(‘डायस्पोरा नेपाली कविता: यूके विशेष’का लागि कवि टंक वनेमको संयोजनमा)
पुस्तकहरुमा घोटिएर खिइएका हुन
यी पुड्का पुडका मानिसहरु
केवल अग्लिएका छन् अक्षरहरुका ठूल-ठूला पर्खाल
र छेलिएको छ निराक्षर आमा शब्दहरुका अग्ला अग्ला छायाँले
आतांकित पारिएका छन् अर्थहरुको धुवाँभित्र मातिएका भैंसेगोरुहरुले
केवल बुद्धीबाङ्ग्रा नपलाएका बचेरा छोराहरु
कुइटेल कुइटेल सुकुमार प्रमाणपत्रहरु ग्रहण गरेर
शोभा बढाइरहेका छन् दीक्षान्त समारोहको
तर गिदीमा बन्द मध्यरातलाई तर्साउँदै
उघ्रिन्दैन कहिल्यै विवेकको दैलो तिनको
त्यसैले यी ढुङगाका कुर्कुच्चामा पटपटी फुटेका पीडित आवाजहरु
के लेख्न सक्छन् त तिनले अव ?
त्यसैले यो माटोको अनुहारमा चाउरिएका मर्छित शब्दहरु
के पढ्न सक्छन् त तिनले अव ?
आजतक पढ्न पाएको होइन त्यो पुस्तक
करोडौं-करोड युग पढिसकेको यो बूढो पहाडले
यसरी हात खुट्टा भाँचेर निर्मम हत्या गरिनु निरह रुखको
भोगेकै हुन ऐजेरुहरुले पनि आत्माहत्या
यसो र महामूर्ख थिए न्यूटन विवेकको घनाजंगलमा
यसो र महालद्धु थिए आइन्सटायन् संवेदनाको रुखमा
हो, पढ्न पाएनन् गोर्कीका विश्वविद्यालय तिनले
जसरी त्यो अघिदेखि आजतक-
धागो कात्ने चर्खा र तयामाको तान जस्तो लम्बेतान समय
यो हावा नचुँडिने गरी गाँसिएको थियो यसरी नैं
यी खोलानालाहरु नटुंगिनेगरी हिँडेका थिए यसरी नैं
यी ढुङ्गा र माटोहरु नफुस्किनेगरी जोडिएका थिए यसरी नैं
सम्पूर्णताको खोज हो आमाको पाठेघर
वित्थैमा प्रक्षेपण गरिए गुरुत्वको आकार्षा र उपेक्षावादका कुरा
तर मंगल अवतरण भयो नैं कहाँ?
-टाउकोमा ?
-अन्तरिक्षमा ?
-कि वा अन्तरात्मामा ?
यतिसंम्म पनि सोंच्न भ्याएनन् कि तिनले
शब्दहरुको सामर्थ्य पर्याप्त छैन ढुङ्गोभित्र पुग्न
अक्षरहरुको संवेदना पर्याप्त छैन पूर्ण माटो लेख्न
भुइमा पलेँटी मारेर दलिनमा टुप्पी कसिएका छन् गिदीहरु
अव कसरी पढ्लान् तिनले ?
ढुङ्गोको छातीमा खोपिएको
ढुङ्गाकै अक्षरहरुको खाल्टोमा भरिएको माटोपीडाहरु ।
हेर- ती ताराहरु को हुन ?
हेर-त्यो जून को हो ?
हेर- यो घाम के हो ?
इ- हेर आफुले आफैलाई
यी मानिसहरु को हुन् ?
टोपी फुकालेर आकाश हेर !
परेला ओरालेर पाताल हेर !
अनि खोज-आफु उभिएको खाली ठाउँ
र एकैछिन्को लागि
आफ्नो टाउको चुँडालेर फाल र छातीको शिलालेखमा हात राख
मातृत्व जोगाउन आमा-अक्षरहरु पढ्दैनन् कहिल्यै
के आमा भन्दा महान अक्षरहरु निर्माण भएका छन् र कुनै पुस्तकमा ?