–शर्मिला खड्का (दाहाल)

उसको टाउको जोडले दुखिरहेको छ । क्रोसिनले पनि उसको टाउको दुख्न कम भएको छैन । ऊ अस्पतालबाट आएको दुई दिन भइसकेको छ । तर पनि उसको मस्तिष्क अस्तव्यस्त छ । शरीर अस्वस्थ्य छ । शरीरको मात्र विमार भए डाक्टरहरूले निको पार्न सक्थे होलान् । तर मनको विमार निको पार्ने खै कहाँ छ र ठाउँ अनि कुन छ औषिधि – यदि पाउने भए ऊ घिस्रदै जान्थी होला । तर उसलाई थाहा छैन । बरु उसलाई उसको विगतले घिसार्दै पुर्याउँछ आफ्नो गाउँ इलाममा । जनयुद्धले देश जर्जर भएको बेला थियो । बन्दव्यापार केही चल्न सकेको थिएन । युवाहरू माझ छापामार हुनुपर्ने त्रासले दिनरात सताइरहन्थ्यो । भर्खर बिहे भएको थियो उसको प्रदीपसँग । गाउँघरमा माओवादीको जनयुद्धले नयाँनयाँ सन्त्रास फैलाइरहेको हुन्थ्यो । कहिले आक्रमणको हल्ला, कहिले चन्दाको हल्ला, कहिले अपहरणको हल्ला । गाउँघरमा सबैभन्दा बढी युवाहरूलाई बस्न कठीन भएको थियो । उसको सासूससुरालाई आफ्नोभन्दा बढी लाउँलाउँ, खाउँखाउँ भएका भर्खर बिहे भएको छोराबुहारीको पिर थियो । सासूससुराको सल्लाहअनुसार दुवैजना काठमाडौँ आएर व्यवसाय गर्ने सल्लाह भयो । सासूससुराले केही रकम व्यवसाय गर्न दिएपछि दुवैजना काठमाडौ आए – प्रदीप र सिर्जना । 
एकछिनमा मोबाइलको घन्टी बज्छ ।


‘हेलो, सिर्जना !’
‘हेलो आरती दिदी !’
‘तिमीलाई कस्तो छ -‘
‘ठीक भइसकेको छैन ।’
‘हेर न ! आज फेरि एउटा डिमाण्ड छ , तिमी विमारी छौ । संगीता र रोजी पनि पोखरा गएका छन् । तिमी जान सक्छौ कि -‘
‘हुन्न हुन्न दिदी म जान सक्दिनँ । अरू कसैलाई पठाउनु ।’
यति भनिसकेर उसले मोबाइल अफ गरी । 
उसलाई आरती दिदीदेखि भित्रदखि नै रिस उठेर आयो । यो सब घटनाको प्रेरणास्रोत तिनै थिइन् । तिनीसँग भेट नभएको भए आज उनले यो दिन देख्नुपर्ने थिएन । तर आरतीदिदीप्रतिको आक्रोश ऊ कतै व्यक्त गर्न सक्दिनथी । ऊ कुण्ठित मन लिएर पश्चातापको आगोमा जलिरही । उसको जलन धुवाँधुवाँ भएर स्मृतिको आकाशमा यसरी फैलन थाल्यो । 

पहिलापहिला मोबाइलको घन्टी बज्ने गर्दथ्यो । ऊ उठाउँथी । 
‘हेलो सिर्जना !’
‘हेलो आरती दिदी !’
