मूल्याङ्कन
अलिक अस्तिको कार्यक्रममा उनले कविता सुनाउने अवसर दिइयो तर कसैले पनि ताली बजाएनन् न टीकाटिप्पणी नै गरे । लुरुक्क परेर सुनाइसकेर बसे दर्शकदीर्घामा ।
भर्खरै भएको कार्यक्रममा ता उनले गजल भनेर नै एक रचना सुनाए । तैपनि उति महत्व दिएन सभाले । केटौलेहरूले नाक खुम्च्याएको देखियो । अलिक दिक लाग्यो उनलाई ।
हार खाएनन् । एक दिन न एक दिन कसो मेरो रचनाको मूल्याङ्कन नहोला त भनेर निरन्तर लागिरहे । गोष्ठीहरूमा सुनाउने अवसर पर्दा सुनाउन पनि छाडेनन् । तैपनि उनका रचनाहरुमा न ताली बज्छ न स्यावासी नै हुन्छ ।
एक दिनको कार्यक्रममा उनले शोषक र सामन्तीहरुका बारेमा कडा विरोध गरेको कविता लेखेर सुनाए जसमा सामन्तीको ढाड भाँच्नु पर्छ तिनलाई देश निकाला गर्नु पर्छ तिनले देशलाई र जनतालाई चुसेर सखाप पारे भन्ने जस्तो कठोर कुरा लेखेको कविता सुनाए । यो कविता सुनेर भने सभामा केही हलचल भएजस्तो सम्म भो ।
त्यही कविता सुनाएको रातीको कुरा । अँधेरी रात भएकोले बाहिर अँधेरो छ ।
“को छ हँ घरमा !!” कविको घरमा बाहिरबाट कसैले निकै ठुलो आवाजमा भन्यो ।
“हामी बूढाबूढी छौं नि को हुनु र ।” सानो आवाजमा भने अनि “को हो हँ त्यो यो रातबिरात ?” भित्रैबाट कवि ठूलो आफैंले सोधे ।
“तेरो काल ! तेरो काल आयो !! के के अरे ? सामन्तीको ढाड भाँच्ने अरे तँ ! देश निकाला गर्ने अरे तँ !! सामन्तीले देशलाई चुसेर सखाप पारे अरे ? यो देश तेरो पेवा हो ? भन् ए कवि । बाहिर निस्की ए फटाहा कवि । तेरो ढाड नभाँची किन छाडूँला र !” बाहिरबाट अझ कड्किएर करायो कोही ।
“लौ गुहार ! गुहार !! डाका आए ! डाका आए !!” भनेर कविपत्नी भित्रबाट एकासी चिच्याइन् ।
छरछिमेकी एकै छिनमा ग्यारग्वारती भेला भए । तर अघिको कविलाई हप्काउनेको केही सुइँको भएन ।
धेरै बेर छिमेकीहरु रुँगेर बसे । उज्यालो हुन पनि लाग्यो । त्यो बेलासम्म पनि केही चालचुल नभएपछि “सतर्क हुनु होला है” भन्दै सबै छिमेकीहरु आफ्नो आफनोतिर लागे ।
यता कविले भने साँचो अर्थमा आफ्नो कविताको मूल्याङ्कन बल्ल भएको बोध गरे अनि उज्यालो भइसकेको भए पनि घुप्लुक्क सुतेर घुर्न थाले ।