“ओहो! नानी को त अझै चार,पाँच बर्ष बिहे को जोग नै छैन।
कथंकदाचित बिहे भैहाल्यो भने पनि माइती लाई पिर्ने,खलकै मासिने ग्रह दशा लागेको छ।” म चिया लिएर पुग्दा मेरा श्रीमान आफ्ना यजमान लाई सम्झाउँदै थिए।
“हो र गुरु? झन राम्रो कुल खानदान बाट कुरो आएको थियो। अन्माएर दिनुपर्ने जात दिइहालम भनेको आपत पो पर्यो त।यसो ग्रह शान्ती गर्ने उपाय होलानी “। यजमान न्याउरो मुख लिएर आशा लाग्दो प्रश्न सोध्दै थिए।
“नानी को ग्रह दशा ले जे देखायो त्यही भन्ने त हो नि मैले। अब भाग्य मा लेख्या चिज मैले मेटाइदिएर नहुने। बरु अब चार पाँच बर्ष पछि नानी को सरकारी जागिरे हुने जोग देखा परेको छ। अझ मनग्य कमाइ ले माइती लाई पनि सघाउने पो देखाउँछ ज्योतिष शास्त्र ले त।बिहे गरिदिने हो भने त भाग्य पनि बिग्रने,माइती पनि मासिने संभावना बलियो छ”।
यजमान कालो निलो मुख बनाएर बिदा भए।
“त्यस्तरी मान्छे को सातो फुक्ने गरि पनि ग्रह दशा हेराउने हो त।भएका तीन छोरा पनि मासिन्छन भन्दिएसी मान्छे हाड्फिल हुँदैन? यसो मिलाएर पो भन्नू पर्छ।”यजमान जाने बित्तिकै मैले श्रीमान लाई हप्काएँ।
“तँ यस्तो कुरो बुझ्दिनस ठुली। कहिले कसो सातो पनि फुक्नुपर्छ। झुटो पनि बोल्नुपर्छ। जानी जानी त्यो १६ बर्ष को बालखी लाई बिहे गर्न हुन्छ भनेर कसरी अर्ति लाइदिनु। बिहेवारी बीस बर्ष पारी भन्ने त तँलाई थाहै होलानी”।