-आरती रची कोइँच
धेरै वर्ष भएको थियो मैले गाउँ छाडेकी । मनमा पीर पनि थियो अब फेरि गाउँ जानुपर्ने भएकोले । तर गाउँ हेर्ने रहर पनि छ नि ! अनि नजाउँ पनि बाबा–आमासँग भेट नभएको धेरै भयो । त्यसैले जानै त प¥यो । उफ ! फेरि त्यो माप्रा डाँडाको उराठ, उजाड र दिक्क लाग्दो उकालो ! अनि तातो घामको रापले मेरो त अनुहारै कालो भई डढ्ने भयो । न बिसाउने ठाउँ छ, न त खाने पानी नै’ यस्तै कुराले मलाई सताएको थियो । त्यहीबेला गाउँकै साथी सुदीक्षा आइपुगिन् । ‘ए ! के सोचेकी अपेक्षा, सामान प्याक भयो ? उनले सोधिन् । ‘अँऽ मिलाउँदै छु’ मैले पनि झट्टै उत्तर दिएँ । बाँकी सामान मिलाउन सुदीक्षाले पनि सहयोग गरिन् । त्यसपछि हामी बसपार्कतिर हुइँकियौँ । आधाबाटो बसको यात्रा सकेपछि गाउँको बाटोतिर लाग्यौँ । बाटोमा सुदीक्षाले भनिन्, ‘अपेक्षा ! म त कस्तो थाकिसकेँ अहिले नै । त्यो माप्रा डाँडा कसरी पार गर्ने होला ? कति लामो उकालो छ । भारी बिसाउने ठाउँ पनि हुँदैन । बरु हामीले स्कुलमा पढेको घनघस्याको उकालो त्यस्तो छैन होला ।’ मलाई पनि त त्यस्तै चिन्ता थियो मनमा । उसको कुरालाई ‘हो त’ भनेर सही थापिदिएँ । अघि बढ्दै जाँदा बाटोमा धेरै बटुवाहरू, भरियाहरू भेटिए, हामी उनीहरूको कहिले अघि, कहिले पछि गर्दै हिँड्न थाल्यौँ । भरियाहरूको कुराकानी पनि सुन्दै थियौँ । एक जना भरियाले अरूलाई भन्दै थियो, ‘साथी हो ! खाजा त माप्रा डाँडामा नै पुगेर खाऔँ है ।’ त्यो सुनेर हामी अचम्म पर्यौ । जहाँ अडिने ठाउँ नै छैन । त्यस्तो अप्ठेरो ठाउँमा कसरी खाजा खाने भनेर ।
सुदीक्षाले उत्सुक हुँदै सोधिहालिन्, ‘माप्रा डाँडामा ! कसरी खाने खाजा ? लड्दैन मान्छे ! अनि भारी पनि त अडिँदैन त्यस्तो भिरालो ठाउँमा ।’
भरियाले हाँस्दै भन्यो, ‘नानीहरू त धेरै वर्षपछि आएजस्तो छ । अहिले माप्रा डाँडा पहिलाको जस्तो कहाँ छ र ? कस्तो राम्रो चौतारी छ । अनि चिसो पानी भएको गहिरो कुवा । चौतारीमाथि सियाल दिने वर र पीपल पनि हलक्कै हुर्किँदै छन् । त्यतिमात्र कहाँ हो र ? बाटो वरिपरि तुलसी, चन्दन, सत्यजीवन विभिन्न जडीबुटीको मगमग बास्नाले टाउको दुखेको पनि छ्याङ्ग छोड्छ र हलुका र शीतल पो हुन्छ त ।’
त्यो सुनेर मैले पनि सोधिहालेँ, ‘कसरी त दाइ ?’ भरिया दाइले भन्नुभयो, ‘खै नानी हो ! कसरी भनौँ र ? त्यसो गर्नेचाहिँ को हो ? थाहै भएन । भगवान्जस्तै गर्यो जसले गरे पनि । कसले बनायो भनेर कसैलाई थाहा छैन । जसले बनाए पनि हामी त यति खुसी छौँ ।’
