँस्दै तिनी सिटमा आएर बसिन् ।
सानी बालिका कम्मरदेखि सरेर आमाको काखमा बस्दै गर्दा माथि आँखा उचालेर पुलुक्क हेरिन् । त्यो अबोध हेराइको सन्तुष्टिले मेरो मन त्यसै त्यसै हलुँगो भयो ।
त्यतिबेला, आफ्नो सिटदेखि उठेर राम्ररी उभिन पाएकी थिइनँ म । धकेलिँदै एउटा युवक, मेरो छेउ ठोक्किन आइपुग्यो ।
सलमान खानको चल्तीको सिनेमा ‘तेरे नाम’को पात्र ‘राधे’को शैलीमा सिउँदो बीचमा कोरेर लाम्काने बोकाको कानस्तो छ्याप कानसम्म छोप्ने गरी मिलाएर कोरेको कपाल । त्यो बिन्दास स्टाइल ! दृश्य आँखामा अटायो ।
माया झोक्किँदै थिई, ‘ड्राइभरले ब्रेक लगाएको छैन, बित्थामा मान्छेहरू हुत्तिँदै आउँछ यार… ।’
माया झोक्किएको देखेर म फिस्स हाँसे ।
‘औ ! के भा’ को तिमीचाहिँ हाँस्छ पो हौ !’ चिढिएको भावमा मायाले भनी ।
बसमा यात्रा गर्ने प्रस्ताव सुन्दा फोनमा तर्सिएकी थिई माया । साथीको वचन काट्न नसकेर नै आजको यात्राका लागि राजी भएकी हो भन्ने अनुमान लगाउन गाह्रो परेन । मायाले उकुसमुकुस हुँदै भनी, ‘यी यस्तै भीड हुन्छ…. पसिना, काखी गन्हाउँछ उस्तै… । ड्राइभरले ब्रेक नलगाई नै हुत्तिन आउँछन् मान्छेहरू ।
साझा बसमा यात्रा गर्नु महिलालाई साह्रै पो सकस पर्छ ।’
‘प्लिज ! बरु म तिर्छु ट्याक्सी भाडा, साथी ! तिम्रो पाउन्ड चाहिँदैन ! फर्किंदा चाहिँ ट्याक्सीमै फर्किने हो ।’ उर्दी जारी गरेझैं मायाले झ्यालबाट बाहिर हेर्दै सुनाई ।
मायालाई विश्वस्त बनाउँदै मैले भनें, ‘साथी ! ट्याक्सी अफोर्ड गर्न नसक्ने कुरो हैन, दैनिकी यसरी पनि चल्छ…के, आम नेपालीको जीवनस्तर ट्याक्सी चढ्ने हैसियतमा पुगिसकेको छ र ?’
साझा बसको भाडा हामी दुईजनाको ४० रुपैयाँ तिरे हुँला ।
‘साझा बसको यात्रा सस्तो सवारीसाधनका लागि उपयुक्त माध्यममात्रै नभएर राजधानीमा बढ्दो सवारी चापका कारण हुने दुर्घटना रोक्न पनि धेरथोर मद्दत गर्दो हो’, मायालाई मेरो मनको तर्क राखेँ ।
मायाले कुनै प्रतिक्रिया दिइन ।
साझा बसको यात्रा ।
यही प्रसंगमा, नोस्टाल्जिया बल्झियो……।
मैले अमु (अमिता) दिदी अनि पारूलाई सम्झिएँ ।
करिब २० वर्षअघि जाउलाखेलदेखि सहिदगेटसम्म धक्कामुक्की खाँदै र ठेल्दै ‘विक्रम टेम्पो’ चढेर हामी कलेज यात्रा गथ्र्यौं ।
विक्रम टेम्पो, साझा बसको यात्रा, भीडभाडदेखि सुरिक्षत यात्रा कसरी गर्ने भनेर अमु दिदी सुझाव दिन्थिन् ।
अमु दिदीले सम्झाएका घतलाग्दा प्रसंग अहिले पनि मानसपटलमा आइरहन्छन् ।
