(राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल लीला अनमोलको कविता ‘दुर्घटित विश्वास’ पाठकहरूको सामु पस्किएका छौँ )
विश्वास दुर्घटित भएर आँखाबाट
यतिबेला मेरो देश
भूगोल रोइरहेछ
सुनामी चलेर शान्तिको सागरबाट
अखण्डित युद्ध बगिरहेछ
नदीहरूमादेशको हाँसोमा
सङ्गीन तेर्सिएरछिर्का हानेको छ
रगत सीमा स्तम्भहरूमा
सालिक रोएर इतिहास
मुर्दा परेको छ चोक, गल्ली र गल्छेडाहरू
सहिद भत्किएर मुटु
शिरा र धमनी सङ्क्रमण भएको छ
बन्धकी राखेर क्रूरता
हिटलरको जिजीविषा बाँचिरहेछ यहाँ
ताण्डव चलिरहेछ स्वतन्त्रताको
जहाँ नि:सङ्कोच बलात्कार भोगिरहेछ देश
लाग्छ – समय नाङ्गिएर
उत्तानो परेको छ बीच सडकमा
जसलाई सबैले भोग्न छुट छ
यहाँ प्रतिस्पर्धाको होड चलेको बेला
प्रत्येकले बहिरो विजयको घोषणा गरिरहेछन्
निर्णयको अल्कोहल पिएर
विश्वास मातिरहेछ यतिबेला
स्वतन्त्रताको बगैँचामा उम्रिएका
पारिजात चाहनाहरूमा
सङ्क्रमणकालीन धमिरा लागेको छ
अहम्ता ब्युँझिएर ज्वालामुखी दन्किएको बेला
संवेदना मरेर दुर्गन्धित भएको छ
मोतीविन्दु भएको छ सार्वभौमिकताको आँखामा
यो अन्धकारको साम्राज्य फैलिएको बेला
ओ मेरो प्रिय मान्छेहरू
मलाई एउटा यस्तो छुट्टै अवसर देऊ
म आगोमा निर्भीक हिँड्न सक्ने
एउटा कुशल सन्तान जन्माइदिन्छु ।