– ज्ञानेन्द्र विवश

जति अगाडि बढ्दै गयो, उति उराठलाग्दो नरमाइलो पहाडी खोंच र कन्दरा देखा पर्न थाल्यो । यद्यपि सुन्दर फाँट, पाटन र झरनाहरू पनि नदेखिएका होइनन् । गाउँ भेट्न कस्सिएर हिँड्नुपर्ने । बल्ल भेटिएको गाउँ पनि पछौटेपनले ग्रस्त । सरकारी सेवा र सुविधा रत्तिभर पनि छैन । सरकारी विकासले मुगेलीको मुहार फेर्न सकेको छैन । आफ्नै खेतबारीमा उब्जिएका चिनु, मास्या, सिमी, कोदो, फापर, जौ, आलु खान्छन् । जडिबुटी र मह उनीहरूको आम्दानीको स्रोत रहेछ । कतिपय पुरुष भारत गई कमाएर ल्याउँछन् । केही हप्ता दशदिन लगाएर तिब्बतमा पुग्छन् । त्यहाँबाट नून, चामल साटेर ल्याउँछन् ।

मुगेलीहरूको जीवनमा सुखको दिन आएकै छैन भनेपनि हुन्छ । सधैंको गरिबी, अभाव र अनिकालबीच खाने, लाउने र बस्नेकै समस्यामा पिरोलिइरहेका हुन्छन् । आफ्नो बाहेक अन्य समाज र सरकारसँग कुनै सरोकार नै छैन । दुःखःको उपल्लो पहाडमा उनीहरूको अर्कै अलग्ग संसार छ । पराइसंँग कति हात जोड्नु ? कति रोइकराई गर्नु ? उनीहरूको दुःख आफैंसँग छ ।

यस्तो लाग्छ, नेपालभित्रै उनीहरू नेपाली होइनन् । आफ्नै देशमा पनि शरणार्थी जीवन बाँचेका छन् । देशसँग कुनै नाता र केही सरोकार नै छैन । विकासको अवसर र उपलब्धि शून्य छ । त्यत्तिकै खेर गइरहेका अनन्त प्राकृतिक संपदाहरू यहीँ छन् । तर त्यसको सुन्दरता मात्रैले मन कतिञ्जेल रमाइरहन सक्छ र ? सुखी भविष्यको कल्पना गर्नु पनि निरर्थक हुन्छ । अलिक हुनेखानेहरूले गाउँ छोडिसकेका छन् । पिछडिएका पिलन्धरेहरूको जाने ठाउँ छैन । रोइकराई त्यही अनकन्टारको पाखो प्रिय छ । त्यही दुःखको पहाडसंग संघर्ष गर्नु नै जीवनको नियति बनेको छ । भाग्य, भरोसा त्यही दुःखको पहाड । तिनै नीरस र निष्ठुरी उकाली, ओराली । हिउँ, शीत, तुषारो, झरी, वर्षा, र हिमपातसंगै भोको पेट । जीवन शून्य संसार छ । विगत जस्तै वर्तमान झन् दुःखपूर्ण छ । भविष्यको कुनै योजना छैन ।

माँग्री गाउँ हुँदै कर्णालीको उर्लिएको छालको किनारै किनार ढुङ्गेधारा, सिम्खोलापछि पुलु पुग्यौं । तिहार पुल तरेपछि नवनिर्मित विहार गुम्बा आयो । चिउरा, चाउचाउ चपाएपछि ठाडो उकालो चढियो । उकालो डरलाग्दो भीर थियो । खुट्टा खुस्किए तल कर्णालीको भेलमा सिधै डुबिने । अड्किने ठाउँ कतै, केही थिएन । स्यालाङ्को थाप्लोमा नपुग्दै थाकियो । त्यही बेला पानी पनि दर्कियो । हुण्डरीले छाता ओड्न दिएन । ओत लाग्न ओडार खोज्दै ढुङ्गाको चेपमा टाँसिन पुग्यौं । झरी र हुरीबाट केही राहत मिल्यो । बादलको घुम्टो चिरेर चिहाउन पसेको घामको उपस्थितिमा इन्द्रेनी लाग्यो । यसले मनलाइ फेरि अर्को आनन्द प्रदान गरिदियो ।

