हरेक बिहान, मध्यान्ह होस या साँझ
हामी सुकिला पोसाक र धारिलो मन बोकेर
कर्तव्य भन्दा माथी
एक घमण्डका साथ उत्रन्थेउ
त्यो परिधीको गोलार्ध भित्र ।
त्यो ठाउँ, जुन ठाउँमा
हामी माथी विस्वाशका आकाश
विच्छाइएको थियो सर्लक्क ।
तिमी थियौ
हामी थियौ
र, हाम्रो विश्वाशमा
निर्धक्क अरु थिए
जो हामीलाई मायाका सिँयाल छर्दै
हरेक पल निर्धक सुरक्षित सम्झन्थे ।
प्रतेक पोस्ट पोस्टमा
जाडोमा होस या गर्मीमा
मध्यान्हमा होस या मध्यरातमा
गस्तिमा अनेक सङ्केत दिदै हिड्दा पनि
नौ जवानहरु
– म ठिकै छुँ ।
– मेरो इलाका ठिकै छ भन्दै
तातो चिया या चिसो पानीको अफर गर्थे ।
मनमा अनेक सुख-दुखका
सपना बिच्छाएर भएपनि
एक इमान्दारिताको आवाज बोल्थे ।
आज म आफै
सवै भन्दा अघि बगेको छु
न मेरा छालहरुले
ती तमाम मित्र मनका किनारा कप्न सके
न बिदाइका हातहरुनै हल्लाउन सँके !
मन साँच्चै भक्कानिदो छ आज
यो चुँडिएको समयको दोबाटो सङ्गै ।