खोइ, उसको खुकुरी ?
खोइ, उसको राइफल ?
खोइ, उसको 1157 ?
के उ अर्काको धानबारी रुङ्ग्ने बुख्यांचा हो ?
एकजोर खुट्टामाथि उभिएको शरीर
अथवा यौटा कथित मान्छेको आवरण
के उसको अनुहार आफ्नो परिचय हो ?
उसले मलेको बुट र ठोकेको एडी
उसले पड्काएको चिसो राइफल र छड्काएको चडके सलाम
के उ मान्छे भएको प्रमाण हो ?
जहां मुटुको ग्रिनेड बनाइएको छ मानवीय सम्बेदना
सुन्नु भो – इतिहास लड्नेहरूद्वारा बनाइदोरहेछ
तर बुझनू भो – इतिहास लड़नेहरुद्वारा नलेखिदोरहेछ
त्यसैले गोरखाली मान्छेको बिज्ञापन मात्र हो
भन्नोस – उसले कुन युद्द लड़न पर्यो अब ?
भलै, ती वीरताका कथाहरु
उपहास गर्ने विषय होलान उसका नानीहरूलाई भोलि
भलै, ती वीरताका तक्माहरू
खोप्पी खेल्न काम लाग्लान उसका नातीहरुलाई पर्सि
भन्नोस – उसले कुन इतिहास बनाउन पर्यो अब ?
पसिना – आफ्नै ढुङ्गोमाथि टुसाएको राम्रो हो
रगत – आफ्नै माटोमा उम्रिएको जाती हो
मानिस – आफ्नै भूमिमका मौलाएको निको हो
तर विवशता पराय कुकुरको मासु जस्तो भएपछि
भुक्दोरहेछ संसारको बिरुद्द र चाट्दोरहेछ मालिकको पाऊ
टोक्दोरहेछ मान्छेको खुट्टा र चाट्दोरहेछ मालिक्निको घाऊ
जित्दोरहेछ अर्काको धर्ती र हार्दोरहेछ आफ्नो माटो
मुत्दै हिड्दोरहेछ अर्काको गोरेटो र हराउदोरहेछ आफ्नो बाटो
यसरी बिरानिदै जादोरहेछ बगेको रगत
र पुरानिदै जादोरहेछ लडेका इतिहासहरू ।
के सिपाहिको पनि आफनो अनुहार हुन्छ ?
के राइफलको पनि आफ्नो विचार हुन्छ ?
यसरी बन्दुकले बुद्दि निकालेर जंगलले खायो भने
यसरी गोलीको आँखा झिकेर सडकले फोर्यो भने
भयानक हुँदोरहेछ गिदिको गोली
बेस्सरी घोंच्दोरहेछ ब्यानेडले चेतनाका अङ्गहरुलाई
कि उखेलिदोरहेछ मुटु र हल्लिदोरहेछ दिमागको जरा
खोइ, उसको कम्ब्याट ?
खोइ, उसको क्यामो क्यामोप्ल्याइज ?
खोइ,उसको बुट ?
खोइ, उसको मेडल ?
आफ्नै युद्द हार्ने विश्व विजेता ऊ
आफ्नै गोली खाएर मारेको चिसो राइफलम्यान हो
– यो राइफलम्यान ।
Note: कवि तथा समालोचक रक्ष राईको कविता B.Ed . 4th year को पाठ्यक्रममा समावेश । हार्दिक बधाईछ कवि ज्यू !!