– हेमन्त परदेशी

गाउँको उच्च माविबाट प्लस टुको अध्ययन पूरा गरिसकेपछि त्यसभन्दा अगाडिको शिक्षा आर्जनको लागि सहर छिर्नुपर्ने बाध्यतासंगै एक दिन धिरज पनि राजधानी सहर काठमाडौंको भीडभित्र छिर्यो अनि त्रिभुवन विश्व विद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा वाणिज्य संकायमा स्नातक तहको अध्ययनको सुरुआत गर्यो । त्यसो त धिरजको घरको आर्थिक अवस्था पनि सामान्यतया उसको अनुकूल नै रहेको थियो । भलै कृषिमा आश्रित परिवार नै किन नहोस् अलैंचीर् अम्लिसो लगायतका नगदेबालीहरुको प्रशस्त उत्पादनले उसको परिवारलाई आर्थिक रुपमा अत्यन्तै सबल बनाएको थियो । जसको प्रतिफल राजधानी काठमाडौं जस्तो महङ्गो सहरमा पनि बिना कुनै आर्थिक कठिनाई उसले आफ्नो अध्ययनलाई सुचारु रुपमा निरन्तरता दिइरहेको थियो । यद्यपि बाबा आमाको मुख ताकेरै मात्र सहरिया जीवनशैली बाँच्नुपर्दा भित्रभित्रै उसलाई परजीवितताको अनुभूतिले पिरोलिरहेको थियो ।

सायद , त्यो पनि यौटा संयोग नै थियो कि एक दिन कलेजबाट आफ्नो कोठा घट्टेकुलोतर्फ फर्कँदैगर्दा डिल्लीबजारको उकालोमा अचानक यौटि युवतीसंग उसको जम्काभेट भयो ।

“………………………………………………………….।“

“अनि तपाईको डेरा चाहिँ कहाँ छ नि धिरज बाबु?”

औपचारिक चिनापर्चिको दोहोरो संवाद पूरा हुने बित्तिकै त्यस युवतीले जिज्ञासा राखी । उसले पनि आफू बस्ने डेराको बारेमा सबै कुराको बेलिबिस्तार लगायो ।

“ओहो धिरजबाबु ! यो त ढुंगा खोज्दा देउता मिले झै नै भयो ।” एकाएक उत्साहित बनी ऊ –“मेरो घर पनि त त्यही नै हो ।”

“ ए हो र भूमिका जी?” केही नसोचिकनै हल्का जवाफ दियो उसले –“आखिर छिमेकीबीच नै चिनापर्चि भएछ , खुशी लाग्यो ।”

“खुशी मात्रै होइन धिरजबाबु ! मेरो त भाग्य नै चम्कने भयो ।” अनायसै मुस्कुराई ऊ ।

“तर मैले त तपाईको आशय बुझ्न सकिन नि?” अल्मलिएकै भावमा बोल्यो धिरज –“आफू त गाउँबाट आएको सोझो मान्छे , घुमाउरो कुराको मेसै पाउँदिन ।”

“डराउनु पर्दैन धिरजबाबु !” सायद धिरजको मुहारमा झल्किरहेको हतासभाव देखेरै होला आफ्नो भनाइको आशयलाई तुरुन्तै स्पस्ट पारी उसले –“वस्तवमा मलाई मेरे सानी छोरीका लागि तपाई जस्तै एकजना ट्युसन टिचरको खाँचो थियो । आज संयोगले त्यो पूरा भएको महसुस भइरहेकोछ मालाई ।”

“ए त्यो? भइहाल्छ नि भूमिका जी !”

आखिर के खोज्छस् कानो आँखा भने जस्तै भइदिएपछि धिरज पनि किन खुशी हुँदैनथ्यो र?

उनीहरुबीचको सहमति बमोजिम हरेक अपरान्ह पाँच् बजे भूमिकाको घरमा हाजिर हुनु र उसकी सानी छोरी पल्लवीलाई एकघण्टा अध्यापन गर्नु धिरजको दैनिक कार्यतालिकाको यौटा महत्वपूर्ण पाटो नै बन्नपुग्यो ।

स्वभावैले लामो समयको निरन्तर उठबसले मानिसहरुलाई एक अर्काबीच सन्निकट एवं सान्निध्य बनाउने गर्छ र यो वास्तविकताबाट धिरज र भूमिका पनि अछुतो रहेका थिएनन् । यद्यपि उनीहरुबीच यौटा अभिभावक र ट्युसन टिचरको सम्बन्ध बाहेक अरु कुनै सम्बन्ध स्थापित भएको थिएन ।

समय आफ्नै रफ्तारमा अगाडि बढिरहेको थियो । अनायसै एकदिन भूमिकाले धिरजलाई आफूसँगै ‘डिनर’ गर्न प्रस्ताब राखी । उसको अनपेक्षित प्रस्ताब सुनेर धिरज अक्क न बक्क भयो । सायद , यौटी विवाहिता अनि जवान युवतीसँग अबेरसम्म साँझ बिताउनुपर्दा वरपरका छरछिमेकका मानिसहरुबाट सुन्नुपर्ने सम्भावित छेडखानीहरुको सन्त्रासले होला उसको मुटुको गति पनि एकाएक बढ्न पुग्यो ।

“प्रस्तावको लागि धन्यबाद भूमिका जी !” अन्तत आफ्नो मनको कुरा बोलेरै छाड्यो उसले –“तर अफशोस , तपाईसँग ‘डिनर’ गर्न असमर्थ छु । बरु भन्नु ह्न्छ भने कुनै दिन सँगै ‘लन्च’ गरौंला नि, हुन्न र?”

“अरे धिरजबाब् ! आफ्नै बहिनी जस्तीको घरमा एक साँझ बिताउनु पनि किन यति अप्ठ्यारो मान्नु भएको?” सम्झाउने पारामा थपी उसले –“आखिर हामीबीचको नाता यौटा दाजु र बहिनीबीचको नाता भन्दा अलिकति फरक पनि त रहेको छैन ।”

“त्यो त हो भूमिका जी ! तर वरपरका छरछिमेकीहरुलाई पनि त हेर्नु पर्यो नि ।” वास्तविकता बुझाउन खोज्यो उसले ।

“धिरजबाबु ! तपाई कति कायर र शंकालु हुनुहुन्छ हगि?” मुसुक्क हाँसेर बोले ऊ –“यहाँका सबै मानिसहरुले मलाई राम्ररी चिन्छन् र सायद तपाईलाई पनि ………………….।”

“मलाई?” बीचैमा बोल्यो धिरज –“तर म यस टोलमा बस्न त थालेको भर्खरैदेखि मात्रै हो ।”

“हुन सक्छ् ।” प्रस्ट्याउन खोजी उसले –“तर मैले उनीहरुसँगको भलाकुसारीहरुमा तपाईका बारेमा सबै कुराको बेलीबिस्तार लगाईसकेकीछु । एक अर्थमा भन्ने हो भने तपाईको इमान्दारिता , स्वच्छ चरित्र अनि निष्कपटताप्रति अलिकति पनि शंका छैन उनीहरुलाई ।”

भूमिकाको कुराले धिरजको मनलाई केही शान्त एवं हलुका बनायो । यद्यपि ‘डिनर’ को बहानामा अबेर साँझसम्म त्यहाँ बस्न भने उसको मनले पटक्कै अनुमति दिएन उसलाई ।

“माफ गर्नु होला भूमिका जी ! यति हुँदाहुँदै पनि म तपाईको प्रस्ताबलाई स्वीकार्न असमर्थ छु ।”

“ठिकै छ धिरजबाबु !” ठुस्किएको भावमा बोल्ली ऊ –“आखिर जति नै जानपहिचान र उठबस भए पनि पराई त पराई नै हुन्छ नि , हैन र?”

“हैन भूमिका जी ! मेरो सोचाई यति संकुचित छैन………………।”

“अनि फेरि के त?” बीचैमा कुरा काटी उसले –“यदि तपाईले मलाई पराई नठान्नु भएको भए ‘डिनर’ त के पूरै रात बिताउन पनि अप्ठ्यारो महसुस हुँदैनथ्यो तपाईलाई ।”

उसको यही यौटा भनाइले धिरजको मन बदलिदियो । गाउँघरबाट यति टाढाको सहरमा पनि आफूलाई आफन्त झै ठान्ने आफ्नो पनि कोही रहेछ भन्ने भावनाले ऊ भित्रभित्रै खुशी बन्यो ।

“ठिकै छ भूमिका जी ! तपाईसँग सहभोज नगर्दा मैले पराईको कित्तामा उभिनुपर्छ भने म त्यसको लागि सगौरब तयार छु ।” लामो भूमिका बाँधेर मुसुमुसु हाँस्दै थप्यो उसले –“तर तपाईको ‘डिनर’ को प्रस्ताब चाहिँ पास ।”

“धन्यबाद धिरजबाबु ! आइ एम रियल्ली ह्याप्पी टुडे ।”

यति भनेर ऊ खानाको तयारीमा जुटी पनि हाली । काटकुट गरेर फ्रिजमा राखेको खसीको मासुलाई पुन: धोइपखाली गरी सूर्यमुखीको तेलमा पर्परी फ्राइ गरी । मुङ्गको दाल उमाली । साथमा पोखरेली चामलको भात र भक्तपुरे रायोको सागको तरकारी ।

भूमिकाको खुशीका लागि ‘डिनर’को प्रस्ताबलाई स्वीकार गरे पनि कतिबेला त्यहाँबाट उम्कन पाइएला भन्ने हतारोले धिरजलाई भित्रभित्रै छट्पटी भइरहेको थियो ।

“भूमिका जी ! फेरि भरे रात छिप्पिन सक्छ । बरु खाना तयार भइसक्यो भने खाई पनि हालौं न ।”

दालभात , तरकारी सम्पूर्ण कुराको तयारी भइसक्दा पनि खानाको लागि भूमिकाबाट निमन्त्रणा नआउनुको पछाडि पक्कै कुनै रहस्य हुन सक्ने आशंकले अतिथिको धर्म तोड्न बाध्य बनायो धिरजलाई ।

“धिरजबाबु ! किन हत्तारिनु भएको? आखिर भोलि शनिबार त विदाको दिन नै हो ।” हल्का मुस्कान छर्दै अगाडि थपी उसले –“बरु पहिला हल्का ‘ड्रीङ्क्स’ गरौंन अनि त्यसपछि ‘डिनर’ , हुन्न र?”

“ड्रीङ्क्स?” , तुरुन्तै बोल्यो धिरज –“भूमिका जी ! मलाई त यसको लत नै छैन ।”

“ओहो धिरजबाबु ! मेरो ‘मेमोरी’ त्यति कमजोर कहाँ छ र?” प्रत्युत्तरमा बोले ऊ –“अस्ति गोदावारी गएको बेला तपाईले भन्नु भएको कुराहरु आज पनि ताजै छन् मेरा स्मृतिपटलमा ।”

भूमिकाको कुराले धिरज निरुत्तर बन्यो । त्यस दिन कुरैकुरामा आफूले साँझपख कहिलेकाहिँ हल्का ‘ड्रीङ्क्स’ गर्ने गरेको कुराको खुलासा गरेको सम्झनाले उसलाई भूमिकाको प्रस्तावलाई अस्वीकर गर्ने पटक्कै अनुमति दिएन । अन्तत राउण्ड टेवलमा सजाएर राखिएको विदेसी ह्विस्की र ‘चिकेन् रोष्ट’ को स्वाद चाख्न तयार बन्यो ऊ । हल्का पेय पिएर नै सही भूमिकाले पनि उसलाई निरन्तर साथ दिइरही ।

‘डिमलाइट’ को मधुरो प्रकाशमुनि बसेर पिउँदै जाँदा धिरजले यति धेरै पियो कि उसलाई आफूले खाना खाएको कुराको यादसम्म भएन । जब मध्यरातमा उसको होस खुल्यो तब उसले थाहा पायो कि ऊ यौटा पारदर्शी ‘नाइट ड्रेस’ मा मस्त निदाइरहेकी भूमिकाको अंगालोभित्र बेरिएको थियो । अझ आफ्नो ‘वानपिस’ को अवस्था देखेर त ऊ झनै अतालिन पुग्यो ।

“धिरजबाबु ! यति रातमा किन उठ्नु भएको?” धिरजलाई विस्ताराबाट उठ्नलागेको देखेर उसको हात समाउँदै बोली भूमिका -“आखिर जे नहुनु थियो भइसक्यो । अब पश्चताप गर्नुको कुनै अर्थ छैन ।”

“छि: भूमिका जी ! यो के गर्नु भएको?” एकाएक रुष्ट बन्यो धिरज -“मैले तपाईलाइ यस्तो हुनुहोला भन्ने कल्पनामा समेत सोचेको थिइन ।”

“सायद होला धिरजबाबु !” मलिन स्वरमा बोली भूमिका -“तर बेहोसीमा दुनियाँ बिर्सनेगर्छन् मानिसहरु………………।”

“मतलब?” बीचैमा बोल्यो धिरज -“के यो पाप मबाटै हुन गएको हो त?”

