घरि कता घरि कता गरी नयाँ–नयाँ ठाउँमा पुगेर विभिन्न घटनालाई फोटोमा कैद गर्ने मेरो दैनिकी नै थियो । पेसाले फोटो पत्रकारितामा संलग्न भएको पनि झण्डै एक–दशक भइसकेको थियो । बिहानको खाना खाएर घरबाट निस्केपछि दिनभरि मेरो फिल्डमा समय बित्थ्यो । दैनिक विभिन्न घटनाको दृश्य क्यामेरामा कैद गरेर कार्यालयमा पु¥याएपछि त्यो फोटोले समाचारको स्वरूप लिन्थ्यो । कति दुःखद कति सुखद घटनाले आम जनतालाई सुसूचित गराउने गथ्र्यो । त्यो दिन सहरको नजिकै रहेको ध्रुवतारा बोर्डिङ्ग स्कुलको बाटोबाट दैनिक कार्य सकेर म घर फर्किदै थिए । स्कुलको पालेले मेरो अगाडि एउटा फुच्चेलाई लखेट्दै थियो ‘अम्बा चोर तँलाई पख…’ भन्दै । कम्पाउण्डभित्र ठुलो अम्बाको रूख थियो । त्यो फुच्चेलाई अरू दिनमा पनि यस्तै गाली गर्ने र पिटेर रुवाउँदै लखेटेको त देखेको थिएँ । मलाई पनि चाँढै पुग्नुपर्ने भएकोले खासै ध्यान गएको थिएन । बिहानदेखि साँझ घर नपुगेसम्म बाटोभरि विभिन्न नौटङ्की घट्ना देखिइ नै रहन्थे । त्यसैले मैले पनि चाहेको जति मात्र फोटो कैद गर्ने गर्थे । तर मलाई त्यो दिन फुच्चेलाई पालेले लखेटेको फोटो खिच्न मन प¥यो । त्यो फुच्चेको कसुर या बेकसुर के थियो त्यो मलाई थाहा थिएन । जे भए पनि उक्त दृश्य खिँच्न मैले क्यामेरा मिलाउँदै गर्दा उनीहरू धेरै पर कटेछन् । क्यामेराले फोटो कैद गर्न पाएन । भोलिपल्ट बिहान चिसो र जाडो बढेकोले न्यानो कपडा ओढेर जाँदै थिएँ । त्यो ठाउँमा पुग्दा हिजोको फुच्चेलाई फेरि देखेँ । पहिला जति देखे पनि खासै ध्यान जाँदैनथ्यो । तर हिजोको घटनाले भने मेरो ध्यान आज उसैमा खिँचियो र उसलाई प्रष्टसँग नियाल्न थालेँ । पुस महिनाको मुटु नै काम्ने जाडो थियो । तर उसको शरीरमा पातलो मैलो सर्ट र फाटेको हाफ कट्टु थियो । चिसोले होला गाला चिरैचिरा परेर फुस्रो देखिएको थियो । खाली खुट्टामा जाडोले थरर काँम्दै दाँत किटिटि बजाउँदै आवाज निकाल्दै जाँदै थियो । उताबाट आउँदै गरेकी एक जना महिलाले सोधिन्, ‘ए काले कता हिँडिस् ।’ ‘झिक्रा खोज्न ।’ उसले मन्द मुस्कुराउँदै सहज उत्तर दियो । उनी को हुन् ? र त्यो फुच्चेसँग उनको के नाता छ ? भनेर मैले ती महिलालाई सोध्न खोज्दै थिएँ त्यसैबेला महिलाले फुच्चेलाई भनिन्, ‘ए ! शीत त लपक्कै परेको छ । घाम लाग्दा खोज्नु नि शित ओभाएपछि । फेरि आगो बाल्न गाह्रो हुन्छ ।’ यति भन्दै उनी फटाफट गइन् । मैले उनलाई केही सोध्न सकिनँ । तर मलाई प्रष्टै भयो विचरा त्यो फुच्चे कुनै सुख चयनमा नबसेको बच्चा रहेछ । उसको दुखै दुःखको जिन्दगी रहेछ भनेर । हिजो साँझ पालेले लखेट्दै गरेको फोटो लिन नपाए पनि आज उसको यो रूपको फोटो खिँच्नुपर्ला भनेर मैले क्यामेरा झिकेँ । उसलाई बोलाउँ कि जस्तो पनि लाग्यो । तर फेरि सोचेँ पहिला नेचुरल फोटो नै लिन्छु अनि पछि कुरा गर्छु । क्यामेरा तयार गर्दै थिएँ, उसले कसरी देखिहालेछ । मैले क्लिक गर्न नपाई नै मलाई हेरेर मुसुक्क हाँसेर त्यस्तो जाडोमा पनि दुवै हात फैलाएर जोडले दगुरेर भाग्यो । अनि म यस पटक पनि फेल खाएँ । दुई दिनपछि साँझ म घर फर्किँदै थिएँ । त्यो फुच्चे प्लास्टिकको गोला बनाएर फुटवल खेल्दै थियो । अनि मैले पनि मौका यही हो भनेर फोटो खिँच्न तयार भएँ । यो पटक उसले मलाई देखेको थिएन । मैले क्यामेराको स्वीच दबाउन के आँटेको थिएँ ऊ त त्यो खेल छाडेर हाइजम्प गर्दै गयो । क्यामेरा क्लिक त भयो तर उसको फोटो पछाडिबाट मात्र खिँचियो त्यो पनि काटिएको । यसरी मैले उसको फोटो खिच्न धेरै दिन असफल भएँ । सबैले मलाई सफल फोटो पत्रकार भनेर चिन्ने गरेका थिएँ । त्यसैले म खुसी नै थिएँ । तर यो एक हप्तादेखि मेरो मनमा चैन मिलेको थिएन एक त त्यो फुच्चे बालकको फोटो खिँच्न असफल भएकोले र अर्को उसको दुःखद अवस्थाबारे बुझ्न मनमा अनेकौँ प्रश्न उठिरहेकोले । त्यसैले म आफूलाई प्रोफेश्नल फोटोग्राफर नभएको महसुस गर्दै थिएँ । भित्री मनमा कता–कता मलाई अन्तरप्रेरणा मिलिरहेको थियो कि म जसरी पनि त्यो फुच्चेको फोटो यो क्यामेरामा कैद गरेरै छाड्छु र उसलाई केही सहयोग गर्छु भनेर । म केही दिन आफ्नै कार्यमा व्यस्त भएँ । एक दिन म सदाझैँ स्कुलको बाटोबाट जाँदै थिएँ । धु्रवतारा बोर्डिङ्ग स्कुलका विद्यार्थीहरूले स्कुलमा प्रार्थना सभा गर्दै गरेको आवाज प्रष्ट सुनिइरहेको थियो । त्यहाँबाट आफ्नो कार्यक्षेत्रमा जान खोज्दा मेरो नजर कम्पाउण्ड बाहिरको फूलको झाङ्मा प¥यो । ढकमक्क फुलेको फूलको बार बाहिर गल्छीमा त्यो फुच्चे बालक स्कुलको प्राङ्गणमा प्रार्थना गरिरहेका विद्यार्थीको समूहलाई तन्की–तन्की नियाल्दै आफू पनि उनीहरूको नक्कल गर्दै थियो । म टक्क अडिएँ र बाटोमाथिको पलास फूलको रूखमा आड लिएर उसले नदेख्ने गरी उसलाई हेर्न थालेँ । उता विद्यार्थीहरूले सरस्वती वन्दना, राष्ट्रिय गान लय हालेर राम्रोसँग गाउन थाले । यताबाट फुच्चेले पनि कण्ठै गरेको जस्तै गरेर दुरुस्तै सरर गाउँदा म त छक्क परेँ । सायद उसले दिनदिनै यस्तै गरेको हुनुपर्छ । त्यसपछि विद्यार्थीले पिटी खेल्न सुरु गरे । फुच्चेले पनि विद्यार्थीले जस्तै गरी दुवै हात फैलाएर पिटी खेल्दै गर्दा मैले फोटो खिँच्न सफल भएँ । तर ऊ भने मेरो क्यामेराको झिलिक्क लाइट देखेर होला झसङ्ग झस्कियो र चारैतिर हेर्दै त्यहाँबाट दौडिएर भाग्यो । त्यो फुच्चे भागेको पालेले पनि देख्यो र उसलाई फेरि ‘अम्बा चोर’ भन्दै लखेट्न थाल्यो । तर म यस पटक खुसी थिएँ उसको फोटो राम्रोसँग खिँच्न पाएकोले । एकातिर स्कुलको प्राङ्गणमा राम्रो पोशाक लगाएर विद्यार्थीहरूले पिटी खेल्दै गरेको र अर्कोतिर एउटा फुच्चे बालक थोत्रो मैलो लुगा लगाएर खाली खुट्टामा विद्यार्थीहरूले जस्तो गरे त्यस्तै गरेर दुवै हात फैलाएको दृश्य क्यामेरामा कैद भएको थियो । अब मलाई त्यो फुच्चेको बारेमा अझ बुझ्न मन प¥यो । त्यो फुच्चे गएको दिशातिर जान थालेँ । हिँड्दै जाँदा मेरो नजर अस्ति फुच्चेसँग कुरा गर्ने ती महिलामाथि प¥यो । उनी त्यो फुच्चे गएको बाटोतिरै जाँदै थिइन् । म उनी गएतिरै लम्किएँ । ‘हेलो दिदी !’ मैले उनलाई रोकिन आग्रह गर्दै केही ठूलो आवाजमा भने । उनी झट्ट मतिर फर्किइन् । ‘एउटा कुरा सोध्नुथियो तपाईँसँग’ मैले आफ्नो जिज्ञासा समाधान गर्नको लागि कुरा गरेँ । ‘मसँग ! के कुरा ?’ उनले छक्क पर्दै सोधिन् । ‘एकछिन है’ मैले आफ्नो क्यामेरा निकालेर त्यो फुच्चेको फोटो देखाउँदै सोधेँ, ‘यो बच्चा को हो ? तपाईँले चिन्नुहुन्छ ?’ ‘ए यो त काले हो । सुकुम्बासी टोलमै बस्छ । तर विचरा…’ उनले बीचमै कुरा रोकिन् । मलाई झन् उसको बारेमा जान्ने जिज्ञासा भयो । ‘अस्ति तपाईँसँग कुरा गरेको देखेर मैले आज तपाईँसँग सोधेँ । स्कुलको बाटोतिर प्रायजसो देख्छु । तपाईँसँग उसको के नाता पर्छ ?’ मैले उनलाई सोधेँ । ‘उसको संसारमा कोही पनि छैनन् । उसको बुवालाई द्वन्द्व कालमा बेपत्ता पारिएको रहेछ । राजनीतिक आन्दोलन हुँदा खान लाउन पाइन्छ भनेर हुलमुलमा सहर आएको थियो । त्यो बेलादेखि सुकुम्बासी टोलनजिकैको पाटीमा बस्छ ।’ ‘अनि उसको आमा !’ मैले उसको परिवारको बारेमा थाहा पाउन प्रश्न गरेँ । ‘आमासहित घरका सबैलाई गाउँमा पहिरोले बगाएछ । ऊसँगै सहर आएको एक जना गाउँलेले भनेको’ उनले जवाफ दिइन् । ‘अनि के गर्छ त ऊ ?’ ‘हाम्रो सानोतिनो काम गरिदिएवापत हामीले खान दिन्छौँ । तर…’ ‘तर के ?’ ‘तर दिनभरि के गर्छ ? कहाँ जान्छ ? त्यो हामीलाई थाहा हुँदैन । एक दिन स्कुलको पालेले लखेटेको देखेको थिएँ । भुइँमा खसेको अम्बा खाँदा अम्बा चोर भनेर गाली गरेको कुरा गथ्र्यो । उसको मनमा के छ अझै थाहा छैन ।’ ‘अहिले कहाँ छ त ऊ ?’ ‘मेरो अगाडिबाट दगुर्दै घरतिर गएको छ ।’ ‘ल म पनि तपाईसँगै जान्छु । त्यो फुच्चेलाई मसँग भेटाइदिनसक्नुहुन्छ ?’ उनले ‘हस्’ भनिन् । हामी सुकुम्बासी टोलमा पुग्यौँ । त्यो फुच्चे पाटीबाहिर झिक्रामिक्रा जम्मा गरेर आगो बाल्न खोज्दै थियो । ‘ए काले अङ्कलले तिमीसँग भेट्न खोज्नुभएको छ’ उनले भनिन् । मलाई त्यहाँ देखेर ऊ केही डरायो । पछि मैले नजिकैको पसलबाट किनेर ल्याएको बिस्कुट दिएपछि केही खुसी भयो र लजाउँदै खान थाल्यो । ऊ बसेको पाटीमा हेरेँ भित्तामा कालैकालोले कोरिएको थियो । नजिकैबाट हेर्दा क, ख, ग, घ … लेखिएको थियो । त्यहाँ विद्यार्थीहरूले फालेका च्यातिएका किताबका पानाहरू पनि थिए । त्यो देखेर मलाई बुझ्न कठिन भएन कि यो बच्चाको मनमा पढ्ने इच्छा छ । ‘मैले तिमीलाई स्कुलतिर देखेको थिएँ नि’ मैले उतिर हेर्दै भने । यो सुनेर ऊ कालोनीलो भयो र त्यहाँबाट भागेर गयो । अनि मैले उसको मनभित्र लुकेको पढ्ने इच्छा र कुनै कारणवश उसको मनमा डर भएको कुरा थाहा पाएँ । त्यसपछि म पनि त्यहाँबाट कार्यालयतिर गएँ र बिहान खिँचेको फोटो पत्रिकामा बुझाएँ । बल्ल फुच्चेको फोटो भोलिपल्टको खबर पत्रिकामा छापियो । म आफ्नै दैनिक कार्यमा जान क्यामेरा भिरेर हिँड्न तयार हुँदै थिए त्यसैबेला मलाई पत्रिकाको सम्पादकज्यूले फोन गर्नुभयो । ‘बधाइ छ तपाईँलाई, तपाईँजस्तो समाजसेवी ख्याति प्राप्त फोटोग्राफरले खिँचेको फोटोले जहिले पनि समाजमा केही न केही सेवा दिइरहेको छ । तपाईँले खिच्नुभएको फोटोले धेरैको जीवनमा, समाजमा सुधार गराएको छ ।’ यस्तै कुरा गरेर सम्पादकज्यूले मेरो तारीफ गर्नुभयो । मैले सोधेँ, ‘हैन सम्पादकज्यू, त्यस्तो के भयो र ? अनि मैले त्यस्तो के नै गरेँ र ? जे गरिरहेको छु त्यो त मेरो कर्तव्य नै हो नि ।’ सम्पादकज्यूले आजको फोटोको प्रतिक्रिया सुनाउँदै भन्नुभयो, ‘तपाईँले आफ्नो कर्तव्यलाई राम्रोसँग निभाउनुभएको छ । आजको फोटो समाचारले पनि हाम्रो पत्रिका त्यत्तिकै उत्कृष्ट भएको छ । तपाईँले जुन बालकको फोटो राख्नुभयो त्यसकै प्रभावले धेरै ठाउँबाट फोन आयो त्यो बालकलाई सहयोग गर्ने भनेर । अनि घु्रवतारा बोर्डिङ स्कुलका प्रधानाध्यापकज्यूले तपाईँलाई आज बोलाउनुभएको छ । चाँडै जानुस् उक्त बालककै बारेमा कुरा गर्नलाई ।’ सम्पादकज्यूले भन्नुभएपछि म धु्रवतारा स्कुलमा गएँ । गेटपालेलाई सोधेर सरासर प्रधानाध्यापकको कक्षमा गएँ । टेवलमा हाम्रो पत्रिका थियो । मलाई स्वागत गर्दै प्रधानाध्यापकले भन्नुभयो, ‘तपाईँहरूलाई धन्यवाद । बधाई छ, धेरै राम्रो काम गर्नुभएछ । हामीलाई त कहिल्यै थाहा भएन आफ्नै प्राङ्गणबाहिर एउटा अवोध र दुःखी बालकले पढ्ने चाहना गरेको र उसको अन्तरमनले बालअधिकार खोजेको कुरा । आज बिहान बसेको हाम्रो बैठकमा हामी सबै शिक्षक शिक्षिकाले त्यो बालकलाई यसै स्कुलमा निःशुल्क पढाउने निर्णय ग¥र्यौँ । त्यो बालकलाई पालेले अम्बा चोर ठानेर सधैँ लखट्ने रहेछ । तर एक जना शिक्षकले त्यो चोर होइन । त्यत्रो बच्चाले कम्पाउण्डभित्रको अम्बा कसरी चोर्छ । बाहिर झरेको अम्बा टिपेर खाएको कुरा आफैँले देखेको बताउनुभएपछि सबैलाई त्यो बालक अम्बा चोर नभएको कुरा थाहा भयो ।’ प्रधानाध्यापकसँगको छलफलपछि हाम्रो प्रयास र स्कुलको सहयोगमा फुच्चेले पढ्न पाउने पक्का भयो र फुच्चेको निकट छिमेकी ती महिला दिदीको मद्दतले फुच्चेलाई स्कुलमा ल्याइयो । सुरुमा ऊ डराएको थियो । तर पछि शिक्षक शिक्षिकाबाट माया पाएपछि ऊ फुरुड्ड भयो । बिस्तारै उसले आफ्नो साथीको किताबतिर हे¥यो । उसले किताब समातेको बेला मैले क्यामेरा निकालेँ । ऊ मुसुक्क लजाएर हाँस्यो । मैले फोटो खिचिक्क खिँचे । अनि म उसको समाचार र फोटो लिएर अफिस गएँ । भोलिपल्ट पत्रिकामा उसको फोटो छापियो । फोटोमुनि लेखिएको थियो, ‘अब मैले पनि पढ्न पाएँ नि ।’ आज उसको अन्तरप्रेरणा र मेरो अन्तरप्रेरणाले साकार रूप लिएको थियो ।
हाल : काठमाण्डौ