लघुकथा :धर्मले खोसेको श्रृङ्गार
जमुना पौड्याल
पुनिता तेइस/चौबिस वर्ष जतिकी देखिन्थी ।मिलेको शरीर ,सुन्दर अनुहार,लोभलाग्दो जवानी तर निरस देखिन्थ्यो यौवन । ऊ हतार हतार आफ्नो समुहमा बसेर पैसा मिलाउन थाली।म एकोहोरो उसलाई हेरिरहेँ ।
“कठैवरा ! एकल महिला रहिछे ,यो खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमा दैव पनि कति निष्ठुरी !” मेरो मनले सोच्यो।उसको विरुप देखेर मलाई दिक्क लागेर आयो ।
मैले उसको अनुहारमा हेरिरहँदा ऊ मलाई हेरेर खिस्स हाँसी ।यहीँ मौका छोपेर मैले सोधे “के छ बहिनी खबर,किन आफूलाई यस्तो हालतको बनाएकी ?”
ऊ अकमक्क परेर कुरा नबुझे झै गरी अरु साथीहरूको अनुहार हेर्न थाली ।त्यसै बेला एउटीले भनी ,”हजुर झुक्किनु भयो म्याम ऊ हजुरले सोचेको होइन ।ऊ त क्रिश्चियन हो नि !यो धर्म लिनेहरू यस्तै विरुपका हुन्छन्।”
बल्ल उसले कुरा बुझिछ अनि हाँस्दै भनी,”यो धर्म यस्तै हो म्याम आफूले चाहेजस्तो नहुने रहेछ,पैसाको लागि जे पनि गर्नु पर्ने हामी गरिबले ।”
source:लघुकथा कुनो