“हो ।” तुरुन्तै बोली भूमिका -“जब तपाई ह्विस्कीको नसामा लठ्ठ बन्नुभयो तब तपाईले मलाई प्रस्ताव राख्नु भयो र मैले पनि बिना कुनै सोच तपाईको प्रस्तावलाई स्वीकार गरेँ ।”

“यो हुनै स्क्दैन ।” प्रतिबाद गर्यो धिरजले -“म तपाईलाई आफ्नै बहिनी समान ठान्छु र मबाट यस्तो पाप कदापि हुनसक्दैन ।”

“हो , धिरजबाबु !” सम्झाउँदै बोली भूमिका -“मैले पनि त तपाईलाई आफ्नै दाइको स्थानमा राखेकी थिएँ । तर कुन्नि के भएर हो त्यस कुराको त अलिकति स्मरणसम्म भएन मलाई ।”

“भूमिका जी ! यो सब तपाईकै कारणले गर्दा भएको हो ।” बिना हिच्किचाहट गुनाँसो पोख्यो उसले -“यदि ‘डिनर’ को लागि तपाईले त्यस्तो ढिपी नगर्नु भएको भए यो दुर्घटना सायदै हुने थियो ।”

“धिरजबाबु ! जे भयो त्यसलाई बिर्सिदिनुस् ।” सान्त्वना दिन खोजी उसले -“आखिर यस सम्बन्धलाई नाजायजको नाम दिने हामीबीच कुनै रगतको नाता पनि त छैन ।”

“त्यो तपाईको निजी धारणा हो ।” वस्तविकता ओकल्यो उसले -“हो भूमिका जी ! यौटी विवाहिता नारीसँग अवैध सम्बन्ध गाँस्नु मेरो नैतिकताले दिने कुरा होइन । अझ तपाई त कसैको सुहाग हुन्हुन्छ । आफ्नो श्रीमानको विश्वासलाई चपरीमुनि लगाएर संसारका कुनै पनि स्वास्नी मान्छेहरु जीवनमा खुशी र सुखी हुनसक्दैनन् ।”

“धिरजबाबु ! तपाईको कुरा पनि ठिकै हो तर त्याग , समर्पण र नैतिकताको नाममा मनभित्रका असीमित चाहना र रहरहरुलाई गुम्साउँन खोज्नु पनि त मानिसहरुको यौटा भूल हो ।” केही सोचे झैँ गरेर थपी उसले -“एक अर्थमा भन्ने हो भने तपाई जस्तो यौटा जवान युवाभित्रको चाहना र रहरहरुको हत्या गर्नु भनेको आफूले आफैलाई बिषको प्याला पिलाउनु जस्तै नै हो ।”

यति भनेर भूमिका बिस्ताराबाट जुरुक्क उठी अनि ‘फ्रेस’ हुन ‘बाथरुम’ तिर छिरी । त्यतिन्जेलसम्ममा भूइँमा उज्यालो पनि खसिसकेको थियो । सायद , वरपरका छरछिमेकीका नजरहरुबाट बच्नकै लागि होला ‘बाथरुम’ बाट भूमिका ननिस्कदै धिरजले आफ्नो बाटो तताइसकेको थियो ।

समय एवं रीतले बितिरहेको थियो भने त्यो दुर्घटना पनि बिस्तार बिस्तारै धिरजको जीवनको यौटा अभिन्न अङ्ग बन्दै गइरहेको थियो । यहाँसम्म कि दैनिक भेटघाटमा हुने नियमित कुराकानीहरु बाहेक ‘डान्सबार’ र तारे होटलहरुको रात्री जीवन समेत उसका लागि सामान्य जस्तै बन्न थाल्यो । यद्यपि उनीहरुबीच त्यस्तो सम्बन्ध कहिल्यै कायम भएन जुन बेहोसीमा दुर्घटनाबस त्यो रात कायम भएको थियो ।