हामी निकै उचाइमा आइपुगेका रहेछौं बतासले हैरान गरेपनि चारैतिरको डाँडा नजिकै देखिन्थ्यो । हिउँ जमेको अग्लो चुचुरो सामुन्ने नै रहेछ । एकदमै चीसो हावाले मुटु छुन आउँथ्यो । धुपी,सल्लाघारी र ठूल्ठूला धम्मरधुस्से चट्टानले बनेका पहाड । बाटोमा वरपर रङ्गीविरङ्गी साना, ठूला फूलै फूलको विरुवा । सोध्दै हेर्दै केहीको नाम पनि टिप्यौं । जस्तो कि घोडामोचो, रामतुलसी, कागचारो, चुम्लाप पाती, ङोङबेर, तोमाले धुच्चुफूल आदि । यस्ता फूलका बगैचा पाखैभरि थिए । शहरबजारमा भए यिनै फूलका बिरुवा बेचेर कमाई गर्न सकिन्थ्यो । यहाँ ती फूलको कुनै महत्व छैन ।

यहाँबाट देखिने दृश्य साह«ै मनमोहक थियो । हिउँ जमेको लेकलाई हुस्सुले छोपेको दृश्य र एकछिनमा हुस्सु कतै बग्दै बिलाउँदै जाने । कतै गाउँ देखिंदैन । पारि पाखामा ताखा र खारी गाउँ अनि अर्को पहाडको काखमा दाउरा गाउँ । एउटा गाउँबाट अर्को गाउँ पुग्न एक दिन लाग्ला । कतै भीरकै शीरमा, कहिँ चट्टानै चट्टानको फेदीमा छ गाउँ । एकदमै एकलासमा रहेको गाउँ पुग्ने गारेटो बाटोको किरिमिरि हेर्दा पनि टाउको दुख्छ । नागबेली झैं बाटोको फन्को मराई बिचित्रकै लाग्थ्यो । कतै नाकै ठोक्किने उकालो । कहिँ ढाडै खुस्किने ओह्रालो । फेरि त्यहाँ हिँड्न सजीलो छैन । ज्यान हत्केलामा राखेर पाइला सार्नुपर्ने ।

यस किसिमको पहाडी भूगोल र पर्वतीय सौन्दर्यले गौरवको अनुूभूति पनि पैदा गथ्र्यो । त्यही उँचाइमा सानाठूला पहाडी थुम्का थिए । कतै घँघरुका पोथ्रा पोथ्री । कतै धुपी सल्ला र देवदारुका झ्याङ । प्रकृतिको खुल्ला आँगन थियो त्यहाँ । यही पहाडमा जीवनको विविध दृश्य देखिन्थ्यो । लेक, बेंसी, भञ्ज्याङ्ग, देउराली, खोंच, गडतिरमा पाइला टेकेर हामीले बल्ल किम्री गाउँ देख्यौं । गाउँमा कुनै चहलपहल थिएन । माथिबाट हेर्दा घरको आकार ठम्याउनै नसकिने । घरको छाना माटोको हुने रहेछ र त्यही छानाले आँगनको काम गर्ने । बारी र छाना पनि छुट्याउन गाह्रो हुन्थ्यो ।

३०१५ मिटर उँचाईमा रहेको यो गाउँमा आलु, आलुबखडा, स्याउको बोट देख्न्थ्यिो । यो गाउँ छोडेको केही बेरमा पथप्रदर्शक लामाजी कै गाउँ आयो–कार्ती । ठाडो भिरालोमा बारीभरि आलुखेती त्यसै भीरमा बडो मुश्किलले घर ठड्याइएको थियो–घरमाथि घर । एउटाको घरमाथि अर्काको आँगन । फेरि उसको घरमा छिमेकीको आँगन । झ्याल छैन, ढोका पनि एउटै हो । मूलढोकाबाट पसेपछि अँध्यारोमा आफैं हराइँदो रहेछ । त्यही आँगनको बीचमा पारिएको सानो प्वालले भित्रको कोठामा ठूलै उज्यालोको काम गर्ने । त्यसैबाट भित्री धुवावाट बाहिर र बाहिरी हावा भित्र जाने रहेछ । त्यही सानो प्वालबाट बिस्तारै देखिने रहेछ–घरभित्रको अस्तव्यस्त समग्र रूप ! सोमालिया, इथियोपिया, अफ्रिकाका मानिस भोकमरिले हरिकङ्गाल भएको टेलिभिजनमा देखिएको हो । त्यहाँ त्यो भन्दा चौपटको दृश्य देखियो ।

