बलेसँग विवाह गर्दा मनमायाले भर्खर सत्र बसन्त पार गरेकी थिइ। टुहुरो बले सोझो र इमान्दार थियो। उसको त्यहीँ इमान्दारीपनमा लठ्ठिएर उसको हात बलेको हातमा दिएका थिए मनमयाका बाउले।विवाहगरेकै ताका असारमासको महिना सिकिस्तै विरामी भएर छ,महिना थलियो बले।
त्यसै बखत मुखियाले हल गोरु र सीमखेत खोसेर अर्कैलाई जिम्मा लागाए। यता मनमाया सुत्केरी हुनेवाला थिइ। बले विरामी हुनाले गर्दा सीमखेत र हलगोरु खोसियो।भँकारीमा अन्नको दानो थिएन।
विरामीबाट उठेपछि एक दिन हली बले ठूलो विश्वास बोकेर मुखियालाई भेट्न उनको घर गयो। र मुखिया सामु बिन्ती बिसायो। हलका गोरु र सीम खेत खोसे पनि मालिक मनमाया सुत्केरी हुँदा खाने केही अन्न दिएर दया गर्नुस्। म जसरी पनि तपाईको कर्जा चुकाउँनेछु,भनेर हात जोरेर बिन्ती बिसायो। तर मुखियाको ढुङ्गे छाती उसको दु:खले पग्लिएन।
त्यहीँ रनाहले रन्थनिएर एक जोर लुगा झोलामा कसेर भोलि पल्ट गाउँकै चित्रे भुजेलसँग कोइला खानीतिर लाग्यो बले।मनमायासित चाँडै आउने बाँचा बाँधेर। बले मुङ्लान भाँसिएपछि मनमायाले माइतीकै साहारामा छोराको जन्म दिइ। र मेलापात गरेर हुर्काइ।
आज नातिनातिनाकी धनी भएकी छे मनमाया। छोरा बुहारीको औधी माया पाएकी छे उसले। तर त्यति धेरै मायाले पनि उसको लोग्ने बलेको यादलाई बिर्साउन सकेको छैन।
आधी रातमा उठेर पनि उही गोरेटो नियाली रहन्छे ऊ। जुन गोरेटो हुँदै उसको लोग्ने बले पैंतिस वर्ष पहिले मुङ्लान पसेको थियो। जवानी सकियो। रात दिन रोएर गहका आँसु रित्तिए।तर अब लोग्ने फर्केर आउदैन भन्ने मन भित्रको आसालाई मेटाउन भने सकिन मनमायाले। लोग्ने बले फर्केर आउने आसामा सिंगो जीवन उसैको यादमा वलिदान गरि मनमायाले।
-गीता थापा