एकदम निडर अमु दिदी उटपट्याङ सुझाव दिन पनि सिपालु थिइन्, ‘बिनाबिच्थामा हुत्तिन आउनेहरूलाई कान्छी, थाहा नपाएको जस्तो गरेर ‘त्यही’ दिनुपर्छ क्या ! कुहिनाले बजारेर ।’
‘त्यही’ दिनुपर्छ क्या ! अमु दिदीको कुरा सुनेर मुर्छा परेर पारू र म हाँसेका थियौं ।
‘कि, भने ठूलो ओहदाका आर्मी, पुलिस अनि हाकिमका छोराछोरीलाई छोड्न आउने सरकारी गाडी अनि ड्राइभर हुनुपर्यो तिमीहरूको पनि’, अमु दिदीको अर्को डायलग ।
ए बेला, फस्टाएको कार्पेट व्यापारी अनि एकाध चलेका ट्राभल एजेन्सीसँग सम्बन्ध राख्ने मेरा सहपाठीहरू भने भर्खर भर्खर चलनमा आएका ‘स्कुटी’ मा हुइँकिँदै कलेज आउँथे । स्कुटी चलाउनु ऊ बेला, केटीहरूलाई सान नै हुन्थ्यो ।
सहर उही हो ।
कुनै बेला सँगै विक्रम टेम्पो चढ्ने केही साथीहरू प्राइभेट कार चढ्ने हैसियतका भएका छन् । कोही स्कुटी सवारीमा नै छन् । भेटघाटमा, विक्रम टेम्पो र साझा बस यात्राको प्रसंग कसैले पनि निकाल्दैनन् हिजोआज ।
माया त ठाडै भन्दै थिई– ‘औ साथी ! हामी त नेपाल बसे पनि कहिले साझा बस चढ्दैनौ है !’
राजधानीमा बग्रेल्ती सवारीसाधनको चाप बढेको छ । हामी चढेको साझा बस चक्रपथ हुँदै चाबेलसम्म पुग्दा अनेकन् यात्री चढेर ओर्लिए । केही समयपछि पत्तै नपाई बौद्ध पुगियो ।
गन्तव्य पुग्दा बल्ल मायाको अनुहारमा उज्यालो देखियो । मनमनै भनेँ, ‘सरी ! माया, मैले आज तिमीलाई साझा बसको यात्रा गराएँ ।’ बाहिर भने यति भने, ‘फर्किंदा हामी ट्याक्सीमा फिर्नेछौं ।’
बौद्धमा, करिब तीन घन्टामात्रै बिताइयो । तर, सम्झनलायक प्रसंग के रह्यो भने, लोडसेडिङको अनुभव राम्रैसँग गरे पाहुनाहरूले नेपाल आगमनको पहिलो साँझमै ।
मिटिङ सुरु नहुँदै झ्याप बत्ती गयो । बाहिर अलिअलि उज्यालो नै भए पनि, भित्र कोठामा भने अनुहार चिन्न मुस्किल पर्ने अँध्यारो थियो ।
जेनेरेटर बिग्रिएको रहेछ । मैनबत्ती बालेर बेलायतदेखि आएका भोलेन्टियर्सहरूको स्वागत भयो । ‘सो रोमान्टिक ! क्यान्डल मिटिङ’ हसाउँदै जिमीले हेलम्बु ‘टिच एन्ड ट्रेक’ यात्राको जानकारी दिए ।
मिटिङपश्चात् जलपानको व्यवस्था हुँदै थियो तर मायालाई जाउलाखेल पुग्नुपर्ने हतारो थियो । माया र मैले समूहदेखि बिदा लियौं ।
मायालाई सोझै जाउलाखेल जाने ट्याक्सीको व्यवस्था गरिदिने क्रममा साह्रै छुच्चो ट्याक्सी ड्राइभर परेछ । ‘भाडा अलिक मिलाउनु पर्यो !’ भनेर अनुरोध गर्दा आँखा नजुधाई तर ओठे जवाफ दिए, ‘सस्तोमा जाने भए त दिदी ! साझा बसमा जानुस् ! सस्तो पर्छ ।’
