– मनु लोहोरुङ
अभावको सुमेरु माथि
ऐंजेरु खर्कमा लेक लाग्दै
पूर्वी क्षितिजको घाम पर्खेर
हिमाली बैंशको अनुभूतिमा
रहरका बुकी फूलहरु टिप्दैछन्
आफ्नै हिरण्य यो भूमिमा !
जीवनका मुर्छनाहरुसंगै
हिलाम्मे यो गुर्दुमभित्र
मृनाल भएर बाँच्नुमा
मानव मन….जीवनहरु,
हिजो झैं निग्रही शैया
अब चुपचाप स्विकार्दैनन् l
उदीच्य चेतको वेग उम्दो छ अब !
अर्धो अम्मली खटनसंग
विरक्तिको असारे भाकामा
समयको आनासुकी गनेर
अस्थिक्षय गर्दैनन्,,,आजबाट साहसिक मन….जीवनहरु,
अछेदय चेतनको पहाड उठाउछन्
उराठ छोप्दै फुल्न अभिष्टका गुराँसहरु !
लालचाको बर्खे झरीमा
अतिवाद लिप्साले जिएका
अर्ना जिन्दगीहरुलाई पनि
बुद्ध-वृक्षको ओत मुनि राख्न
अश्रुनद र रक्तनद भुलेर
उन्मुख मन….जीवनहरु,
अनुरागको पानीले अग्निमोचन गर्न चाहन्छन्
अनुपम मनस्वी हृदय समर्पित भएर !
युग-युग देखि उत्सव खोज्दा
अस्ताचल नियतिले बाँधिएका
पवित्र अस्थिहरुको मुक्तिमा
पसिनाको अर्मल उठाउन जागृत मन….जीवनहरु,
अर्धमुदित नयन उँभो उज्याउछन्
अर्थालांकारको बुलन्द आवाज बोकेर !
नृसिहं रुपधारक दुच्छर,
चाटुकारहरुलाई
मनमाफिक आनन अत्येष्टिको
भष्म तिलक दिई
उदीय मन….जीवनहरु
बौद्धिक कनीनिका बोकेर
धरातलमा एकनिष्ठ उत्रिंदैछन्
कुरियाको वस्तीमा देश-प्रेमको दीपन
Please follow and like us: