पहिचान सहित बाँच्नको लागि
पहाड पर्वत र खोला नालाको देउ देउताहरुलाई
अनुष्ठानको लिङ्गोमाथि जगाउँदै
खप्परभरी शब्दका विरुवाहरु उमारेर
सुनको खुर्मीले गोड्दै
धनु काँड भिर्ने सिकारी देव जस्तो
पहिचानको क्षितिजमाथि
रङ विरङका जामाहरु पहिरिएर
ठट्टाउँदै ढोल,झयाम्टा र थालहरु
आचुङगो चुङवानाम र
वमिमाङ बधाकमाङ शक्तिले
स्वतन्त्र हावामा बहन्दै
अन्नका वालाहरुसित खेल्दै
लसुनका पोटी र अदुवाका पानाहरुमा रमाउँदै
देउ निगालोको टुसाले आकाश छुन अग्लिए जस्तो
आगोको वरिपरि नाचौं
खोलाको गतिजस्तै बगौं
र डँडेलोको आगो भएर उठौं ।
ए ! पहिचानका पुजारीहरु हो
मुन्धुम्को मर्चा खोपडीमा साँधेर
झयाली र झयाम्टा ठट्टाउँदै
घुङरिङ, अम्लिसो र काउलोको स्याउली हल्लाउँदै
वाधा अड्चन र
लिसो,पासो,सोला दर्जनहरु हटाउँदै
आँखी डाही र इर्स्याको आँखामा धनु वाण बन्न
झुण्ड्याउ अनुष्ठानको लिङ्गोमाथि पहिचानको फूल
गर्दै घामको छाँयासंग होडबाजी ।
शास्त्रार्थ गर्न जान्ने –
ल्याइङस्याङका रिम्पोचे गुरुहरु !
तेल्लेले तेन्जीयेप र
तेन्छाममुक येवाहरु !
तुवाचुङ जाय जुमा गुरुहरु !
ताम्सा तामे गुरुहरु !
नाक्छोङ, नक्सो, होमे गुरुहरु !
क्होलः सोँथर खेगी गुरुहरु !
गुभाजु र मष्ठा गुरुहरु !
मोच,सेंहे,वायु,शेषेन्त्र खान सक्ने गुरुहरु !
भुत,मसानहरुको चलखेल गर्ने वेला हो यो
वजाउँदै जोड जोडले शब्दका घण्टीहरु
ठट्टाउँदै पहिचानका झयाम्टाहरु
र्छर्किर्न्दै भुँडे चिण्डोको पवित्र जल
वेदीको धनुकाँड सोझयाएर
ताकौं पहिचानको जून घाम
अनुष्ठान गर्नुको अर्थ पनि त्यही हो
पहिचानको थानमा
याग्राङसिङ त्यसै उभिएको होइन
सुनुन ति प्रेतात्माधारी भूतहरुले
जिउँदै छन् मान्छेहरु
मर्चाले साँधेको खप्पर
त्यसै बजेको होइन यसरी
बजाउँदै अनुष्ठानको झयाम्टा
झयाम्म ……झयाम्म ……झयाम्म ……
झयाम्म ……झयाम्म ……झयाम्म ……
इ…हु ………………।
नोट: (लिम्बू) आचुङगो चुङवानाम र वमिमाङ बधाकमाङ – उहिल्यै मुन्धुम्को सृष्टिकालमा पृथ्वीबाट आकास नजीकै देखिएको वेला आचुङगो र वधाकमाङ नाम गरेका सिकारी देवहरुलाई पृथ्वी र आकासको सन्तान मानिन्थ्यो । तेल्लेले तेन्जीयेप र तेन्छाममुक -मुन्धुम्मा वर्णित सिफाक्जङ्का अनादीवासी शक्तिशाली विजुवाहरु । याग्राङसिङ: पूजा लाउने वेदीको मध्यभागमा गाडीने बाँसको लिङ्गोको विशेष ज्ञाता ।