सुघ्घर, सफाइको त्यति ज्ञान छैन । जुठो चोखोको पनि ख्याल नगरिएको पाइयो । बृद्ध र बच्चासंगै तरुना तन्नेरी पुस्ता पनि खिनाउटे र ख्याउटे । झुत्रेझतौरे, त्यस्तै मैलोधैलो । उमेर नपुगी बुढ्यौलीले छोपेको ज्यान । जता हे¥यो उतै टिठ लाग्दो अनुहार देखिन्छ, दया लाग्दो रूप भेटिन्छ । मन चसक्क हुन्छ । कसैको लुगा राम्रो छैन । कसैको अनुहारमा खुशीको चमक देखिँदैन । हामी धेरै बेर त्यत्तिकै टोल्हायांै । त्यसै अलमलिएछौं ।

गरिबीले सीमा नाघेको कुन्नी कस्तो तस्वीर उता¥यो सहयात्री दीपेन्द्र भण्डारीले । मैले न त रेखाचित्र नै कोर्न सकें, न शब्दमा उतार्न । सोचें दुःखको पहाड भन्या सायद यही होला । ‘अरे सरहरू त किन झोक्राइरहनु भा छ । धेरै थाक्नुभए जस्तो छ । भोलिको यात्रा त झन् कठिन छ । दुःखको पहाड देख्न र टेक्न अझै कठिन छ ।’ लामाले यति के भनेका थिए भरिया भइ आएका शाही जी ले पनि थपिहाले–सापहरूको हिँड्ने बानी त्यति थिएन होला ! अब झन् गाह्रो हुने होला जस्तो पो छ ।

‘अलिअलि थाकियो । रातभरिको आरामले भोलिसम्म ठीक भइहाल्ला नि ?’ मैले निकै पछि आशा प्रकट गरें । साथीले पनि सहमति जनाए । लामाजीले हाम्रा अगाडि एक भाँडा दही राखिदिँदै भने–माथि फुपूकहाँ गएर चौंरीको दही ल्याएको छु । दूध नतताई जमाएर बनाएको दही हो यो । तागतिलो छ, खाइहाल्नुस् । भर्खरै लेकबाट ल्याएको स्वादिलो छ ।

बटुकामा दही राख्दै फेरि उनले बताए–हाम्रो गाउँको चलन पाहुनालाई स्वागत सत्कार गर्ने हो । खसी, कुखुरा, मृग, घोरल, रक्सी जे छ खुवाउनका लागि हाम्रो गुठी जस्तै व्यवस्था छ । म गाउँलेकहाँ गएर यो व्यवस्था गरिहाल्छु । तपाईंहरू भोलि हिँड्न सक्ने पनि हुनु प¥यो नि ! हैन सरहरू !

हामीले नाइँनास्ती त ग¥यौं, तर उनको जिद्दीलाई जित्न सकिएन । शाही दाईले पनि थपे–यताको परम्परा नै हो पाहुनाको सेवा गर्ने । हामीले त्यसलाई हँसिलो मुखले स्वीकारेनौं भने उनीहरूको मन दुख्छ । शाहीले खुसुक्क फेरी कानमा सुनाए–यी भोटेहरू राम्रोमा एकदमै राम्रा हुन्छन् । उनीहरूलाई मन परेन भने आफ्नै नातागोतालाई पनि बाँकी राख्दैनन् ।

