– विद्या सापकोटा

जव बिउझिन्थ्यो फुच्चे घाम

उघ्रन्थे उस्तै आँखा

आउथे टहलिन,

भीर, पाखा, कन्दरा हुदैं

वनफूलहरुका सुकोमल मुस्कान ।।

 

मच्चिदै झोलुङ्गोबाट

गर्थे सघर्ष, मसिना हातहरु

टिपु, संगालु फूलहरु

ल–ल–ल , स–स–स

………………….

सुसेल्थे कुन्नी के के, उमङ्गित ओठहरु ।।

 

त्यस्तैमा,

बिग्रन्थ्यो हजुरआमाको मुखाकृति

जस्तो कि,

त्यही कतै हराएको हो आफन्त

लुटिएको हो सपना

पुछिएको हो सिउदोंको सिन्दुर

वा

खोसिएको हो काखको सन्तान ।।

 

म नबुझेरै,

हल्लाइरहन्थे झोलुङ्गो्

नटेरेरै,

समात्न खोज्थे चम्किला बिम्बहरु

के पो हुन्थ्यो आमालाई (?)

बन्द गरिदिनुहुन्थ्यो जिज्ञासु नयन

नबोलेरै,

मानौं चिच्याउनुहुन्थ्यो

–’त्यो कुना/यो देशको खोच–खोच

हाम्रा आफ्नाहरुको

तातो चिहान हो’ ,

–’ती फूलहरु /ती चरीका गीतहरु

मात्र समाधीका यात्री हुन् ’ ।।

 

अवाक्क हुन्थे म

अवाक्क नै छु ,

त्रस्त थिएँ

त्रस्त नै छु

नझुण्डियुन् कतै

कोमल मनका लहराहरुमा

उही त्रासद कहानी/गृहयुद्धको अत्यास ।।

 

त्यसैले त,

रोप्दैछु/रोपौं भनिरहेछु /रोपिरहेकै छु

विश्वासका बिरुवा

ताकी

बदलिइने छ, दृश्यको रुपाकृती

कुदिनेछ,मान्छेका नमर्ने यादहरु

त्यहीबाट उदाउने छ घाम

उदाउने छ जून

उज्यालिने छ  आमाको मुहार,

हो

त्यही उज्यालोमा

देख्नेछन् साना नानीहरुले मुसुक्क आफ्नो देश ।।

 

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *