चारै तिर तीजको रमझम, हरेक घर परिवारमा भएका दैनिक समस्याहरुलाई एउटा कुनामा थन्क्याएर सबै तीजकै तयारीमा लागि परेका छन् । गीत, गजलमा तीज ! रेडियो, टेलिविजन मा तीज ! जताततै तीजको लहर छाएको छ ।

आज त म पनि साथीहरुसंग किनमेल गर्न जाने योजना बनाएकी थिएँ, उफ ! कसो बिर्सिएन छु । छिटो छिटो तयार भएर लागे साथीको घरतिर ! साथीको घरको गेट सम्म के पुग्दै थिएँ कति खुशी भए सबै निस्कदै गरेको देखेर ! सबै भएर लाग्यौ महेन्द्र पुलतिर ।

“सुजाता ! तिमी सारी किन्ने कि कुर्ता ?“

“सारी !” मैले !

छोटो जवाफ दिएँ !

“कुन रंगको किन्ने ?“ फेरि प्रश्न गरी कमलाले ।

उत्तर दिन छोडेर उल्टै प्रश्न गरिदिएँ मैले, “तिमी कुन रंगको किन्ने ?“

“रातो किन्ने नि“ छोटो जवाफ दिई कमलाले ।

“ल ल रातो सारी आफ्नो लागि र रातो कमिज लोग्नेको लागि लिनु पर्छ ल सबैले हा ! हा !! हा !!!” हाँस्दै बोलिन् तारा ।

“ल, ल, छिटो छिटो शपिंग गरेर फर्किनु पर्छ फेरि भोलिसम्म सारी ब्लाउज तयार हुदैन ।

दाजु लिन आउछु भनेर फोन गरी सक्नु भयो मेरो त ! भोलि साँझ लाग्नुपर्छ मेरो प्यारो माइतीघरमा ! “कमला बोलिन् ।”

यस्तै हाँसो ठट्टा गर्दै किनमेल गर्यौ, सारी, पोते, चुरा सबै/सबै सोह्र शृंगारका सामानहरु | महेन्द्र पुल देखि पृथ्वी चोकसम्मै पो पुग्यौ त राम्रो सारीको खोजीमा ।

शपिंग सकेर फर्क्यौ आ-आफ्नो घरमा | घरको ढोका खोलेर भित्र मात्र के पसेकी थिएँ ? बुहारीले मेरो हातको सारी भा’को झोला खोसेर भनिन्, “दिदी ! तीजमा सबै रातो सारी लगाउँछन्, हजुर त के सेतो सारी किनेर ल्याउनु भएको ?“

“विचरी ! के गरोस् त बत्तीस वर्ष नाग्दा पनि सिउँदो भर्ने एउटा पनि लोग्ने मान्छे नभेटे पछि !“ मेरो जेठा भाइको श्रीमती बोलिन् ।

“किन यस्तो सारी किनेर नभ’को पैसा पनि सक्नु परेको होला ? कहिले आउला यसको बुद्दी ?” आमा पनि भान्सा घरबाट निस्केर बैठक कक्षमा आउदै बोल्नु भयो ।

“हजुरको लागि के तीज ? के तिहार ? जहिल्यै माइतमा नै त बस्नुहुन्छ ! यस्तो सारी लगाएर अरुको तीज पनि खराब नपारी दिनुस् | कान्छी दिदी आउनुहुन्छ भोलि वहाँको नानी बाबु अनि हाम्रो नानी बाबूहरु हेरेर घरमै सेको राम्रो हजुर त ! “कान्छा भाइको श्रीमती बोलिन् मेरो सारी भुइमा फ्याकी दिंदै |

“जहिले, जुन चाडपर्व आए पनि यहि त काम गरेकी छु मैले, भाइको, बहिनीको छोरा/छोरी हेर बस घरमै ! यसपालीको तीज त म पनि मेरो साथीहरुसंग मनाउने छु, हाँसेर, नाँचेर, रमाइलो गरेर ! “ रुन्चे काँपेको स्वरमा भनें मैले ।

“ हाँस्न, रमाइलो गर्न त भाग्यमा पनि लेखेको हुनु पर्यो’नि दिदी ? के अनि कुन खुशीमा हाँस्नु हुन्छ हजुर ? न घर ? न लोग्ने ? न बाल/बच्चा ? कसरी रमाउँन सक्नुहुन्छ ? “बोलिन् फेरि जेठा भाइको श्रीमती ।

यिनीहरु त मात्र मौका खोज्छन् मलाई दश थरि कुरा सुनाउनालाई | यहाँ भन्दा बढी कुरा सुन्न सक्ने क्षमता छैन मसँग | मेरो सारी उठाएर लागें म चुपचाप मेरो कोठामा | आजको मान्छेहरु सबै शिक्षित छन् तर शिष्टाचार छदै छैन | बुहारीहरु भित्रीए पछि त मेरो जीवन यो घरलाई मात्र होइन म आफैलाई पनि धेरै बोझ लाग्न थाली सकेको आभास पो हुन्छ म स्वयम्लाई | कतिन्जेल आशाको त्यान्द्रोमा जिन्दगीलाई झुन्ड्याउनु ? अनि कहिले सम्म बाटो हेर्नु ? आफ्नो मनलाई झुटो सान्त्वना दिदै कि कोही अवश्य आउनेछ डोली अनि जन्ती लिएर मलाई पनि बेहुली बनाइ लैजाने छ त्यस पछि म पनि सम्मानित हुनेछु आफ्नाहरुको

नजरमा | यसरी हरेक बिहान , दिन , साँझ अपमानित हुनु पर्ने छैन मैले पनि कसैबाट । न मेरो भाइहरु बाट ? न बुहारीहरु बाट ? तर खै आज सम्म कोही आएन, मेरो हात थाम्नलाई । मेरो हात माग्नलाई । मेरो सिउँदो भर्नलाई । यी सब कुरा भाग्यमै निर्भर गर्ने नै भए पनि मैले कसको के नै बिगारी दिएंकी थिएँ र जो मसंग यति अन्याय गर्यौ विधाता ? खै तिम्रो विधानमा सबैको लागि समानता ? कति दिन रुनु ? कहिलेसम्म प्रतिक्षा गर्नु ? कहिले सम्म यस्तो दुर्भाग्यलाई झेलेर बाँच्नु ?

मनभरी कुरा खेलाउदा खेलाउदै कति बेला निदाएछु थाहै भएन ! आँखा खोल्दा बिहान भै सकेको रहेछ | नित्यकर्म सकी खाना बनाउनमा व्यस्त भएँ ! खाना खाइसकेर बुहारीहरु माइत जाने तयारीमा लागे र म घर सफाइमा | काम सकेर म कपडा धुन तिर लागें | मेरै आँखा सामुबाट बुहारीहरु माइत लागे तर मलाई गएँ सम्म पनि भन्न आवश्यक सम्झेनन् |

यो घरको लागि म केवल बोझ रहेछु भन्ने कुरा राम्ररी बुझाउदै छन् यी घरका मान्छेहरु | मन अमिलो भयो तर कुनै प्रतिक्रिया जनाइन, कपडा धुनुलाई नै निरन्तरता दिएँ |

साँझपख भाइ पनि बहिनीलाई लिएर आइन् ! धेरै महिनापछि बहिनीलाई देख्दा धेरै खुशी भएँ | आमाले यस्तो/यस्तो खाना बनाउनु भनेर निर्देशन् दिनु भयो र मैले पनि खुशी खुशी तयार गरें । आमाले आफ्नै हातले खानाको टेबल सजाउनु भयो | बहिनीको लागि भात, मासु, खीर, दुध, दही, घ्यु राख्नु भयो ! खाना खानलाई म पनि के बस्न खोजेको थिएँ, “हामीलाई केहि थप्नु पर्यो भने कसले थप्ने ? तिमी पछि खाँदा पनि भै हाल्छ नि, बहिनी कति महिनामा माइत आउदै छिन्, राम्रो सेवा गर्नु परेन र तीजमा त्यो पनि ?“ आमाले बस्नु पहिल्यै बोलिहाल्नु भयो |

“हजुर त सधै यहीं, हजुरको लागि त हरेक दिन तीज जस्तै त होला नि दिदी ! हामीले जस्तो सासुको अधिनमा कहाँ बस्नु पर्छ र हजुरले ?“ बहिनी बोलिन् |

किन किन ? आमा र बहिनीले पनि यस्तो व्यवहार गर्दा अति मन दुख्यो मलाई । आफुलाई नियन्त्रण गर्न खोजे तर असफल भएँ ! क्रोध र रोदन मिश्रित आवाजमा भनें, “हो नि कान्छी तिमीले ठिक भन्यौ, न मेरो म माथी हुकुम चलाउने सासु हुनुहुन्छ ? न माया गर्ने आमा हुनुहुन्छ ?“

“हेर, हेर कस्ती अलक्षिनी छोरी जन्माएछु, यो उमेर सम्म माइतैमा बसेकी छे, लाज शर्म केहि छैन, झन् अहिले त आमा पनि छैन पो भन्छे ! म तेरो आमा होइन भने किन मेरो घरमा बसेकी तँ खुरुक्क निस्केर गै हाल्न, तैले घर छोडेर गए पनि तँलाई खोज्न आउने कोही छैन, तँ गइस् भनेर रुने कोही छैन !“ आमा झर्किदै बोल्नु भयो |

सहँदा सहँदै शायद आज मेरो सारा सहने शक्ति नै सिद्दिएको थियो क्यारे ! त्यसैले मैले नचाहेरै पनि झगडा गरें बोले फेरि, “यदि हजुर आमा हुनुहुन्थ्यो भने आफ्नो प्रत्येक सन्तान सँग समान व्यवहार गर्नुहुन्थ्यो ! यसरी कसैलाई काखा कसैलाई पाखा गर्नु हुने थिएन ! मैले केहि बोल्न साथ हजुरहरु सबै घरबाट निस्केर जाउ भनी हाल्नु हुन्छ, आज त म यो घर छोडेर जान्छु अहिले नै । कति अपमान सहनु ? कति तिरस्कार सहनु ? कति रुनु ? म सँग अब यीसब सहेर बस्ने शक्ति छैन ।“

यति भनेर म आफ्नो कोठामा गएँ | खै आजसम्म सयौ बात र आफ्नाहरुको बातरुपी लात सहेर बसेको मलाई यति विघ्न किन दुख्यो ? म आफैलाई थाह छैन । मेरो भाग्यले किन यसरी मलाई ठग्यो ? किन यति धेरै अपहेलना सहेर जिउन बाध्य गरायो ? किन भावीले मेरै भाग्य लेख्दा यति धेरै अन्याय गर्यो आफ्नो रहर, आफ्नो सपना पूर्ण गर्नको लागि म कसै सामु झुकेर, कसै सामु भिक मागेर डोली र जन्ती लिएर मलाई लिन आउनु भनेर कहाँ भन्न सक्छु र ? न कुनै परी, जादुगर्नीले जस्तै आफ्नो अलौकिक शक्तिको प्रयोग द्वारा मलाई लैजानको लागि डोली र जन्ती मगाउन नै सक्छु ? यी सब कुरा मेरो हातमा छैन तर एक्लै जिउने हिम्मत गरेर यो उपहास, यो अपहेलनाबाट टाढा त जान सक्छु । यहि निर्णय गरेर म आफ्नो केहि लुगाफाटा झोलामा हाली हिंडे सदाको लागी घर छोडेर । मलाई रोक्न न आमा आउनु भयो न बाबा ! न भाइ न बहिनी ? रातको दश बजिसकेको थियो घडी हेर्दा । बाटो वरपरको घरको बार्दलीमा बलेको लाइटको प्रकाशले बाटो अलिकति उज्यालो देखिन्थ्यो ! अमरसिंग भित्रको मेरो घर छोडेर म अमरसिंग चोकमा आइपुगे ! केहि क्षण रोडमा उभिएर खै के सोंचे ? कहाँ जाउँ अब म ? गन्तव्य विहिन थिएँ ।

…………..

अचानक “काठमाण्डौ ! काठमाण्डौ !!!“ भन्दै बस मेरो नजिक आइ रोकियो र म बसमा चढें ! बस तीव्र गतिमा गुड्दै थियो र म सोंच्दै थिएँ, आफ्नै मनसंग वार्तालाप गर्दै थिएँ, “सबै चेलीहरु कति खुशी हुदै, रमाउदै माइत आउछन् ! तीज मनाउँछन् तर म यो संसारकै एक अभागी चेली होला जसले आफ्नै माइती घरबाट बाध्य भइ निस्किएर यसरी तीज मनाउदै छे । अभागीको तीज यसरी नै मनाइन्छ होला । घर नभए पछि माइत पनि नहुदो रहेछ भन्ने कुरा आज राम्ररी बुझे मैले ।।

-सजना गुरुङ्ग

कुश्मा, पर्वत ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *