युटोपिया पार्क, इजरायल |
उसो त चिपोरा तलोर जसको म रेखदेख गर्छु धार्मिक प्रब्रित्तीकी होइनन् तर पनि चाडपर्व र छुट्टीको बेलामा घर देखी बाहिर कतै घुमेर मन बहलाउन सौखिन छिन्। उनको यो सौख मेरो लागि बरदान् साबित भएको छ। गत सोमबार यस्तै काकताली पर्यो मलाई फेरी, यहुदीहरुको धार्मिक पर्व ‘सुकोत’
को बहानामा चिपोरा सक्सकाइन् कतै घुम्न जाने भन्दै । मैले त्यही माथि तीन मुट्ठी तेल घस्दै उकासेँ कतै प्राकृतिक छटाभएको तिर डुल्न जाउँ न त भन्दै। आफ्नो जन्म पहाडमा भएर झ्याङ्ग-बुटाबुटीमा अल्झिँदै जिन्दगीको उकालो उक्लेको स्वाभाव न हो, हरियापरिया तिरै डुल्ने आदेश दिन्छ मनले यो अत्याधुनिक सुबिधा सम्पन्न संसारमा पनि!
झोलामा स्वभावत पुन्टे डायरि, कलम र क्यामेरा राखेर आँखामा त्यसको दुगुना बडेमानको कालो चश्मा भिरेपछी मेरो बाहिरको तयारी पुरा हुन्छ भनेर चिपोरालाई राम्रो थाहा छ । योजना मुताबिक लागियो इस्राएलकै बिशाल ‘हरित गृह’ तिर। घर देखी करिब् एक घण्टाको दुरी सकेपछी पुगियो गन्तब्यमा। सिङ्गो इस्राएलको लगभग मध्य भागमा निर्माण गरिएको यो मनमुग्ध स्थानमा प्रबेशको लागि जाडो र गर्मी यामको लागि छुट्टाछुट्टै समय निर्धारण गरिएको रहेछ । जाडोमा बिहान साँढे आठ बजेपछी प्रबेश गरेर दिउँसो ५ बजेसम्म डुल्न पाइने रहेछ भने गर्मी याममा चाँहीँ सोही समयमा प्रबेश गरेर साँझ ६ बजेसम्म डुल्दा हुने रहेछ। साथमा पाल्तु जनावर्, साइकल ,बाहिरको खाध्यपदार्थ,खेलकुदका सामग्री लैजान निषेधित उक्त पार्कमा भित्रको अण्डाकार सुन्दर हलमा पार्टी ,सेमिनार समेत गर्न सकिने रहेछ एउटा बिशेष शान्त र सुन्दर हरियाली शितल बातावरणमा।
त्यो दिनको उध्धुम गर्मिलाई छलेर बिहानको १० बजेतिरै हामी भित्र घुस्यौँ। पस्दापस्दै प्रबेशद्वार भन्दा अगाडि एउटा बडेमानको टेलिभिजन फत्फताइरहेको रहेछ हिब्रुमा सर्सर्ती पार्कको बारेमा पूर्व जानकारी बारे ,,मैले आधाआधी बुझें बाँकी बुझे जस्तो गरेँ । प्राकृतिक नै नभएपनी हरियालिको दर्शन पाइने लोभमा म त्यसै फुलेल थिएँ। हातमा क्यामेरा लिएर पहिले स्वागत ढोकामा टल्किरहेको बोर्डमा हेरें सुन्दर अक्षरमा हिब्रु र अङ्ग्रेजी दुबैमा लेखिएको थियो “युटोपिया अर्किड पार्कमा यहाँलाई स्वागत छ!”
सानो हुँदा गाउँमा घर छेउको देबीथानको पिपलको गजधम्मे रुखका हाँगा बाट उँधोमुन्टिएर लहराइरहने सुनाखरी टिप्दा घाम डुबेको पत्तो नपाउने म,, मेरो मानस्पटलमा उही देबिथाने छिर्बिरे मसिना सुनाखरी मात्र नाच्तथ्यो यदाकदा सम्झिदा। पछी कुन्नी कती कक्षामा पुगेपछि थाहा भयो ति कोमल सुनाखरिलाई अङ्ग्रेजीमा अर्किड भनिदो रहेछ। समय संगै जीवनमा कैयन उतारचढाब त आयो नै ,ती मायालु सुनाखरी बिर्साउने कैयौँ तिखा काँडे खुड्किला पनि आए। धेरै समय भैसकेको रहेछ मैले देबीथानको त्यो पिपल ,ती सेताम्य सुनाखरी र ति दिन पनि पो सम्झिएको रहेनछु।
अहिले एक्कासी यो बिरानो मुलुकमा अर्कैको भाषामा लेखिएको अर्किडले मलाई चुपचाप ति छिर्बिरे सुनाखरी र चिर्बिरे बालवयमा धकेलिदिएछ । म त गाउँको देबीथान मा बुर्कुसिँदै थिएँ “दीप्स!”चिपोरा चिच्याइन् । अहँ म त इजरायलको सबैभन्दा ठुलो हरित गृहको युटोपिया अर्किड पार्कमा पो रहेछु। स्वर्गको कथा सबैले कथ्छन् कहन्छन् देखेको कसले छ र? मैले त्यो हरित गृहभित्रको सुन्दरता नियाल्दै सोचेँ ‘स्वर्ग भनेको यतिकै मनमोहक होला!’ साँच्चै नै विश्वासै गर्न नसकिने यो कल्पनाको लोक जस्तो सुन्दर ठाउँलाई कती बुझेर जानेर यि इस्राएलिले सुहाउँदो नाम राखेछन्, “युटोपिया अर्किड पार्क” ।
एउटै छानो मुनी मान्छे ले प्रक्रिती बनाएको! मैले आँफैलाई बडो भाग्यमानी ठानेँ यसरी पहिलोपटक संसारकै एकमात्र यस्तो बिचित्रको थलो जहाँ संसारै भरी पाइने सुनाखरीका अनेक जात,ससाना किटपतंग लाई आफ्नो अंखोरे चेपोमा पारेर मार्ने एकखालको बनस्पती (कार्निभोरोअस),बिभिन्न प्रजातका पंक्षिहरु, माछा,जलबनस्पतिहरु र बर्षातको पानीमा हुर्किने बिबिध चमत्कारी बनस्पतिहरु एकैसाथ एउटा अलग्गै शान बोकी हामीलाई पर्खिरहेको देखेर।
मलाई पटक्कै आभास भएन कि त्यो बनाइएको प्रक्रिती हो ,,जहाँ उम्रेर फक्रेर मुस्कुराइरहेका हरेक बनस्पती, खेली रमाइरहेका हरेक पंक्षी बिरुवा मान्छेको हात औलाले स्याहारिएको हो। ति प्रत्यकमा मेहनती मान्छेको औँलाले स्पर्श गरेको छ । आफ्नो दुइबित्ते करेसा बारीको मकैको बोट गोड्न अल्छिले चार बित्ते नखरा देखाउने बानी परेको ‘म’ लाई मान्छेकै औँलाको स्पर्शमा यतिका चमत्कार देखिँदा अचम्मको घनले हान्नु पनि त अचम्म थिएन।
लगभग ४०,००० स्क्वाएर मिटरको लम्बेचौडे छातीमा पसारिएको अकल्पनिय पार्कमा पर्यटकहरुका सुबिधा खातिर ठाउँठाउँमा राखिएका सम्बातनयन्त्रले चिसा हावाका झोँका मै तिर फ्याँक्दा फेरी मैले आफ्नै गाउँको उधुम गर्मी सम्झेँ ‘कठै! मेरी आमा प्रचन्ड घाममा सेकिँदै बारीको डिलमा पसिनाले नुहाउँदै होलिन्! यो मन पनि कती कमलो! उसैमाथिको परेदेशमा त झन भएभरको मन जती नौनिनै पो हुन्छ कि भन्छु म। एसो केही राम्रा चिजबिज देख्यो कि झलक्क घरै सम्झिने, एउटा दाना अनार भेट्यो कि ‘ओहो! मेरो छोरोले यो कती मिठो मान्थ्यो!’ एउटा राम्रो खेलौना देख्यो कि’ ओहो! यो मेरो छोरीले कती मन पराउँदी हो!’ कतै सुन्दर दृष्य देखे,’ओहो! यो सुन्दरता उनले पनि देख्न पाएका भए! वा दुई आँखाले भन्दा चार आँखाले सँगै देख्न पाएको भए !’ यस्तै यस्तै ‘ओहो’ को थुप्रो भित्र पुरिएरै जिन्दगी कती खेर नामेट होला नि! भन्न त सबैले भन्छन् ‘यस्तो रमाइलो गरियो कि,सबथोक भुलेर हराइयो!’ तर मलाई लाग्दैन संसारमा कुनै त्यस्तो मानव मुटु होला जो कुनै मनोरन्जन र खुशीको क्षणमा सबैलाई भुलेर मनदेखी एक्लै रमाओस्, खास गरी आफ्नो अती नजिककाहरुलाई पनि याद नगरि। बरु थोरैले ब्यक्त गर्छन्, धेरै मनमनै अमिलिएर कुँडिन्छन् तर गर्न चाँही सबैले हरेक खुशीको क्षणमा आफ्नाहरुलाई याद गर्छन् र कमिको महसुस गर्छन्\।यस्तै छ बिडम्बना अभाबमा पिल्सिने जिन्दगीहरुको,पैसा छ परिवार छैन परिवार छ पैसा छैन। ति दुई लाई सँगसँगै नार्ने रहरमा चार-चौरास भासिनुपर्छ । अन्तत: सुलुत्त जिन्दगी चिप्लिसक्छ आधाआधी रहरको कहरमा अल्झेर।
जीवनका यिनै हिसाबकिताब मनमनै गुन्दै त्यो चामत्कारीक सुन्दरताको खानिमा म बाहिर बाहिर सम्बातनिक चिसो पानीको कण मिस्रित हावाको को सिरेटोले चिसिँदै भित्र भित्र आफ्नाहरुको उताको हरिबिजोक सम्झेर भुट्भुटिँदै अगाडि बढ्दै गएँ।
एसो पछाडि फर्किएँ चिपोरा हातको ईशाराले मलाई बोलाँउदै रहिछन्। अनी सँगसँगै बरालिन थाल्यौँ अरु पर्यटकहरुको घुइँचोमा मिसिएर हामी पनि। अलिक अगाडि पुगेपछी एउटा ससानो मन्च जस्तो ठाउँ देखा पर्यो जहाँ घुमारो अर्धचन्द्राकार गरी बेन्चहरु राखिएको रहेछ सुन्दर र सफा गरी। चिपोराले त्यतै देखाउँदै त्यो ठाउँ पार्कको बारे आगन्तुकहरुलाई सामान्य जानकारी गराइनको लागि हो भनिन् र छेउको बेन्चमा थपक्क पिँध बिसाइन्। म फेरी छेउको सानो मनमोहक तलाउमा बेफिक्री मुस्कुराइरहेको कमलको पत्र स्पर्श गर्दै थिएँ एउटी पातली गोरी केटी ओठभरी म्रिदु मुस्कान बोकेर मै तिर आइन्। त्यतिन्जेल फुत्त फुत्त यताउताबाट मन्च भरिनै आगन्तुकहरु उत्सुकताभरी अनुहार लिएर उपस्थित भैसकेछन्।
मैले हात बढाउँदै आफ्नो परिचय दिएँ। अनी शरोन नाम गरेकी ति सुन्दर युवती छेउमै स्टुलमा राखिएका ससाना गमला उचाल्दै केही कर्नोभोरोअस जातका बनस्पतिको बारेमा बताउन थालिन्। मलाई गज्जब लाग्यो ति बनस्पती देखेर। एउटा रहेछ हाम्रो तिरको अलिक लामो घाँटी परेको पानी पिउने अंखोरा जस्तो अनी मास्लो पट्टी छाता जस्तो सानो पात भएको बनस्पती ,जहाँ साना किरा फटेङ्ग्रा अभाग्यबस् भित्र खसे भने त्यहा भित्र रहेको पानी र एकप्रकारको एसिड को कब्जामा परी बाहिर निस्किन नसकी त्यही भित्रै ज्यान गुमाउदा रहेछन् त्यसैले इस्राएली हरु ति खालका बनस्पतिलाई ‘इटिङ्ग प्लान्ट’ पनि भन्दा रहेछन्। बाहिरी प्राकृतिक बातावरणमा स्वतन्त्र फस्टाउन पाउंदा ति घैला जस्ता बनस्पतीले आधा मिटर सम्मको उचाइ लिन सक्छन रे! मैले सोचेँ त्यती अग्लो हुने भए त किरा मात्र के साना खरायो, बिराला ,चराहरु नै पनि परमधाम जान सक्दारहेछन् त्यहा भित्र। हुन पनि त्यस्तै हुन्छ रे। अनी अर्को रहेछ अलीक सानो काँठिको बनस्पती ,जो झट्ट हेर्दा सुन्दर अनुहारको बन्द परेली जस्ता। आँखाको ढकनी जस्तो दुइतिर साना पात अनी पातको माथिल्लो किनारामा हाम्रा आँखाको झिम्झिमे परेली जस्ता मसिना तर बलिया काँढा हुँदा रहेछन्। शान्त अवस्थामा ति परेली खुल्ला रहने अनी नजिकमा केही चाल् उत्पन्न भएपछी अकस्मात ति परेली बन्द हुँदा नजिकको किटपतंग च्यापिएर मर्दा रहेछन्। हेर्दा साना देखिएपनी ति परेलिरुपी काँढा अती तिखा र बिषालु पनि हुन्छन अरे। कती सम्म भने साना नानीहरुलाई औँल्याउदै ति सुन्दरिले सजग पनि गराइन् कि औंला राखेर परिक्षण नगरनु,, अन्यथा स्वास्थ्यकर्मीको सहायताले मात्र काँढा झिक्नुपर्ने पनि बताइन्।
केही मिनेटको जानकारी कार्यक्रम सकिएपछी हाम्रो लम्काइ अगाडि बढ्न थाल्यो त्यस्तै बिबिध अनौठा ,दुर्लभ र आकर्षक बनस्पतीहरुको अवलोकन गर्दै। सबै सबै दृष्य एक्सेएक लोभलाग्दा थिए। म चकित हुँदै ति मेहनती हातका कमाल हेर्दै अगाडि बढेँ। त्यहीँ एउटा छानो मुनी कताबाट कहाँ उकालेर घुमाएर दुरुस्तै प्राकृतिक लाग्ने कृतिम झरना झारेका छन्,त्यहीँ भित्रै आकर्षक आकाशे पुल छन त त्यहिनै भुंइभरी घासे मैदान जस्तो नरम गलैँचे घाँस उमारेका छन्। त्यहीँ तालतलैया छन् त्यहीँ कलात्मक सजावट डेन्ड्रोबियम सुनाखरी लहलहाएका छन्। परिश्रमी हातका यस्ता उपजले वातावरणिय सजगतामा पर्यावरणको जतन त भयो नै मुलुकको गहना पनि थपियो। अझै त्यो भन्दा अहम कुरो त्यहा कतिजनालाई रोजगारीको अवशर मिल्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तब्यस्थल् स्वरुप आयआर्जनको स्रोत पनि बन्यो।
त्यसपछी आउटडोर बगैचा तिर को बाटो निस्कियो। बाहिर उधुम घामको रापिलो किरणले साम्राज्य फैलाइरहेको थियो। केही मिटर लम्केपछी चिपोरा थाकिन् ,नथाकुन पनि किन! उता मेरी आमा पाँचौँ दशकमा हिँड्दै हुनुहुन्छ त बुढेशकालले गलिपत् भैसक्नुभयो । यि त झन्डै असीको दशकको पनि पुछारमा पुगिसकिन् त्यही पनि अझै घुमडुल, मनोरन्जन,शारीरिक् ब्यायाम गर्दैछिन् । यथार्थ त यस्तो हो ,,हामी नेपाली धनले,बिलासिताले र अवशरले त बन्चित भएर छिट्टै गल्छौँ नै, उमेरले हुनु कता हो कता सोचले हत्त र पत्त बुढीईहाल्छौँ। त्यो तुलनामा चिपोरा अझै तगडा भएपनी गर्मिमा भने हुर्मत जान्छ यिनको अनी श्वास फुलेर थलिन्छिन्। त्यसैले उनिलाई त्यतै एउटा बेन्चमा बसाएर म एक्लाई बाहिर को दृष्यपान गर्न थालेँ। आकर्षक छहरा, चुल्बुले मृगका बथान, पिँजडा बाहिरै स्वतन्त्र रङ्गिबिरङ्गी सुगा जसलाई हातैमा उचालेर खेल्दै लिन सकिने आनन्द,आकर्षक ढंगले स्याहारिएका कलात्मक बोटबिरुवाहरु, मचान् जस्तो माथिल्लो भागमा उक्लेर सर्बाङ्ग पार्क नियाल्दा बटुल्न सकिने खुशी, छुँदै र भाग्दै गरिरहेका पानीका फोकाहरुसँग रमाइरहेका कमलका पात र फूलहरुको इर्श्यालाग्दो दृष्य मनभरी भरी हेरिसकेर खोइ कतिबेला फर्किने बेला भयो ,,मैले त हेक्कै राखिनछु तर मान्छेको अतृप्तिलाई समयले पर्खिंदो हो त,,, सिँगो मानवसमुदाय जती निस्कृय जन्तु अरु कुनै हुँदैनथ्यो होला। समयको डाँडो कटाइ सँगै हामीले फर्किने बाटो ततायौं।
बाटैभरि एकतमासले देश र बिदेशको यो फरक बिशेषताले कोतरिरह्यो। घरि घरि नेपाल पुगिरहेँ सम्झनामा । केही महिना अघी घर जाँदा रत्नपार्क डुल्न निस्केको थिएँ, पहिलेको हरियो आकर्षक रत्नपार्क खुइलिएर धुलाम्य अवस्थामा लडिरहेको थियो बरखी बारेर बसेको कृयापुत्री जस्तो फुङ्ग रङबिहिन अवस्थामा जहाँ पहिलेको झैँ हरियो दुबोको नामोनिशाना थिएन एकैछिन टस्स पिँध टेकाउनको लागि समेत। त्यहा कुनै फूल फक्रिएर हाँस्ने साहस गर्दो हो त मेरा देशका नायकहरु(नालायकहरु)तिनका जरै उधिनेर कुनै ‘प्रभू’ को पाउमा चढाउँदा हुन्। कहाँ यो मरुस्थल जस्तो कन्क्रिटको देश जहाँ देखिने लग्भग सबै हरियो ‘बनाइएका’ हुन् ,कहाँ प्राकृतिले आँफैँ सिँगरिदिएको मेरो सुन्दर देश जहाँ संसारकै अग्लो चुचुरो जो छ वटै ऋतु चिसो हिउँ ओढेर विश्वलाई शितलता र सुन्दरता बाँडिरहन्छ। त्यही सुन्दरताको पर्याय मेरो देशको राजाधानिको मुटुको गनिने पार्क “रत्नपार्क” सम्झिँदै आहत भएँ । हाम्रो बिगार्ने गति भन्दा द्रुत यिनिहरुको बनाउने गति र मती लाइ सलाम गर्दै फर्किँदा बाटो भरी मेरो मनमा इस्राएलको त्यो अदभूत सुन्दर “युटोपिया अर्किड पार्क” र मेरो काठमाडौंको मुटुको पार्क “रत्नपार्क ” को दृष्य झुत्तिखेल्दै दोहोरीईरहे पालैपालो ।