‘अँ हेर न आज तिमीले होटल र्याडिसनमा जानुपर्ने भएको छ ।’ 
उसले कतिचोटि भनिसकेकी थिई आरती दिदीलार्इ, अब ऊ यो पेशा गर्दिन भनेर । तर आरती दिदीले पटक्कै मानेकी हैनन् – ‘हेर् सिर्जना, मिस्टर यादव र उसका साथीहरूको माग तिमी नै छौ । अरूको नाम लिदा उनीहरू नाक खुम्चाउँछन् । तिम्रो नाम लिने बित्तिकै उनीहरू खुसी हुन्छन् । जाउ न आज एक पल्टलाई ।’
यसो गर्दागर्दै ऊ लाचार भएर यो पेशा छोड्न सकेकी थिइन । यो पेशामा लाग्नाले नै आज उसले यो हविगत भोग्नु परिरहेछ । उसले दुईदिन अगाडि ठूलो दुर्घटना बेर्होनु परेको थियो । त्यसैले उसको मन भारी छ, तन भारी छ । त्यो भारी बिसाउने यत्रो संसारमा उसले कतै ठाउँ भेटेकी छैन । वन डढेको सबै देख्छन् तर मन डढेको कोही देख्दैन भनेको यही रहेछ । हुन त उसको वन नै डढेको भएपनि देख्नेवाला कोही थिएनन् । आफनै लोग्नेले यत्रो नाटक गरेर उसको जीवनको पर्दा नै च्यातिदिएपछि अरु कुरा नै के बाँकी रह्यो र -यो नाटकको पात्र कोको थिए – नाटक कसरी रिहर्सल भयो कहाँ भयो -उसले केही थाहा पाउन सकिन । उसलाई मात्र यो थाहा छ यो नाटकको प्रमुख पात्र उसको लोग्ने हो र यो नाटक वियोगान्त हो । 
गाउँबाट काठमाडौ आएपछि उसको लोग्ने र ऊ भएर जुत्ता पसल खोलेका थिए । नयाँ ठाउँमा बजार भाउ बुझ्न नसक्दा, व्यवसायको अनुभव पनि नबटुलेको उनीहरूलाई पसल चलाउन हम्मेहम्मे भयो । दिन पर दिन पसल घाटामा जान थाल्यो । अब अन्य विकल्प केही थिएन । युवाहरू विदेशिने भाइरल रोगले उसको लोग्नेलाई पनि छोयो । जेनतेन रिन काढेर उसको लोग्ने अरब गयो । अब सिर्जना एक्ली भई । हावा खाँदा पनि पैसा तिर्नुपर्ने काठमाडौँमा सिर्जनालाई बाँच्न धौधौ भयो । त्यसपछि उसले आफूलाई जीवित राख्न डिपार्टमेन्ट स्टोरमा काम गर्न थाली । अब उसको दैनिकी डिपार्टमेन्ट स्टोरमा बित्न थाल्यो । 
एकदिन अचानक डिपार्टमेन्ट स्टोरमा एउटा घटना घट्यो । उसले सामान राम्रोसँग मिलाएर नराखेको भनी साहूले निकै झपार्यो । त्यहीबेला डिपार्टमेन्टमा सामान किन्न आएकी ग्राहक आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले यो सब देखिरहेकी थिइन् । उनले बोलाएर सोधिन् – ‘तिमी अन्त काम गर्र्छौ -‘ उसले सजिलै भनिदिएकी थिई ‘गर्छु भनेर । त्यसपछि आरती दिदीले फोन गर्न उसलाई भिजिटिङ्ग कार्ड छोडिदिएकी थिइन् । यसरी आरती दिदीसँग उसको भेट भएको थियो । आरती दिदीले नै उसलाई खानबस्नका लागि कोठा मिलाइदिएकी थिइन् । ऊ आरती दिदीसँग होटलतिर घुम्न र रमाउन थाली । राम्राराम्रा लुगा, मीठोमीठो खानेकुरामा नशा बस्दै गयो । वास्तवमा जीवन पनि त एउटा नशा नै त हो नि । नशामा लागेको बेला मानिसले केके गर्छ उसैलाई होश हुदैन रहेछ । अहिले ऊ सोच्दैछै, नशामा लागेको बेला कुन बेला उसले यो पेशा अपनाइ उसलाई पत्तै भएन । 
पहिलो दिन आरती दिदीले उसलाई तीन हजार हातमा राखिदिँदै भनेकी थिइन् –
‘लौ हेर सिर्जना ! तिमीले डिपार्टमेन्टमा काम गर्दा महिना दिनको तलब एकै पल्टमा । फेरि फाल्टो टिप्स अनि फाइभ स्टार होटलको खाना, खाउ मोज गर ।’ 
उसले ती नोटहरू हातमा लिएर निकैबेर हेरिरही । हजारका नोट यसरी हातमा नपरेको धेरै भइसकेको थियो उसको । अहिले आरती दिदीको पैसामा नै खाने,बस्ने र घुम्ने गरिरहेकी थिई । उसको लोग्नेले कमाएको पैसा सिधै साहुलाई पठाउथ्यो जहाँबाट उसले ऋण लिएको थियो । उसले कसरी गुजारा गरिरहेकी छे भनेर घरकाले कहिले सोधेनन भने लोग्नेले पनि कुनै चासो नै राखेन । ऊ सोच्दथी माइतकाले त पाले पुण्य मारे पाप भनेर जिम्मा लगाएका उसलाई घरकाले त पक्कै सोध्नुपर्ने हो नि ‘सिर्जना काठमाडौँको ठाउँमा के गरी बाँचेकी छौ ?’ भनेर । तर प्रश्नको ठेलीबाट उठेको उत्तरको पहाडले आफैलाई किच्ला भन्ने डरले कसैले साधेनन् । त्यो अभाव र गरिबीको पहाड आफैले बोक्ने निर्णय गरी सिर्जनाले । त्यसैले उसले आफूलाई निरीह बनाइ कसैको अगाडि हात फैलाउन पनि चाहिन । 
अहिले उसलाई निकै गारो भइरहेको थियो ती कागतका नोटहरू समाउन । लाग्थ्यो ती कागतका नोट होइन् उसको जीवन तवाह गर्ने बम हुनु पर्छ । त्यसैले ऊ उचाल्न सकिरहेकी छैन । त्यहीबेला उसको कानमा आरती दिदीको उच्चस्वर बम पड्केकोझै गरी पड्किन पुग्यो -‘आनाकानी होइन अब यो कोठाको भाडा, खानेव्यवस्था तिमी आफैले मिलाउनुपर्छ । हेर् काठमाडौको ठाउँमा बाँच्न सजिलो छैन ।’ ऊ झसङ्ग भएर झस्की । आरती दिदीप्रतिको कृतज्ञताले उसले केही बोल्न सकिनँ । उसले केही बोल्न खोजी तर बोल्नलाई वाक्यहरू घाँटीमा नै अनशन बसेझै लाग्यो उसलाई । ऊ आरती दिदीप्रति यति अनुग्रहित थिई कि उसले आरतीलाई नकरात्मक शब्द बोल्न अघि आफनो धडकन छाम्नु पर्दथ्यो । त्यो वाक्यले कतै चलिरहेको धडकन बन्द हुने हो कि भनेर सयौँ पटक सोच्नु पर्दथ्यो । 

साँच्चै हो काठमाडौँको ठाउँमा बाँच्न सजिलो छैन । पाइलाभन्दा अघि पैसा दौडिसक्छ । पैसा छैन भने शरीर मूर्तिवत् हुन्छ अनि जड भैदिन्छ जीवन । अनि कसरी चलायमान हुन्छ जीवन । साच्चै ती हजारका नोटहरूले उसको जीवन चलायमान बनाउन थाल्यो । चलायमान मात्र होइन नयाँनयाँ स्वाद र रङ्गिन दिनहरूमा दिन उड्न थाले । सुरुसुरुमा उसलाई निकै गारो भयो । मध्यमवर्गीय परिवारमा हुर्केकी ऊ, समाजमा एकप्रकारको सम्मानित जीवन थियो उसको । ऊ आफ्नो इज्जत, सम्मानमा बाचेकी थिई । 
पहिलो दिन एक्कासि परपुरुषको अगाडि नाङ्गिनुपर्दा निकै नर्भस भएकी थिई । तर उसको यो सौभाग्य थियो कि पहिलो ग्राहक बौद्धिकस्तरको निकै परिपक्व व्यक्ति परेको थियो । उसले सिर्जनासँग उसको मनोविज्ञान बुझेर भावानात्मक सम्बन्ध राख्यो । उसले सिर्जनाकोअगाडि आफूलाई अलिकति खोलिदियो जसले गर्दा सिर्जनाबाट विश्वास र सहनुभूति पाउन उसलाई गारो भएन । सिर्जनालाई उसले आफूप्रति आर्कषित गरको थियो । ऊ स्वास्नी विदेश गएकी गैर सरकारी सस्थामा काम गर्ने अर्धवैशे पुरुष थियो । उसले सिर्जनामा आफ्नो छाप यसरी छोडेको थियो घर फर्केपछि पनि सिर्जना उसैको कुरा सम्झिरहेकी थिई । पहिलो भेटमा उसले सिर्जनालाई कुनै फिजिकल टच गरेको थिएन, मात्र आफ्ना बारेमा केही कुरा सुनाएको थियो र प्रशस्त जोक्सहरू सुनाएको थियो । पहिलो दिन डर उसको तिनै जोक्सहरूमा हाँसो सँगसँगै उडेको थियो । त्यसपछि सिर्जना आफै ऊप्रति तानिदै गई । उसलाई भेटेर आएको पहिलो दिन उसलाई सहीनसक्नु भएको थियो । भित्र कतै आगो बलेजस्तो ऊ रातभर सुत्न सकेकी थिइन । उसले आगो कम गर्न उत्तेजित भिडियोका रिमिक्स गीतहरू हेरेर रात बिताएकी थिई । लोग्नेले छोडेर गएको डेढ वर्षमा कतिपय रातहरू उसले यसरी नै बिताएकी थिई । 
भोलिपल्ट उही पुरुषले बोलाओस् भन्ने उसले चाहेकी थिई । नभन्दै उसले नै सिर्जनालाई नै फोन गर्यो । सिर्जनाको शरीरभरि अतृप्त यौनले विष फैलाइसकेको थियो । अब उसले आफूलाई तृप्तिको अग्नीमा आफूलाई हामिदिने विचार गरी । यही सोच बनाएर ऊ अधवैशेलाई भेट्न होटलमा गई । ऊ आफू पनि केही पढे लेखेको भएर होला ग्राहकसँग डिल गर्ने तरिका सिक्दै थिई । उक्त अधवैशेलाई स्त्रीहरूलाई रिझाउने कला निकै आउँदथ्यो । शायद ऊ यो कुरामा पोख्त थियो । त्यसैले पनि पहिलो भेटमा नै उसले सिर्जनाको खुट्टादेखि लिएर शिरसम्म प्रशसाको बाढीले पुरेको थियो । आज पनि उसले पहिलो भेटमा नै सिर्जनाको सकुन्जेल र भ्याएसम्म प्रशंसा गयो । सिर्जना रोमाञ्चकताको बायुयानमा उडान भरिरहेकी थिई । उसका अङ्गहरू सिरिङ्गसिरिङ्ग गर्दै थिए । यस्तो अनुभूति उसले आफ्नो लोग्नेबाट पनि पाएकी थिइन् । उ आफ्नो अतृप्त यौनआकाक्षा उही अधवैशबाट तृप्त पार्न चाहन्थी । ऊ आफ्नो शरीर सुम्पन आतुर थिई । कुनबेला उक्त पुरुषले आफूलाई यौनका लागि आमन्त्रण गर्ला भनेर प्रतिक्षामा अधीर थिई । कुन बेला आफ्ना शक्तिकुण्डलाई उसका अग्निजस्ता ब्रम्हस्त्र प्रहारगरी शान्त पर्ला भन्ने आकाङ्क्षामा थिई । केही छिनको वार्तालापपछि उक्त पुरषले उसका मुलायम हातहरू समाएर मुर्सान थाल्यो । यसो गर्दा उसको शरीरमा हजारौ भोल्टको विधुत उर्जा उत्पन्न भएझैँ लाग्यो । त्यसपछि उसले आफूलाई थाम्न सकिन । स्वयम नै अधवैशको गलामा कस्सिएर बेरिइसकेकी थिई । अधवैशेलाई के चाहियो र ऊ त यही समयको प्रतिक्षामा थियो । उसका औलाहरू सिर्जनाका प्रत्येक अङ्गअङ्गमा सल्बलाउन थाल्यो । ठूलो बाढी थामेर बसेको बाँध अहिले भत्केको थियो । केही समयको अस्तव्यस्ततापछि सिर्जनाले ठूलो तृप्ति पाएको महसुस गरी । यसरी उसलाई पहिलो चाटिको अनुभूतिले आनन्दको शिखर चढाएको थियो । त्यसपछिका कतिपय घटनामा उसले यस्तो अनुभूति पाउन सकेकी थिइन । त्यसबेला आफू बेचिनु परेको भान हुन्थ्यो उसलाई र सारै नरमाइलो लाग्दथ्यो । तर पनि ऊ पेशेवर नभएकी हुनाले ग्राहकसँग एउटा समझदारी हुन्थ्यो जसले गर्दा उसलाई बेचिएको होइन बरु आफूले आत्मसन्तुष्टि लिईरहेको महसुस गर्ने गर्दथी । त्यसकारणले पनि उसँग आउने ग्राहकले पनि ऊबाट भरपुर आनन्द लिन्थे । त्यसैले पनि उसको डिमान्ड हुने गर्दथ्यो । ऊ बिभिन्न किसिमको ग्राहकसँग यौनको नयाँनयाँ स्वाद लिँदै गई ।