‘पेट्रोलको मूल्य महँगो छ ।’ ड्राइभर भाइ आफ्नै दुःखेसोको कुम्लो खोल्न थाले ।
महाराजगन्ज पहिले मलाई छोडेपछि मायालाई जाउलाखेल छोड्ने सर्तमा भाडाको टुंगो लाग्यो ।
अन्ततः सोही ट्याक्सी चढेर हामी घर फर्कियौं ।
बाटो कटौनीमा, मायासँग मैले जिज्ञासा राखेँ, ‘कति प्रतिशत ट्याक्सी ड्राइभरले जायज भाडा दर लिन्छन् ?’ मिटर प्रयोग नगरेर किन ‘मिलाएर’ दिनुस् न भन्छन् ।
अधिवक्ताजस्तै मायाले तर्क दिई, ‘राजधानीमा सबैको घर हुँदैन, आफ्नो ट्याक्सी हुँदैन, साहुलाई बुझाउनुपर्छ । त्यसैले होला नि ! परिवार पनि पाल्नुपर्यो ।’
अनेक परिदृश्य मेरो दिमागमा घुमिरहे ।
भीडको धपेडी खप्दै बस चढेकी महिला । सानी बालिकाको त्यो अबोध हेराइ । स्कुल जाने उमेरका फुच्चे खलासी । टिकटको पैसा लिँदै ‘ढ्यापढ्याप !’ बसलाई ढ्याप्पा मार्दै सुसेली फुकेको । ‘यी खलासी भाइलाई स्कुल जान रहरलाग्दो हो कि, हैन ? ‘ स्कुल जाने उमेरमा श्रम गरिरहेको खलासी भाइ सम्झेर, आफैंसँग प्रश्न गरेँ, ‘हाम्रो मुलुकमा, के बाल श्रम कानुन लागू हुन्छ ?’
बस यात्राका अनेकन् अनुहारहरू ।
आँखाभरि ‘फ्ल्यासब्याक’ अमु दिदी आइरहिन् ।
सम्भव छ, साझा यातायातमा केही मनोरोगी पनि चढ्लान् । अनावश्यक ठेलठाल गर्लान् । भीडभाडमा, चिमोट्न भ्याउलान् । ड्राइभरको ब्रेकबिना नै हुत्तिन आउँलान् । पाकेट मार्लान् । केटी हो ! तिमीहरू आफैं सजग हुनुपर्छ । निडर हुनुपर्छ । साझा यातायातमा मात्रै हुँदैन, महिलाहरूप्रति छेडखानी एवं यौनदुव्र्यवहार । घरको बन्द ढोकाभित्र पनि हुन्छ । सहर, गल्लीगल्लीमा हुन्छ ।
मानिसको सोचमा परिवर्तन ल्याउने हो भने, तिमीहरू आफैं व्यावहारिक हुनुपर्छ । सबै यात्रु स्त्री स्पर्श गर्न लालायित हुँदैनन् । रोजगार गरेर राजधानीमा दैनिकीहरूसँग जुझ्ने स्वावलम्बी यात्रीहरू यात्रा गर्छन् । तिमीहरू जस्तै विद्यार्थीहरूले यात्रा गर्छन् ।
ढाडस दिँदै अमु दिदी भन्थिन्, ‘हिम्मती बन्न सिक ! आत्मविश्वासका साथ यात्रा गर, कुनै माइकालालले तिमीहरूलाई नजर उठाएर हेर्ने हिम्मत गर्न सक्दैन ।’ प्रिय अमु दिदी, थ्यांक यु ! त्यही आत्मविश्वास लिएर आजपर्यन्त बेफिक्री यात्रा गरिरहेछु म ।
Sabhar- See more at: http://www.annapurnapost.com/News.aspx/story/45270#sthash.Z8vBqH7B.dpuf