– नारायण गाँउले
पग्लिएर प्यालासम्म नझरेको भए
रुन्थें म’नि प्यूने बानी नपरेको भए !
ढाकिएछ मनको क्यारी उम्रिएर आँसु
बाँझै बस्थ्यो बरु खुसी नछरेको भए !
बाँझै बस्थ्यो बरु खुसी नछरेको भए !
सासैभित्र बल्झिएर छोइएर दुख्छौ
कति टाढा हुन्थ्यौ डेरा नसरेको भए !
छट्पटी छ पर्खाइ छ तड्पाइ छ यहाँ
गरीब हुन्थें सायद स्वप्न नमरेको भए !
कलम अर्कै बहर अर्कै गजल अर्कै हुन्थ्यो
त्यो बैंसको बर्खे भेल नतरेको भए !
किन लड्नु-पर्थ्यो नाथे हुरी सँगसधैं
बत्ती सित चिना-जानी नगरेको भए !!
Please follow and like us: