१. कति रानीमहल हृदयको कुनामा बने

जर्साबले कालिगण्डकीको किनारमा
सेतो, सुन्दर एउटा महल बनाइदिए
र मानिसहरूले भन्न थाले— आहा रानीमहल !

असाध्यै सुन्दर
जूनको उज्यालोमा धपक्कै बल्ने
हुस्सुले छोप्दासमेत टाढैबाट देखिने
मानौं, सधैं गण्डकीको पानी पिएर फुलेको
इन्द्रकमलको उद्यान हो रानीमहल ।

तर जे नाम दिए पनि
जति नै भव्य भए पनि
यो ढुङ्गा–माटोको महल हो
रंग–रोगन गरिएको, बुट्टा भरिएको घर हो
जो हिजो कसैको थियो
ताजमहल, रानीपोखरी, बेबिलोनको झुलन बगैँचाजस्तै
सायद, कसैको मृत्युपछि बनाइने चिहान–ढुङ्गोजस्तै ।

आहा ! कति यस्ता महल बनेका थिए
दुनियाँभरिका प्रेमीहरूको हृदयमा
सपना देख्ने मानिसहरूका आँखामा
ती महल, जो बन्दाबन्दै सानो कम्पनमै ढले
ती महल, बैंसको तापमा मैनझैँ पग्लेर गले
ती महल, जो आँशुको छालसँगै बगेर गए…

अहा !
कति–कति रानीमहल हृदयको कुनामा बने ।

२. आँखीझ्याल

आँखीझ्याल सानो छ
तर यसैबाट संसार चियाउन सकिन्छ ।

घरका ठूला–ठूला ढोकालाई
अहङ्कारका खापाले बन्द राखेका छन्
घरका बुट्टेदार झ्यालका सिसालाई
पर्दाले छोपेका छन् ।

थुनिएको छ घर चारैतिर
सबै दृश्य बन्द छ ।

तर को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो ।

आहा ! आँखीझ्याल हुँदै
जस्तो त्राशमा पनि संसार चियाउन पाइयोस्
जस्तो याममा पनि क्षितिज निहार्न पाइयोस्
चाहन्छु, एउटा सानो आँखीझ्याल
तिम्रो मनमा पनि भइदियोस् !
०००
३. जाँदाजस्तो फर्किंदा नहुने रहेछ

दराजमा सबै समान मिलाएजस्तो
एउटै झोलामा सिङ्गो जिन्दगी अटाएर
अनि वालेटमा गिफ्ट–कार्ड
र ‘म आउँदैछु है भन्ने खबर’को पछिपछि लागेर
जब कतै गइन्छ, मनभरि उत्साह बोकेर
पुग्नुपर्ने गन्तव्य आँखामा सजाएर ।

याद छ तपाईंलाई ?
घर छोड्ने अघिल्लो रात निद्रा पर्दैन
र पाहुना गएको ठाउँमा बिहान चाँडै ब्युँझिइन्छ
अनि जाँदा बाटो असाध्यै लामो हुन्छ
फर्किँदा त्यही बाटो छोटो लाग्छ ।

हजुरबा भन्नुहुन्थ्यो–जानु नै पर्छ एकदिन
जानु रीत हो प्रकृतिको
जसरी एकपछि अर्को हिउँद जान्छ
एकपछि अर्को ऋतु जान्छ
पखेटा लागेपछि चरा गुँड छोडेर जान्छ ।

तर, जाँदा कत्रो–कत्रो सपना बोकेर गएको मान्छे
फर्कँदा रित्तो हात फर्किन सक्छ
तैपति फर्किँदा के त्यस्तो नपुग्दो रहेछ
अथवा अब फेरि भेट हुने–नहुने टुंगो नलाग्दाको अवस्था
वा प्रियजन केही दिनको लागि आएर फर्केको साँझ
युद्ध हारेर घर फर्केको दिन
वा युद्ध जिते घर आउँदा घरै हराएको क्षण ।

मान्छेको यात्रा अचम्मको हुने रहेछ
खै किन हो
जाँदाजस्तो जोश फर्किंदा नहुँदो रहेछ ।

Note: ठेगाना : बनेपा, काभ्रे
प्रकाशित कृति : त्यसरी त कहिल्यै सोचिएन, कवितासंग्रह
सम्पादन : विगत एक दशकदेखि लेखन, सम्पादनमा सक्रिय
हाल : सम्पादक, नेपालीन्युज युके

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *