मेरो रस्तीबस्ती नजिकका
चरिबोटे सुन्तली र
लप्सीबोटे चुदाँरे साँल्दिदी
ओडारेमुनिका ओडारजस्तै कोप्चाहरू,
पारिपटि मुक्लाबू र तिम्तिम्बू
वारिपटि सादेवा, लोकुम्बा र तेम्बोकमा
लागेको पखाला पखाल्ने फाँटहरू
मोच मार्ने घाटहरू अनि चैतमा पालुवा पर्गेल्ने पाखाहरू
तल तल
मान्छेका मानसिकताभन्दा फराकिला ईंवाखोलाका साँगुरा बगरहरू
र खोँचे थाप्दै बहाव खोच्याएर अबरूद्ध पार्ने खोँचहरू
मान्छेको अस्तु निकाल्ने घाँच र थलाहरू
मसानघाटका वरपर उच्चाटिला विस्मृतिका छायाँहरू
मुर्कुटामा वैचारिक कायापलट नभएका खोलाघारी, अगौटे र लामीद्वालीका
केही घर, केही मान्छे र केही पाखा पखेराका बस्तुभाउहरू
अनि त्यहीँ कतै साँचो थापेर दारका ठेकी, हर्पे र आरी कुँद्न अभ्यस्त ती
तिमी त्यही गाउँकी चुदाँरे साँल्दिदी
युगदेखि युगसम्म
दर सन्तान दरका हिसाबले ५ पाथी बालीमा
वर्ष वर्ष दिन बली चढाउँदै
खोप्दा खोप्दा मानवाकृतिहरू
कहिल्यै सग्लेनन्, निक्लेनन् अनि खोपिइएनन्
अर्धकदका मानव अङ्गहरू
पूर्ण कदका प्रतिरूप शालिकहरू
मान्छे र अर्ध मान्छेहरूका
पूर्ण बर्बरता र अर्धपागलपनाका
सरल मनका पालुवाहरूमा
अविरल भावनाका तरेलीहरूमा
लह लह लहरिँदै
मनमौजी बग्दाछन्
छहराहरू, छाँगाहरू अनि हिमोत्थानमा
उत्कर्ष चुमिरहेका अन्तस्करणहरू
तर बालापन बिते, जवानी बिते
अनि बिते सिरिखुरि जोसिला बैँशहरूको
अचम्म यो भयो कि
निस्केनन् मानवाकृतिहरू
खोप्दा खोप्दा
जन्मेनन्
साँचाभित्रका मानव मानचित्रहरू
कल्पनाका अन्गिन्ती राक्षसी मुद्राकृतिहरू जन्मिरहेका बेला
जमेनन् र जन्मेनन् मानवताका असमान सिमुलाक्राहरू
बाँसका खबटाहरूमा
कोरिइएका मूर्त अमूर्त चित्रहरू र अक्षरहरू
मुर्च्छित अर्धमुर्च्छित ब्याधाहरू झैँ बुझ्दैनन् ब्यथाहरू
युगको अनुहारमा रचिएका पण्डित्याइँहरूभन्दा
हेमोग्लोबिन झर्न लागेका
चोमोलुङ्गमा बेस क्याम्पतिरका राता राता गालाहरूमाथि
उत्रेका जाँडका छोक्राहरू मन पर्छन्
विजुली र विजुली सञ्जालहरूले अछुत राखेपछि
साँचो घुमिरहन्छ निरन्तर निरन्तर जलप्रवाहमा, जलचक्रमा,
युरियामात्र खाँदा खाँदा
गोबर सुँघ्न लजाउँछन् प्राकृत मनका अस्वभाविक बेर्नाहरू
त्यसैले त
युगीन खुल्ला अदालतको फिरादपत्रमा
चेतना, चिन्तन र चेतावनीका बाबजुद
साक्षी बक्तैछन् चरिमायाहरू
चरिमायाहरू कहिल्यै ढुक्क नहुनू
स्वजनको तिलक लगाएर
सुरक्षाका पर्खाल र कवज लगाउनेहरूसँग
किनकि तिनीहरू नै असुरक्षाका पहिलो सुराकी हुन
हो,
त्यही भएर
चुँदारे साँल्दिदीका श्रमशालामा कहिल्यै ठोस मानवाकृति निक्लेनन्
न मानवताले मान्छे चिन्यो
न चिन्यो मान्छेले मान्छेपना
मान्छेको मानसचित्र र मानचित्रमा
जमेनन् मानवीय बुट्टाहरू, लेकालीफूलहरू, हरियाली मुनाहरू।
——————————
रामप्रसाद प्रसाईं “आँशुतोष आँशु”
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
हालः कपन, राजधानी।