तर बिडम्बना ! समय सधैं एकनासको कहाँ हुन्छ र? एक दिन अचानक भूमिकाले पाँचलाख रुपैयाँको बैंक चेक उसको हातमा थमाइदिई र बदलामा उसलाई आफूबाट सधैँका लागि टाढा भइदिनआग्रह गरी ।

“तपाई यो के भन्दैहुनुहुन्छ भूमिका जी?” सिसा फुटे झैं चिरा चिरा भएको मनबाट बोल्यो ऊ -“के हामीबीचको यति गाढा सम्बन्धको मूल्य यही पाँचलाखको बैंक चेक नै हो त?”

“होइन धिरजबाबु !” मलिन स्वरमा बोली ऊ -“आखिर मलाई पनि त तपाईबाट अलग्गिएर बस्ने रहर थिएन । तर , यही नै मेरो जीवनको यथार्थता हो कि नचाहँदा नचाहँदै पनि म तपाईबाट एक्लिन विवश छु आज ।”

“त्यस्तो के विवशता आइपर्यो तपाईलाई? जसले गर्दा हामीबीचको यति गाढा प्रेमको मूल्यलाई बैंक चेकमा रुपान्तरण गर्नु पर्यो ।”

सबै कुरा एकै सासमा बोल्यो धिरजले ।

“पर्सी उन्नाइस गते अमेरिकाबाट मेरो श्रीमान घर फर्किदैहुनुहुन्छ ।”

“श्रीमान? यौटा निरर्थक हाँसो फुत्कियो धिरजको -“आखिर आफ्नो श्रीमानको लागि के कुरा नै पो साँच्नु भएकोछ र तपाईले?”

“सबकुछ ।” निर्धक्क बोली ऊ -“बरु तपाई भन्नुस् मैले आफ्नो श्रीमानका लागि के नै साँचेकी छैन र?”

“भूमिका जी !” दिक्क माने झैं गरी बोल्यो धिरज -“श्रीमन र श्रीमतीबीचको सबैभन्दा ठूलो उपहार एक अर्काप्रतिको प्रेम , त्याग र समर्पण अनि विश्वास नै हो र यी मध्ये यौटा कुराको मात्रै अभाव भयो भने पनि त्यो उपहारको कुनै मूल्य हुँदैन ।”

“धिरजबाबु ! तपाईको बिचारसंग म पूर्ण सहमत छु र म के पनि दावा गर्न सक्छु भने मसंग यी सबै चिजको कुनै कमी छैन ।”

“अनि हामीबीचको त्यो दुर्घटना नि?” तुरुन्तै थप्यो उसले -“के त्यसले तपाईको श्रीमानको विश्वासको हत्या गरेको छैन र?”

“धिरजबाबु ! प्लीज ।” अनुनय गरी उसले -“किन मलाई बारम्बार मरेतुल्य बनाउनुहुन्छ तपाई?”

“त्यो त तपाई आफैले खान्नुभएको खाल्डो हो भूमिका जी !” अनायसै भावुकियो धिरज -“तर केही छैन म तपाईको बाटोमा तगारो बन्न चाहन्न । बरु एकपल्ट त भूल गरिहालेँ तर जीवनमा यस्तो भूल कहिल्यै नगर्ने संकल्प गर्छु म । बाँकी रह्यो तपाईसँगको प्रेमको मूल्यको कुरा , म त्यसलाई बैंक चेकसित होइन तपाईको सम्झनासित साटेर जीवनभर अविष्मरणीय बनाउँन चाहन्छु ।”

“धिरजबाबु ! आइ लभ यू भेरिमच ।” एका एक अंगालो हाली भूमिकाले ।

“फेरि यो के को नाटक सुरु गर्न लाग्नु भएको भूमिका जी? रिसायो धिरज -“कि भाग्यबस लुटिनबाट बचेको मेरो बाँकी पुरुषत्व पनि निमिट्यान्न पार्ने बिचार छ तपाईको?”

