मेरो सिकायत
उस्को सिकायत
हाम्रो सिकायत
आउ सुन,आउ!
आउ मशाल बालेर
औलाका टुप्पाहरुमा!!
कसैको झुपडी दहनमा
खेरफाल्ने आगाका लप्काहरुले
आफ्नै अध्यारो खोपामा
दियालो किन सल्काउँदैनौ??
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी!!
खोपडिको अध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ ,,
मानविय सम्बेदनाभरि
एक जोडी ओठ तन्किंदा
हृदयको घडा छचल्किएर
जिन्दगीको मुस्कान छरिनुपर्ने हो
तर,
तर तिमी जलन हाँस्छौ
तिमी इर्ष्या र क्षोभ हाँस्छौ
तिमी षड्यन्त्र हाँस्छौ
ओठका कलेटीहरुमा
सहानुभूतिको लिउन लेपेर,
अनमोल खुशीहरु तिम्रै छातीमा डढिरहेछ
तिमी हाँस्नै सक्दैनौ,,
सभ्यताको फराक फाँटमा
गर्हा,सुर्का र डिलैभरि
अनी यताउताका कान्लाकुन्लिमा
मानव विश्वासको बेर्ना रोपेपछी
आत्मियताको लालिगुराँस फक्रिनुपर्ने हो
तर तिमी स्वार्थ सिँच्छौ
तिमी द्वेषको झरी बर्षाउँछौ
प्रतिशोधको पानी बोट बोटमा पुर्याउँछौ
भरोसाको हजारीमा भरेर,
दौँतरी भावनाहरु तिम्रै करेसामा कुहिरहेछ
तिमी फक्रिनै सक्दैनौ,,
अनी सम्झ ,,अझ
सिकायतमाथि सिकायत हुनेछ
भैरहनेछ
अझै धेरै सिकायत ।।
आउ सुन सिकायतहरु