भाउजू शान्तीलाई सबैले हेपेजस्तो लाग्दथ्यो। जस्तै परिस्थितिमा पनि शान्त भइ धर्यताका साथ त्यसको सामना गर्ने उनको बानी थियो। उनी गफ र बोलेर भन्दा गरेर देखाउनेमा विस्वास् राख्थिन्। उनको जस्तो नाम उस्तै बानी थियो। त्यसैकारण ठुलदाजु सधै गनगन गरिरहन्थे। ” तरकारी पकाउन पनि नजान्ने! बोल्न पनि नजान्ने!! इष्टमित्रहरु सत्कारको ढङ्ग पनि छैन!! कस्तो घरमा हुर्किएको रैछ यो त!!फलानी फलानीहरु कति बाठीहरु छन्।” यी कुरा उनको दिनदिनैको कचकच थियो। गाउँका महिलाहरु पनि दिनदिनै एकपछि अर्को आएर उनलाई उक्साउनु उक्साउथे। “तँ त कति लाटी त्यही भएर हो पोइले देखि सहन्नन्। केही दिनको लागि माइतीघर भागिदे तब थाहा पाउँछ। अनि तेरो शरण पर्छ। तेरो पोइ त फलानीसँग लागेको छ। तँलाई भगाएर उसलाई लिने सूर गरेको छ। तँ लाटीलाई केही थाहा भए पो?”यी कुराहरु सुनाए पनि उनको बानी शान्त मनले सुनिदिने जवाफमा चुप! धेरैसाल पछि म गाउँ गएर दाजुभाउजूलाई भेटेँ। दाजु त बिचारा खङग्रङ्ग रोगले थलिएको बाहिर भित्र गर्न पनि भाउजूको सहारामा। तर भाउजू भने उस्ताको उस्तै टमटम शरिर खाइलाग्दी। दाजुकै उमेरका पल्लाघरे फुपु र सानदिदी दाजुलाई हेर्न आइपुगेका रहेछन्। सानदिदीले भनिन् यी भाउजू त कति सहनशील बैँसमा पाउनु दु:ख पाइन् । बोल्न नजान्ने लाटी भनेर दाजु लगायत कसैले पनि देखिसहँदैन थिए। नबोलेरै जितिन्। भदा भदेनीहरुलाई राम्रो शिक्षादिक्षा दिइन् र भनेजस्तो ठाउँमा जागिरे पनि भए उनीहरू अब यिनका दुखपछि सुखका दिन आए।” पल्लाघरे फुपूले थपिन्-” हो त उक्साउनेहरुको कुरा सुनेको भए परिवार लथालिङ्ग भएर कहाँ पुग्थ्यो। यसैलाई भनेको रैछ! फलेको हाँगो झुकिरहन्छ।”