“धिरजबाबु ! नाटकको पर्दा त झरिसकेकोछ ।” मलिन तर मायालु स्वरमा बोली ऊ -“र यो चाहिँ जीवनको यथार्थता हो कि म तपाई बिना एकपल पनि बाँच्न सक्तिन ।”

“यो तपाईको मन होइन मस्तिष्क बोलिरहेकोछ भूमिका जी !”

“हो धिरजबाबु ! तपाईले ठिक भन्नु भयो । तर , ठ्याक्कै उल्टो ।” प्रस्ट्याउन खोजी उसले -“वास्तवमा आजसम्म मैले यही दुईटा चिजको मात्रै साहारा लिएकीछु । यौटा मन अनि अर्को मस्तिष्कको । तर, अहिले म जे बोलीरहेकीछु त्यो मेरो मस्तिष्कबाट होइन मनबाटै बोलीरहेकीछु ।”

“तपाईको मन पनि यति उदार छ र?” ब्यंग्यात्मक अभिब्यक्ति पस्कियो उसले -“धन , धान्यता र सम्पन्नताले संसारका सबै चिजहरुलाई आफ्नो बनाउन खोज्नेहरुको मन त यति उदार नहुनुपर्ने हो ।”

“धिरजबाबु ! यति लामो समयसम्मको मेरो नाटकीय चरित्रले तपाईलाई यस्तो अनुभूति हुनु पनि स्वाभाविकै हो तर , मेरो जीवनको वातविकता अर्कै छ र त्यही वास्तविकतालाई सार्थक बनाउन मैले यो सब अभिनय गरेकी थिएँ ।”

“तपाई कुन जीवनको वास्तविकताको दुहाई दिदैहुनुहुन्छ?” केही रुखो स्वरमा बोल्यो ऊ -“त्यही विश्वासघात , धोका अनि झुठो आश्वासनको?”

“बिल्कुल होइन धिरजबाबु !” आफूलाई प्रस्ट्याउन खोजी उसले -“वास्तवमा म विश्वासघाती होइन न त चरित्रहीन नारी नै । म त त्यो नारी हुँ जो तपाई जस्तो सक्षम , सबल र आधारशील पुरुषको हृदयमा बास बस्न चाहन्छे ।”

“त्यसो भए जतिबेलासम्म मेरो आवश्यक्ताको महसुस भयो त्यतिबेलासम्म मलाई सपनाको फूल फूलाउन हौसला दिने अनि आफ्नो श्रीमानको आगमनसँगै मेरो निर्दोष समर्पणतालाई पाँच लाखको बैंक चेकसंग साट्न खोज्ने तपाईका सारा योजनाहरु विश्वासघातका उदाहरणहरु होइनन् । तपाईले यही नै भन्न खोज्नु भएको होइन त भूमिका जी?”

“अब्स्युलिट्ली यू आर राइट् ।” तुरुन्तै बोली ऊ -“वास्तवमा यो मेरो विश्वासघाती योजना नभइ तपाईप्रतिको आकर्षण र समर्पणको उपज थियो । हो , धिरजबाबु ! वास्तवमा म यौटी अविवाहिता नारी हुँ र बाबा आमा सहितको मेरो सिङ्गो परिवार अमेरिकाको भर्जिनिया सहरमा रहेकोछ ।”

“तपाई यो के भन्दै हुनुहुन्छ भूमिका जी?”

“हो , धिरजबाबु ! यही नै मेरो यथार्थता हो ।” प्रस्ट पार्न खोजी उसले -“वास्तवमा पल्लवी मेरो भदैनी हो , आफ्नै दाइकी छोरी । मलाई यहाँ एक्लोपनको महसूस नहोस् भन्नका खातिर बाबा आमा र दाइ भाउजूले साथमा पठाइदिनुभएको अनि यो सिङ्गो महल जापानमा व्यवसाय गरेर बस्नुभएको मामाको उपहार । अब बाँकी रह्यो तपाईसँगको दुर्घटनाको कुरा । वासतवमा त्यो रात हामीबीच त्यस्तो कुनै अनुचित सम्बन्ध कायम भएकै थिएन । ह्विस्कीको नशाले बेहोस हुनुभएकोले मैले नै तपाईलाई आफ्नो बिस्तारामा पुर्यएको थिएँ र तपाईको बेहोसीपनको प्रयोगबाटै म तपाईको नजिक पुग्न सक्छु भन्ने निस्कर्षले नै मैले त्यस्तो जोखिमपूर्ण कदम उठाएको थिएँ ।

