स्वप्निल स्मृति
***********************
संसारको सबैभन्दा सरल काम
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो
सभा, सेमिनार या पोलिट्ब्युरोमा
या राष्ट्रिय दिवसमा
स्वयं हत्याराहरु
मौनधारण गरिरहेछन् ।

तस्करले बर्थडेमा थमाएको उपहार
हिरा–घडीमा उफ्रिरहेको सेकेण्ड काँटासँगै
गद्दार सरकार
एक मिनेट कला प्रदर्शन गरिरहेछ ।
सहिदका रगत लत्पत राष्ट्रिय ध्वजा उचालेर
सहिदका आस्था–समाधि टेकेर सख्त
उभिरहेछन् राष्ट्रसेवक मौन–मौन, गम्भीर !
संसारको सबैभन्दा कठोर काम
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो ।

सार्वजनिक शौचालय
या सहर, सडक, गाउँ–गल्ली, देउराली
दुई हातले थिचेर गानो
खरबौं खरब मिनेट मेरो देश उभिरहेछ ।

जब कि–
एक मिनेटमा
सहिद–स्वप्नले धर्ती विचरण गरिसक्छ ।
एक मिनेट भूइँचालो आयो कि सृष्टि अदलबदल हुन्छ ।
ठण्डा दिमागले
एक मिनेट सोचेका भए शासकले !
इतिहास यस्तो हुँदैनथ्यो ।
हत्या गरिनुअघि सहिदलाई
एक सेकेण्ड बाँच्ने फुर्सद दिइएन ।
गडबड हुँदा एक सेकेण्ड
भुर्कुट भए योद्धाहरु,
सृष्टिकालदेखि मौनधारण गरिरहेछ मेरोे हिमाल
त एक मिनेट मौन धारणले के हुन्छ ?
हर एक मिनेट मौनधारणमा
आधा मिनेट मलाई हाँस उठ्छ
आधा मिनेट मेरो मन रुन्छ ।

संसारको सबैभन्दा उत्कृष्ट नाटक
ज्ञात/अज्ञात सहिदप्रति
एक मिनेट मौन धारण हो ।

Collection from Facebook
✍ Swapnil Smriti

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *