लघुकथा: परलोक
अवतार ढकाल ।
`दिब्यज्ञान महायज्ञ´ लेखिएको ठूलो ब्यानर टाँगिएको । धेरै टाढासम्म पुराण वाचन र भजन किर्तन सुनिने ब्यबस्था मिलाइएका स्पिकरहरू । मन्चको अवर्णित भब्यता । बिचको अग्लो आसनमा बिराजमान पुराण वाचक । युवा भन्न सुहाउने वयस्क पण्डित । दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू आउँथे । फर्कन्थे । आउने जानेहरूको बाक्लो भीड लाग्थ्यो ।
विशिष्ट ब्यक्तित्वहरूका लागि मन्चमै सत्ता, शक्ति र पैसाको आधारमा पण्डितको दायाँबायाँ लस्करै बस्ने ब्यबस्था मिलाइएको थियो । गलामा पुष्पमाला लगाएका विशिष्ट भक्तजनहरु । श्रोतागण बस्ने ठाउँको अगाडिको दुई लहरमा पनि मर्यादा क्रम तोकिएको थियो बस्नका लागि ।
महायज्ञको रमिता हेर्न पल्लो गाउँबाट दलविर पनि आएको थियो साथीहरूसँग । उबेला राजनीतिक क्रान्तिमा होमिएको प्रशिक्षित क्रान्तिकारी थियो । परिवर्तन पछि कुनै राजनीतिक पद प्राप्त गर्ने योग्यता नपुगेको सामान्य किसान । परलोक, धर्म, इश्वर आदि भ्रम हो भन्नें कुरामा विश्वस्त थियो उ ।
`होइन , के अचम्म हो ? मन्चमा बस्नेदेखि श्रोतासम्म सबै क्रान्तिकारीहरू पो टनाटन छन त ?´ मन्च भरी आफ्ना राजनीतिक गुरुहरू देखेपछि उसले सङगैको साथीसँग भन्यो ।
उ जस्तै यज्ञस्थलको निरिक्षण गरिरहेको एकजनाले भन्यो, ` भुतपुर्व क्रान्तिकारी हुन । यो लोक सुधारिसके । अब परलोक …….।´
लघुकथा कुनो / Very Short Stories Corner