म त एउटा
इन्द्रसरोवर हुँ
र मेरा सपना
तमोर नदीका माछाहरु जस्ता ।
शहरको चोकमा उभिएको
त्यो मौन घण्टाघर
चित्रकारले बनाएको
शहीदको अजीव चित्र
भूकम्पले भत्काई पठाएको
एउटा भग्नावशेष संग्रहालय
जे सम्झिए पनि हुन्छ मलाई
हुन त
यो देशको नक्शामा
सबै -सबै अटाएकै छन्
म बाहेक।
म त एउटा आदिवासी मान्छे
एउटै गीत गाइरहेछु युगौदेखि
पूजिरहछु एउटै इश्वर
र हिडिरहेछु त्यही प्राचीन बाटो।
मेरो जीवनको गीत
मेरै आँगनमा बुढो भएको
आँपको रूखले मात्र सुन्छ
पेरुङ्गो जस्तो चेप्टिएका सपनाहरु छ्न
जुन त्यो पर आदिम पहाडले देख्छ
ताली बजाउँछ सिहदरबारबाट अन्धो नायक
तर सुन्दैन मेरो हृदयको धून
लोकतन्त्रको कानले।
अझै पनि म
छात्तीमा देश बाचेर
बजाइरहेछु सदभावको सारङ्गी
नभत्कियोस भनेर भातृत्वको घर
टेको लगाइरहेछु प्रेमको
जपिरहेछु शान्तिको मन्त्र।
आज फेरि
रित्तै निस्किएको छु
जिउँदो आवाज बोकेर सडकमा
मसँग पनि छन् सपना
मसँग पनि भोक छ परिवर्तनको
यो कर्णाली जस्तो
गहिरो लय बोकेर मुटुमा
म मेरै जीवनको धून निकालिरहेछु
र गाईरहेछु आदिवासी गीत ।
देवकी अभिलाषी–काठमाडौ