भरिया दाइले यस्तै कुरा गर्दागर्दै हिँडेको पनि थाहै नपाई हामी माप्राको उकालो चढ्न पुग्यौँ । हाम्रो मनमा भएको डर पनि हट्दै गयो र कुरै कुरामा उकालोको पीडा पनि थाहा भएन । माप्रा डाँडाको बीचमा आइपुग्दा गाउँ पनि नजिकै देख्न थालियो । साँच्चै पत्याउनै नसकिने गरी माप्रा डाँडा कति राम्रो र सुन्दर बनेको थियो । चिटिक्क परेको चौतारीमाथि दायाँ र बाँया वर–पीपलको रूख हामीभन्दा अग्लो भएर सरर गरी स्वच्छ हावा दिइरहेका थिए । चौतारीनजिकै रहेको कुवाको चिसो पानीले प्यास त मेट्ने नै भयो अझ भोको पेटलाई पनि केही समय त भोक पनि मेटाउने रहेछ । हामी त दङ्ग प¥यौँ र यस्तो धर्म कसले ग¥यो भनेर हाम्रो मनले बुझ्न खोज्यो । तर कसैलाई पनि त थाहा छैन रहेछ । त्यसैले मन बुझाउँदै रूखको डालीमा चराचुरुङ्गीहरू चिर्विर्–चिर्विर् गरी गीत गाएको देखेर हामी पनि त्यतै रमाउन थाल्यौँ । आहा कति आनन्द ! कति शीतल ! हामीलाई पहिला यो ठाउँमा कति उकुसमुकुस हुन्थ्यो तर अहिले यहीँ बसौँ–बसौँ लाग्ने भएर हामी घरतिर गयौँ ।
भोलिपल्ट गाउँका गाउँलेहरू आज त माप्रा डाँडामा कार्यक्रम छ भन्दै जान थाले । घरमा बाबा–आमाले पनि हामीलाई जानुपर्छ भन्नुभयो । गाउँमा पहिलाको जस्तो एक–आपसमा त्यति राम्रो सम्बन्धचाहिँ छैन रहेछ । गाउँले छिमेकीहरूमा धेरै परिवर्तन भएछ । सबैले यो पार्टी, यो धर्म, यो जाति, यो क्षेत्र भनेर आफूहरूलाई अलग–अलग बनाएर आफ्नै समुदायको हक हित खोजेर मान्छे–मान्छेमा विभाजन गरेका रहेछन् । अब त छिमेकीहरू पनि आफ्नो समुदायको मुलीले जे भने पनि ठीक हो भन्दै लागि परेका रहेछन् । सबै क्षेत्रमा विविधता आएको रहेछ । त्यसैले छिमेकीहरूसँग पनि हाम्रो राम्रो सम्बन्ध हुन सकेन । सबै जना आ–आफ्नै धुनमा माप्रा डाँडा गए । के कार्यक्रम हुने रहेछ भनेर जान्नको लागि हामी पनि गयौँ । त्यहाँ त आ–आफ्नै धर्म, विभिन्न जाति, राजनीति पार्टी समुदायको कार्यक्रम रहेछ । ठूला–बडा व्यक्तित्वले आ–आफ्नै भाषण गर्दैै थिए । हामी पनि बाबा–आमा जतातिर त्यतैको पार्टी, जाति, धर्म, समुदाय भएर बस्न बाध्य भयौँ । सबैले आ–आफ्नो पक्षको डाँटा सङ्कलन गर्दै थिए । आगामी जनगणनामा सबैले आफ्नो वर्चस्व देखाउन चाहन्थे । इसाई धर्मले आफ्नो धर्मको प्रचार गर्दै थिए । हिन्दूले प्रवचन गर्दै थिए । बुद्धिष्ट, किराँत, मुस्लिम अन्य सबैले पनि आफ्नै धर्मको प्रचार गर्दै थिए । त्यस्तै जाति समुदायले आफ्नै जातित्व, क्षेत्रको कुरा उठाउँदै थिए । सबैले आफ्नै पक्ष बलियो देखाउन होडबाजी पनि चलेको थियो ।
कार्यक्रमस्थलभन्दा केही पर एक जना युवक केटा अलग्ग बसेको थियो । उसलाई सबैले आ–आफ्नै पार्टी, समूहबाट बोलाए । तर त्यो केटा कुनै पार्टी, धर्म, समुदायमा गएन । ऊ चुप लागेर बसिरह्यो ।
‘भाइ ! तिमी कस्तो मान्छे हौ ? कुन धर्म, कुन जातिका हौ ? यहाँ आफ्नो समूहमा आऊ । यसरी युवा भएर पछि पर्नुहुँदैन’ भन्दै विभिन्न धर्मका प्रचारक र विभिन्न जात–जातिका व्यक्तिहरूले सम्झाउन थाले । तर उसले केही जवाफ दिएन । ऊ यसरी चुप लागेको देखेर एक जना जातित्वको नेतालाई रिस उठेछ क्यारे उसले ठाडै सोध्यो, ‘ए भाइ ! तिम्रो नाम, जात, धर्म के हो ? कुनै पनि सङ्गठनमा आवद्ध छैनौ ? के रमिता हेरी बसेको वाल्ल परेर लाटोले झैँ ।’