“भूमिका ! यति लामो अनि घुमाउरो खेल किन खेल्यौ तिमीले?” जी र तपाईबाट एकैचोटी तिमीमा ओर्लियो ऊ ।

“सोझो सेटमा हार र जीत हुने खेलभन्दा लामो र घुमाउरो खेल नै आनदमयी एवं रोमान्चकारी हुन्छ , हैन र धिरजबाबु?” यति भनेर एका एक धिरजको अंगालोमा बाँधिन पुगी ऊ ।

“तर मलाई यस्तो घुमाउरो खेल खेल्ने सौख पटक्कै छैन भूमिका !” फेरि पनि रुष्टता प्रकट गर्यो उसले ।

“किनकि तपाई निस्कपट र निश्छल भावना भएको मेरो दिलको राजा हुन्हुन्छ ।” लाडे बन्न खोजी ऊ ।

“अनि तिमी मेरो कल्पनाकी परी ।” यति भनेर असंख्य चुम्बनको बर्षा गर्यो धिरजले -“तर भन स-परिवारलाई अमेरिकामै छाडेर यहाँ एक्लै बस्नुको कारण चाहिँ के हो नि?”

“तपाई जस्तो जीवनसाथीको खोजी गर्न ।” निसंकोच बोली ऊ -“हो , धिरजबाबु ! जब अमेरिकामा मैले एमबिएको अध्ययन पूरा गरेँ घरमा बाबा आमाले मेरो विवाहको कुरा उठाउनु भयो । तर अमेरिका जस्तो पाश्चात्य मुलुकमा आफूले सोचेजस्तो जीवनसाथी पाउन मेरा लागि असम्भव जस्तै नै थियो । त्यसैले बाबा आमा र दाइ भाउजूको सहमतिमै म आफ्नो जीवनसाथी खोज्न नेपाल आएँ र आज सफल पनि बनेँ ।”

“तर भूमिका ! यदि तिम्रो प्रायोजित उद्धेश्य नै यही थियो भने मलाई पहिले नै भनेको भए पनि त हुन्थ्यो नि ।” यौटा स्वाभाविक अभिब्यक्ति पस्कियो धिरजले -“के यस्ती अप्सरा जस्ती युवतीको प्रस्ताव अस्वीकार हुन्थ्यो होला र मबाट?”

“के थाहा र धिरजबाबु?” मनको कुरा बोली उसले -“यो त कस्ती बाइफाले केटी रहिछ भनेर चारकोष टाढा भाग्नु पो हुन्थ्यो कि? फेरि मान्छेको आनीबानी र ब्यबहार नबुझिनै प्रपोज गरिहाल्नु पनि त भएन नि , हैन र?”

“ओके बाबा ! तिम्रो जीत भयो ।” पराजितताको भावमा बोल्यो ऊ -“तर भन ममा तिमीले त्यस्तो के विशेषता देख्यौ कि जसले गर्दा तिमी मसँग खुशीपूर्बक जीवन बिताउन सक्छ्यौ ।”

“मसित यसको कुनै जवाफ नै छैन धिरजबाबु !” स्पष्टिकरण दिन खोजी उसले -“केवल मलाई यति मात्रै थाहा छ कि म तपाईलाई हृदयदेखि नै चाहन्छु र तपाईका हरेक सुख दु:खहरुमा यौटा भरपर्दो सहयात्री बन्न चहन्छु । बरु तपाई भन्नुस् हाम्रो यो नवीन सम्बन्धका बारेमा म आफ्नो परिवारका सदस्यहरुलाई सु-समाचार सुनाउन सक्छु कि सक्दिन?”

“अफ्कोर्स् ह्वाइ नट्?” बिना कुनै बिलम्ब बोल्यो धिरज -“तर भूमिका ! म घरज्वाइँ बनेर अमेरिका जान चाहिँ तयार छैन नि ।”

“किन धिरजबाबु?” बोली भूमिका -” अमेरिकाम त्यस्तो के कुरा छ जसले हाम्रो दाम्पत्य जीवलाई घृणा र उपहास गरोस् ।”

“कुरा उपहास र तिरस्कृत जीवनको होइन भूमिका !” लामो निश्वास छाडेर थप्यो उसले -“हो , भूमिका ! सम्पन्नता र समृद्धतासंगै अमेरिकामा दुनियाँका सबै भौतिक सुखसुबिधाहरुको उपलब्धता रहेको कुरामा कुनै शंका छैन । त्यहाँको जीवनशैली उच्च र बिलासी पनि छ । यद्यपि त्यहाँ मेरो यो माटो छैन , जुन माटोसंग मेरो बर्षौंदेखिको गाढा एवं भावनात्मक साइनो गाँसिएकोछ ।”

“कति महान बिचार तपाईको?” वास्तवमा भन्ने हो भने मातृभूमिको माटो भन्दा महन र अमूल्य वस्तु दुनियाँमा अरु केही हुँदैन र तपाईलाई सधैंका लागि अमेरिका लैजाने मेरो मनशाय पनि होइन । तर बाबा आमाको आशिर्बाद लिन एकपटक चाहिँ हामी जसरी भए पनि अमेरिका जानै पर्छ ल ।”

“एकपटक मात्रै किन भूमिका? बाँचुन्जेल ओहोरदोहोर गरौंला नि ।” भूमिकाको नरम हत्केला सुम्सुम्याउँदै बोल्यो ऊ -“तर मेरो यौटै मात्र ईच्छा छ कि हाम्रो जीवनको रथगाडी भने यही नेपाली धर्तीमै गुड्नुपर्छ , बस् ।”

धिरजको ससर्त सहमति प्राप्त गर्ने बित्तिकै भूमिकाले टेलिफोनमार्फत बाबा आमा लगायत परिवारका सम्पूर्ण सदस्यहरुलाई सबै कुराको सबिस्तार जानकारी गराई र विवाहको औपचारिक कार्यक्रम पूरा हुनेबित्तिकै मान्यजनहरुको आशिर्बाद लिन दुवैजना अमेरिका आउने योजना रहेको कुरा समेत सुनाई ।

यता धिरजले पनि सुदूरपूर्बी पहाडी जिल्लाको यौटा दुर्गम गाउँमा रहेका आफ्नो बाबा आमालाई राजधानी काठमडौबाट आफूले स्नातक तहको प्रमाणपत्र मात्र नभ इ जीवनकै सबैभन्दा महत्वपूर्ण डिग्रीको प्रमाणपत्र समेत ल्याएर आउँदै गरेको कुराको जानकारी गरायो ।

त्यसपछि त के नै पो बाँकी रह्यो र? उनीहरुका लागि सारा दुनियाँ नै रङ्गीन र रोमान्चकारी बन्नपुग्यो । यद्यपि भूमिकाको ‘विवाह पछि मात्रै ल’ भन्ने यौटै मात्र अर्थपूर्ण वाक्यंशले त्यस रातललाई सीमाविहीन बन्न भने दिएन । एक अर्थमा भन्ने हो भने यति लामो समयसम्मको सन्निकटता एवं सान्निध्यता अनि एक अर्काप्रतिको चाहना एवं समर्पर्णताको बाबजुद पनि पनि उनीहरुबीच त्यस्तो कुनै गलत सम्बन्ध कायम नहुनुले साँच्चै नै उनीहरुको प्रेमलाई पबित्र एवं अनुपम बनाइरहेको आभास हुन्थ्यो ।

हो , कहाँ अमेरिकामै जन्मिएर त्यही हुर्किएकी भूमिका अनि कहाँ नेपालको यौटा दुर्गम गाउँको परिवेशमा डन्डीबियो र भालेजुधाई खेल्दै बयस्क बनेको धिरज । तर समयले आज उनीहरुलाई जिन्दगीका गोरेटाहरुमा एक अर्काका लागि भरपर्दो सहयात्री बन्ने प्रेरणा दिएरै छाड्यो । यो यौटा संयोग थियो या लहनाको जुरान , त्यो त उनीहरुलाई नै पनि थाहा छैन सायद् । यद्यपि यौटा अकाट्य सत्य चाहिँ यही नै हो कि प्रेमको कुनै भूगोल नहुँदोरहेछ न त कुनै सीमाना नै
shavar: FB

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *