अक्षरका बेर्ना उमार्ने कलमकिसानहरु!
यहाँ ब्याड्मै पानी सुकाइदिनेको कमीछैन,
तर अब भन्नै पर्छ
हेर!यहाँ उन्नत जातका बिउ रोपिँदैछन्
जो षाडयन्त्रिक अनाबृष्टीमापनि उम्रन छोड्नेछैनन्
यिनै मनखेतमा थालिएका नविन खेतीमा
हल्लैहल्लाको बिषादी छर्नेहरुको कमीछैन
तर अब भन्नै पर्छ
हे! परीश्रमी हातहरु!खनेर युगको खोपिल्टाहरु
रोप्न नछोड, रोप्दै गर रोप्दै गर
तीन महिना खाएर नौ महिना आयातमा भर पर्नेहरु
पैंचोको गन्ध डकार्दाहुन्
तर अब भन्नैपर्छ
अबको खेती उन्नत समुन्नत हुनुपर्छ
पैँचो तिरेर निर्यात गर्नुपर्छ
यो सर्बथा नौलो अनाज
बजारमा बिक्दैन भन्नेको कमी छैन
तर अब भन्नै पर्छ
डालो र ढाकरभरि
खर्पन र रुक्स्याकभरि
पोल्टा र खल्तीभरि
नाङ्ग्लो र मान्द्रोभरि
मन र भावनाभरी
इच्छा र सदभावभरि
बोकेर समयको बुइँचढि
घरघरको चूलामा पुगेपछी
किन चाखिन्नन् प्रयोगका अनाजहरु??!!
तर फल नलाग्दै
हाँगा लछारिदिनेको कमीछैन
अनी अब भन्नै पर्छ
मेहनती कलमकिसानहरु!!
रोप अक्षरका बिउहरु समयको सङ्घारैभरि
अबको स्वस्थ अक्षरी अनाजले
हाम्रो सन्तानको औषत आयु लम्ब्यानुपर्छ
तिनका चेतना हृष्टपुष्ट बनाउनुपर्छ
युगीन फल दिने अक्षरको मुल्य समयले तोक्नेछ ।।।।