त्यो केटाले कुनै प्रतिक्रिया दिएन । बरु आफ्नै खल्तीबाट डटपेन र सानो डायरी झिकेर खुरुखुरु लेख्न थाल्यो । मलाईचाहिँ सकसक लाग्यो । जति बोलाउँदा पनि नबोल्ने त्यो मान्छेले के लेख्यो होला ? अनि ऊ को होला ? भनेर । खासगरी मेरो ध्यान कार्यक्रममा भन्दा त्यही केटामा गएको थियो । त्यसैले घरिघरि म उसलाई हेर्न थाल्थेँ । अरू मान्छेहरू कार्यक्रममा व्यस्त थिए । लेखिसकेपछि त्यो केटाले हामीतिर हे¥यो । मैले पनि उसतिर हेरेको हुनाले इसाराले ऊ भएको ठाउँमा मलाई आउन आग्रह ग¥यो । उसले केही भन्न खोजेको जस्तो लाग्यो । त्यसैले म ऊभएतिर गएँ । उसले मलाई लेखेको पान्ना दियो र ‘मैले यो के हो ?’ भनेर सोधेँ । उसले बोल्दै नबोली सानो चिटमा केही लेख्यो ।
‘यो पान्नामा लेखेको कुरा पढेर सबै जनालाई सुनाउनू । मेरो सबै जवाफ यहीँ छ’ यस्तो लेखेको चिट मलाई दिँदै ऊ सरासर उकालो डाँडा कटेर गयो । म आश्चर्यमा परेँ यो मान्छेले यस्तो के गरेको होला भनेर । अरूले पनि ऊ गएको देखे । अनि कत्तिले मलाई मेरो हातमा भएको पान्ना देखेर ‘त्यो के हो ?’ भनेर सोधे । मैले पनि सबैको ध्यानाकर्षण गराउँदै उसले भनेझैँ त्यो पान्नामा लेखेको कुरा पढ्न थालेँ ।
‘तपाईँहरू सबै जनालाई मेरो नमस्कार ! अघि तपाईँहरूले सोधेको प्रश्नको उत्तर दिँदैछु । मेरो नाम माने हो, मेरो जात मानव, मेरो धर्म प्राणी धर्म, मेरो कर्म सेवा हो । हो साँच्चै म लाटो हुँ । केही वर्ष पहिला द्वन्द्व कालमा राजनीतिक पार्टी र सरकारको भिडन्तमा थापिएको एम्बुसमा पर्दा मैले सदाको लागि आवाज गुमाएको हुँ । ज्यान बचे पनि मेरो आवाज बचेन । तर म सुन्न सक्छु, बोल्न सक्दिनँ । नबोलेपछि नबोल्नेलाई तपाईँहरू सबै जनाले सम्बोधन गर्ने शब्द लाटो नै त हो । अनि त्यो बेलादेखि सबैको मप्रतिको व्यवहारले मलाई विक्षिप्त बनायो । कसैले सुराकी भनेर दुवै पक्षलाई पोल लगाएर होला राज्य र राजनीतिक पार्टी दुवै पक्षले मलाई आ–आफ्नो दुस्मन ठान्थे । त्यसै कारण मैले लुकी–लुकी ज्यान बचाउनुपथ्र्यो । तर म जहाँ जसरी भए पनि आफ्नो देशको लागि केही गर्न चाहन्थे । मैले यस माप्रा डाँडामा सबैले भोगेको दुःख देखेँ । त्यसैले मैले दुवै पक्षबाट लुकेर राति–राति भए पनि यस माप्रा डाँडामा आफ्नो पसिना बगाएँ । अहिले सबैले यसबाट सहयोग पाउँदा मलाई आनन्द मिल्छ । ऊ हेर्नुस् त चौतारीमा कुकुर, बिरालो कसरी सियाल तापेर सुतेका छन् ! अनि रूखमा पनि चराहरूले गुँड लगाएका छन् । तपाईँहरू पनि यस चौतारीमा बस्नुभएको छ । आज यसरी पशुपक्षी, मान्छे सबैलाई यो चौतारी