निर्दोश स्वच्छन्द छालहरुले
छुँदै र भाग्दै गरेको,
छपक्क चिसो बालुवामा पिँध बिसाएर
पानीको आवत्-जावतमा
आफ्नै आकृती खोजिरहेछु
मनमनै संकल्प गर्दै
अभ्यन्तरको प्रार्थना ओठहरुको कम्पनसंगै
पलकहरुको बन्द संघारभित्र
हठात् म पुग्छु उहीँ
जीवन बाँच्नुको सारस्थलमा,
म कती उल्टो!
या सुल्टो?
सबै तृप्ति माग्छन्
म तृष्णाको कामना गर्छु
रित्तो मनहरु संधै भरिने चाह गर्छन्,
कृयाशिलता जिउनुको सूचक!
भरिपूर्णतामा सुष्कता अनी पट्ट्यारहरु
उफ!
म आधाआधी मनको तरेली खोजिरहेछु
अभ्यन्तरको प्रार्थना तृष्णाको पूकारसंगै
हृदयमा उठ्ने हाहाकारसबै..
समेटेर शब्दमाला उनुँ,
वर्चस्वता भन्नु खोजिहरुको समाप्ती!
अल्पतामै चाहनाको बाटैबाटो
जिन्दगीको बहुमुल्य दस्ताबेज खोजुँ
म कती उल्टो!
या सुल्टो?
सबै सग्लो प्राप्ती माग्छन्
म भग्न आकाँक्षा खोज्छु
टुक्रे अभिलाषा चलायमान रहन्छन्
त्यही रहरैरहरको अनवरत यात्रा कती आनन्दी!
म अबिराम बाटाहरु नापिरहेछु
अभ्यन्तरको प्रार्थना द्रबिभूत तृष्णासंगै
अधूरा रहरहरुको लम्पसार बिस्कुनमा
एउटा सिँगो युग बांचुँ,
कौतुकी मनोबेगको उद्देलनमा
म सर्बदृष्टि स्थापन गरुँ
म जिन्दगी लेखुँ लामो सेतु,
संगोल भावकमनहरु छुन
म कती उल्टो!
या सुल्टो ?
सबै आँखाले हेर्छन्
म आँखामा हेर्छु
आँखाको खोपिल्टोमा सम्पूर्ण रहस्य हुन्छ
म दृष्य चिहाइरहेछु अनन्त गहिराइ भित्र भित्र ..
यही सागरको निलो कालो गहिराइ जस्तै
सृष्टीको सुत्रधार
तृष्णा ब्यग्रता र कौतूहलता नै त हो।।।