उसले सोचेकी थिई केही दिनको कुरा हो सब ठीक भइहाल्छ । प्रदीप आउन्जेल सब ठीक हुनेछ । यसरी ऊ दलदलमा फस्दै गई । न त उसलाई समय उडेको पत्तो भयो न त उसको जीवनले कुनै नौलो नियतिको खेल खेल्दै छ भन्ने महसुस भयो । बस ऊ जीवनको रङ्गमा प्रत्येक दिन होली खेल्दै गई त्यसमा पनि नयाँ नयाँ चोली फेर्दै । 
विभिन्न प्रकारको ग्राहकसँग डिल गर्ने क्रममा एकपल्ट उसले अनौठौ ग्राहक भेट्टाएकी थिई । उक्त ग्राहक मात्र छब्बीस सत्ताइस वर्षको लाग्दथ्यो । उसले उसलाई नगरकोटको एउटा रिसोर्टमा लगेको थियो । सिर्जनाले भनेजति पैसा उसले चुक्ता गरिसकेको थियो । ऊ सिर्जनासँग धेरै बोल्न चाहेको थिएन । किन हो सिर्जनालाई यो कुराले अचम्म लागेको थियो । धेरै समय खाने र केही समय औपचारिक गफ गर्नेमा बितेको थियो । अन्त्यमा उसले एउटा प्रस्ताव राख्यो । त्यो थियो सिर्जनाको नग्न शरीर हेर्ने । यो कुरा सिर्जनालाई कुनै प्रधानमन्त्रीको चुनाव थिएन यो अति सजिलो थियो त्यसै पनि परपुरुषको अगाडि नाङ्गिनुमात्र नभई यौनप्यास बुझाउनुपर्ने पेशामा यो कुनै गारो थिएन । तर सिर्जनालाई यो कुरा निकै रहस्यमय लागि रहेको थियो । अहिलेसम्म उसले यस्तो ग्राहक भेटेकी थिइन । प्राय सबै यौनको लागि कामातुर मात्र भेटेकी थिई । तर यो सजिलो काम पनि उसलाई निकै गारो लागि रहेको थियो त्यो के थियो भने उसको दाहिने छातीमा रहेको कालो कोठी कसरी लुकाउने भनेर । उसलाई ठूलो समस्या परेको थियो । प्राय ऊ त्यो कोठी लुकाउने गर्दथी । यौन उन्मादमा आतुर रहेका ग्राहकहरू त्यो कोठीको खासै चासो पनि राख्दैनथे । तर उत्त पुरुषले किन आफ्नो नग्न शरीर हेर्न खोज्यो यो उसलाई निकै रहस्यमय लागेको थियो । एकातिर उत्त पुरुषले आफूले चुक्ता गर्नुपर्ने पैसा चुक्ता गरिसकेको हुनाले नदेखाउने कुरा नै हुदैनथ्यो । 
उसले शरीरको सम्पूर्ण भाग देखाई तर दाहिने छातीको भने कपडाले छोपिरही । उक्त पुरुषले आफै आएर कपडा हटाएर हेर्यो । यस कुरालाई उसले नकार्न सकिन । पछि उसले खासै केही गरेन र केही भनेन पनि मात्र यति भन्यो ‘म स्त्रीको नग्न शरीरको चित्र बनाउँदैछु त्यसैले तपाईँको शरीर हेर्न चाहेको हुँ । माफ गर्नु होला मेरो अरु कुनै उद्देश्य छैन ।’ यति भनेर ऊसले घर र्फकने इच्छा व्यक्त गर्यो । 
घर आएपछि सिर्जनालाई कताकता यो घटनाले बिथालिरह्यो । कतै यसमा कुनै षडयन्त्र छ कि भनेर ऊ निकै गम्भीर बनेकी थिई । कतै उसैको श्रीमानले जासुसीको रूपमा उक्त व्यक्तिलाई पठाएको हो कि – उसलाई निकै शका लागेको थियो । यो कुराले उसको दिमागमा धेरैदिनसम्म विलेनको रोल खेलिरह्यो । तर उसले आफ्नो सम्पूर्ण जीवन नै दाउमा लगाएर अपनाएकी पेशामा विलेनलाई हराइदिई र त्यो दनावलाई पूर्णरूपले दिमागबाट डिलिट गरिदिई । उक्त घटनालाई उसले विस्मृतिको सागरमा लगेर अर्घ दिईसकेकी थिई र त्यो किनारा लागिसकेको थियो । तर यस घटनाले भित्रभित्रै आफ्नो जाल फिजाइसकेको उसले थाहा पाउन नै सकिन । अब त्यो रहस्यमय घटनाका रहस्यहरू बिस्तारै पर्दामा देखिन तम्तयार थिए । उसका रहस्यका पर्दाहरू यसरी उघ्रेका थिए । 
अस्ति भर्खरको कुरा थियो । 
आरती दिदीले फोन गरिन् – ‘सिर्जना तिमी ब्यु एण्ड हाइटमा जानुपर्छ । कोठा नम्बर १०२ हो ।’ सिर्जनालाई लागेको थियो, भनिदिऊ – ‘दिदी, अब म यो पेशा छोडिदिन्छु । प्रदीप पनि आउँदैछ । अरू कसैलाई पठाइदिनुहोस् । आफ्नोमान्छेहरूले पनि चियोचर्चा गर्न थालेका छन् ।’ तर उसका मुखबाट यी कुरा निस्कन नपाउँदै आरती दिदी कड्केर बोलिन् – ‘ल तिमी छिटै जाऊ । बेर नगरीकन । मिस्टर यादवको मिल्ने साथी हो । उसले तिमीलाई नै उताबाट फोन गरेर विशेष अफर गरेको छ । बरू ढिला नगरी जाउ अनि अलि शृगारिनु । उसलाई केटीहरूले कालोसाडी लगाएको मन पर्छ, सेक्सी लाग्छ रे ।’ 
सिर्जनाले मोबाइलमा एकोहोरो सुनिरही । उसले आरती दिदीको कुरा काट्न सकेकी थिइन । उसले सोची आजको दिन उसको यो पेशाको लागि अन्तिम दिन हुनेछ । त्यस पछि ऊ भूमिगत हुनेछे । कसैले थाहा नपाउने गरी । उसले अर्कै ठाउँमा डेरा खोजिसकेकी थिई । अब आउने महिनाको सुरुमा ऊ नयाँ डेरामा, नयाँ मोबाइल लिएर, नयाँ विचार, नयाँ पाइलाका साथ प्रदीपसँग नयाँ जीवन बाच्ने छे । तर किन होला प्रदीपले धेरै दिनदेखि फोन गरेको पनि थिएन । ऊ आउने खवर पनि उसले उसका साथीहरू मार्फत थाहा पाएकी थिई । कतै प्रदीपले यो सब थाहा पाइसकेको छ कि – ऊ कहिलेकाही झस्कन्थी । तर उनीहरूका सबै कामहरू गोप्य हुने हुनाले थाहा पाउने कुरा नै हुन सक्दैनथ्यो । त्यसैले ऊ निर्धक्क आफ्नो दैनिकी चलाइरहेकी थिई । अहिले पनि ऊ आफूलाई पूर्णत विश्वस्त भएर तयार हुन थाली । 
उसले कालो जापनिज सिफनको साडीमा हल्का बुट्टा भएको रोजी । साडीमा मिल्ने ब्लाउज लगाई । वास्तवमा नै ऊ साडीमा निकै सेक्सी देखिन्थी । मेकअप आफ्नै किसिमले गरेकी थिई । आँखामा आइलाइनर, सानो टीका, ओठमा लीपइलाइनर, अनि लिपिस्टिक, घाँटीमा सानो मोतीको माला अनि साडीसँग मिल्ने सेण्डिल र ब्याग । उसको छनौट प्रक्रियाले पूर्णविराम पाएपछि ऊ कोठाबाट बाहिर निस्की । ट्याक्सीमा होटल ब्यु एण्ड हाइट पुग्न उसलाई कतिसमय पनि लागेन । रुम नम्बर १०२ उसलाई कण्ठ थियो । ऊ सिधै रूम नम्बर १०२ मा पुगी । स्वीच थिची । ढोका खोलिएपछि ऊ हेरेको हेर्यै भई । अगाडि उसको आफ्नै लोग्ने थियो । ऊ बेहोश भएर भुईमा लडी । त्यसपछि उसले आफूलाई अस्पतालको बेडमा पाएकी थिई । 
अहिले उसको टाउको दुख्नको कारण त्यही थियो । ऊ दलदलमा भासिएकी थिई । उसलाई लागिरहेको थियो । अब यो दलदलबाट बाहिर निस्कन उसले अर्को जन्म लिनु पर्नेछ । अहिले उसको जीवनमा विराम मात्र होइन पूर्णविराम नै लागिसकेको थियो ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *