कोशी भत्किन्दा बिटुलो परेको बस्ति
खेतका गहराहरु हरियो नभई
समाहामा पानी नभएर उडेको बुङबुङती धुलो
रातो माटो पोतिएझैं नदी किनार
तुवालो चिरेर हाँस्न खोज्ने सूदुर पर्ूवको गुल्मोरी सडक
धर्तीको क्यानभासमा कोलाज हो शायद
त्यही विद्रोहको उत्सव मनाउँन
राताम्मे फुलेको गुल्मोरी फूल
त्यही रुख मुन्तिर भुर्रभुर्र नाच्ने चरोझैं
निर्सत प्रेम जिस्किन्छ वेसरी
यौवनको पैतला धमीराको पैतला जस्तै त हो
वैँसको ढिस्को चढ्छ र ओर्लिन्छ
सतिसालको पत्करमा बतासिन्दै
दबदबे खोल्सी र सूर्यको तोते बोलीमा लाडिन्छ
गुल्मोरका हाङ्गाहरुले
स्नेहको ताप ताप्दा
चखेवा भाषामा
छिलिन्छ प्रेम मग्न हाँसो
अहा !
त्यो हल्का तुवालोको तीनघुम्तीनेर
गुल्मोरको फूल र प्रेम मग्न जोडी
लाग्छ-
त्यो निर्सत प्रेम हो मायाको
समर्पण दुइ मुटुको आलिङ्गन
हावाको झोक्कामा खस्ने
ति गुल्मोरी फूलका पत्रदलहरु
प्रेमको रातो अक्षता हुन
जस्लाई
गुल्मोरी माया भनेर
खोपि दिए हुन्थ्यो
सडकको माइल स्टोनमा ।