हित भएको छ । ऊ त्यो छोपेको कुवाको पानी मान्छेहरूले खान्छन् भने खुल्ला कुवाको पानी पशुपक्षीले खान्छन् । त्यसैमा सबै प्राणीलाई सहयोग भएको छ । त्यसैले मेरो धर्म प्राणी धर्म हो । अनि म दलित, जनजाति, ब्राह्मण, क्षेत्री, मुसलमान सबैलाई मान्छे मान्छु, कोही कसैलाई भेदभाव गर्न रुचाउँदिनँ । त्यसैले मेरो जात मानव हो । तपाईँहरूको जातिको नाम त एउटा समुदाय हो र त्यो समुदायलाई राम्रो विकास गर्नलाई आफ्नो पहिचान बनाउनलाई हो । कोही ठूलो जाति, कोही सानो जाति बन्नलाई हो जस्तो लाग्दैन । मलाई लाग्थ्यो अपाङ्ग, सपाङ्ग, जात, धर्म, पार्टी, समूह, लिङ्ग, वर्णजस्ता परिचयले मान्छेमा विभेदीकरण ल्याउँछ । त्यसैले मलाई आशा थियो कि जनताको आन्दोलन सफल भएपछि एउटा सिङ्गो देश बन्ने छ, देशमा एकता हुने छ । तर आज तपाईँहरू धर्म, जाति, समुदाय, क्षेत्र भनेर आफू–आफूमा लड्दै हुनुहुन्छ त्यो गलत हो । हेर्नु त म एक्लैले राति–राति यस्तो सानो कर्म गर्दा आज तपाईँहरू सबैलाई यो छहारी मिलेको छ भने हामी सबै मिलेर गर्दा त हाम्रो गाउँ, सहर, देश कस्तो हुन्थ्यो होला ? आफ्नो गाउँ ठाउँ सबै मिलेर बनाउने पो हो न कि विभाजन गर्ने ! त्यसैले आजको आवश्यकता भनेको त हामी सबै वर्ग एकजुट हुनु हो र देशमा विकास गर्नु हो । हामीसँग क्षमता छ बुद्धि छ हामी सक्षम र शिक्षित छौँ । दिनानुदिन नयाँ प्रविधिको विकास आउँदैछ । मात्र हामी सबैले योजना बनाएर काम गर्नु बाँकी छ । तर हामी त विकसित हुनु कहाँ ! झन्–झन् छुटिँदै, टुक्रिँदै तेरो–मेरो गर्दै मासिँदै पो छौँ, कमजोर हुँदै पो छौँ । त्यसैले तपाईँहरूको धर्म र जात एउटा संस्कृति र संस्कार मात्रै हो । त्योभन्दा ठूलो नै प्राणी धर्म र मानव जाति हुनु हो । सबैको रक्षा गर्न सक्नु र सबैलाई सम्मान दिन सक्नु नै मान्छेको धर्म हो । मान्छे आफैँ उद्यमी र विवेकशील बन्नुपर्छ । आफ्नो देशलाई कुनै पार्टी, धर्म, जाति, क्षेत्रको नाममा विखण्डन हुनबाट बचाउनुहोस् । अब हामी कसैले देशको भागबण्डा लाउने होइन । सबै जना मिलेर देशलाई बलियो र मजबुत पार्न राम्रो मापदण्डसहितको संविधान पो बनाउनुपर्छ । तपाईँहरू सबैको भलो होस् ।’ –माने
मानेले लेखेको यस्तो कुरा सुनेर सबै जना छक्क परे । मानेले नै माप्रा डाँडामा चौतारी बनाएको थाहा पाएर गाउँलेहरूले मानेको गुणगान गाउन थाले । म पनि भित्रैदेखि खुसीले गदगद भएँ । ‘साँच्चै हो त मानेले भनेको कुरा । हाम्रो धर्म त प्राणी धर्म पो हो र जात पनि मानव हो । धन्यवाद माने तिमीलाई मैले तिम्रो कुरा बुझेँ’ मैले मनमनै मानेलाई धन्यवाद दिएँ । त्यसपछि अकस्मात् मैले ‘माप्रा डाँडाको नाम अबदेखि माने डाँडा’ भनेर चिच्च्याएँ । सबै गाउँलेहरूले पनि माने डाँडा भनेर डाँडा भनेर नारा लगाए ।
काठमाडौं ।