मुगेलीको मन जित्ने वा मन रुवाउने हाम्रो कुनै मनशाय थिएन । सँधैको कामधन्दा,मेलापात, स्याउला, सोतर र शोकसुर्तामै जीवन बिताउने सुकेज्यानसँग लिनु–दिनु नै के थियो र ! उनीहरूसँग स्वागत र सत्कारका निम्ति त्यस्तो शिष्टता पनि कहाँ हुनु ? धेरै गन्थन गर्ने जाँगर थिएन । भोलि विदावारी हुँदा केही पैसा दिनुपर्ला भन्ने सोचियो । मन अमन हुँदा हुँदै पनि दही खाइयो । चिसो भएपनि दही साँच्चीकै स्वादिलो थियो । भक्तपुरे जुजु धौलाई बिर्साउने । आफ्नै किसिमको मिठो स्वाद त्यसको थियो । निकै अबेर खाना खाइयो, धिपधिपे दियालोको उज्यालोमा आँखाले छाम्दै अनुमानको भरमा । कुखुराको मासु त आयो तर छिप्पिएको, सायद जखमले भाले हँुदो हो । मःम, पाउरोटी चपाउने हाम्रा दाँतले त्यस्तो जखमलेलाई कहाँ जवर्जस्ती टोक्न सक्नु ! हड्डीले दाँतै कसो भाँचिएन । मरमसला र चोक्टाविनाको पँद्यालो झोल बरु मासुभात भन्दा कता–कता स्वादिलो थियो ।

आफैं के खाउँ, के लाउँको दयनीय अवस्थाका गाउँलेहरूले गुठी जस्तै मिलेर पाहुनाको स्वागत गरेको देख्दा हामी अचम्मित भयौं । यसलाई ‘रोकवा परम्परा’ भनिंदो रहेछ । गाउँमै हुर्केबढेका भए पनि केही वर्षदेखि काठमाडौंको आत्मकेन्द्रित संस्कारमा हामी हिँडेका थियौं । केही नपाइने यो नौलो ठाउँमा यति विघ्न आफन्त र पराइको ख्याल गरेको पाइनु आजको निष्ठुरी समयमा ठूलै कुरा थियो । पाहुनालाई खाना खुवाउने, सुत्न ओच्छ्यान दिने र राति शान्तिसुरक्षा गर्ने उहिल्यैदेखिको चलन रहेछ । लामाजीले बताए अनुसार करान भेगका पाँचवटा गाविसको १२ वटा गाउँमा यो परम्परा छ । पाहुनालाई मिठो खुवाएर खुशी पार्दा गाउँमा अनिकाल टर्ने विश्वास उनीहरूलाई रहेछ ।

गाउँमा कुनै बेला पाहुना आएन भने नियास्रो मान्ने र अब अनिष्ट हुने डरले गाउँलेहरू भाकल गर्थे । अब यतातिर मुश्किलले पाहुना आउने गरेका छन् । त्यसैले दुःखको पहाड झन् अझ चुलिएको र अनिकालको महामारी अझ बढेको अनुमान उनीहरूमा रहेको पाइन्छ । त्यसो त, जो पायो उही उनीहरूको स्वागत सत्कारयोग्य पाहुना हुँदैन रहेछन् ।

यसमा पनि पहिलेको जस्तो परम्पराले हिजोआज नेटो काटिसकेको छ । भोक र रोगले धन्न धानेका बुढाखाडाहरू आफैंले भोगेका विगत सम्झेर रोएको भेटियो । उबेला खेतीपाती राम्रै हुन्थ्यो । बस्तुभाउ टन्न पालिन्थ्यो । खानलाई दुःख होइन बेच्नलाई गाउँ जानुपथ्र्यो । त्यसैले मुगेलीहरू व्यापार, व्यवसायमा निक्कै अगाडि थिए । अब आजको कुरा गर्दा एकसरो जीवन धान्न नै धौ धौ छ । हिजोको कुरा एकादेशको कथा भइसक्यो । त्यही बेला कमाएर कुम्लोकुटुरो बोकी कतिपय मुगेलीहरूले आफ्नो गाउँलाई छोडिसकेका रहेछन् ।

खोटाङ्, चिसापानी
हालःपो.ब.नं.२९९,काठमाडौ

(श्रोत:- रचना पत्रिका  बर्ष ४२ अंक ७४ २०५९)

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *