मुलुक छोड्नेको मात्र होइन, रित्ता र सुनसान घरबस्तीका कुरा छन् ः नयाँघरेnayaghare photo.jpg
युवराज नयाँघरे नेपाली निबन्ध र नियात्राका फाँटमा अत्यन्तै सुपरिचित र बलशाली नाम हो । मदन पुरस्कार विजेता नयाँघरेले ‘हरियो राहदानी’ लेखेर वैदेशिक रोजगारीले पारेका सबै खाले प्रभावलाई सम्बोधन गरेका छन् । इलाममा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाइरहेका लेखक नयाँघरे हिजोआज ‘हरियो राहदानी’ मार्फत् पुनः चर्चित बनेका छन् । नवीन शैलीको यो ललित निबन्ध संग्रहले नेपाली समाजको वर्तमान अवस्थाको राम्रो चित्रण गरेको छ । पाठकहरुबाट निकै रुचाइएको प्रस्तुत हरियो राहदानी र यसका कृतिकारसँग उत्तम भट्टराईले गर्नुभएको कुराकानी प्रस्तुत छ –

हरियो राहदानी लिएर आउनुभो ? कस्तो कृति हो यो ?
परदेश जानेहरुका मनस्थिति र चरित्रलाई उतारिएको कृति हो । देश रित्तिरहेको वर्तमानमा पराइ भइरहेका चरित्रलाई पढेर मैले यो किताब ल्याएको हुँ । विभिन्न पात्रपात्रालाई अघि सारेर तिनका मनोदशालाई अघि पढेर लेखिएको एक ललित निबन्धको कृति हो, हरियो राहदानी ।
कति वर्ष लाग्यो यो तयारी गर्न ?
झण्डै तीन वर्ष लाग्यो । खास गरी विदेसिने मनस्थितिका अनेक पाटाबाट म छोइइरहेको थिएँ । त्यसैले फुटकर रुपमा लेख्ने काम पनि निरन्तर भइरहेकै थियो । तर गत वर्षदेखि चैं म यो श्रृङ्खलालाई संग्रहका रुपमा ल्याउने योजनामा थिएँ । बल्ल ल्याउन सकियो ।
हरियो राहदानीका पात्रपात्रासँग कहाँ–कहाँ भेट्नु भो ?
म अमेरिका जाँदा सिंगापुर, जापानमा भेटेका पात्र–पात्राले मलाई निकै खुराक दिएका थिए । अझ आफ्नै घर वरपर र राजधानीमा भेटिने अनेक वैदेशिक रोजगारीमा गएर आएका मानिसहरुबाट मैले रचनात्मक ऊर्जा प्राप्त गरें ।
तपाई त पात्रपात्रा खोज्न त्रिभुवन विमानस्थल पनि जानुहुन्थ्यो रे ?
ठीक भन्नु भो । हरियो राहदानीका निकै निबन्धका सन्दर्भ र प्रसंगहरु मैले एयरपोर्टबाट पनि भेटेको छु । त्यहाँ भेटिएका पात्रपात्रा र चरित्रका व्यवहारको अध्ययनलाई पनि मैले आफ्ना निबन्धमा लेखेको छु । खासगरी भुमरीमा भिखम, झिम्केको झोला, आसबहादुरको आशा र परदेशी टोलको दशैंका निकै पात्र र कथानकता मैले विमानस्थलमै भेटेर लेखेको हुँ ।
वैदेशिक रोजगारीमा गएका मानिसहरुलाई यसले कस्तो सहयोग दिन सक्छ ?
यो भुइँ मान्छेका कथाहरुको निष्पक्ष लेखाइ हो । गाउँदेखि काठमाडौं शहर, खाडीमा पसिना चुहाइरहेकादेखि विभिन्न निहुँ बनाएर युरोप पसेका मानिसहरु अनेक पक्षको मसिनो विश्लेषण र बयान गर्ने मेरो प्रयास छ यहाँ । मुलुक छोडिसकेपछि यो देशको मायाले अलल्लिइरहेका मायालु नेपालप्रेमीहरुको दुखेको मनलाई सान्त्वना दिने र हार्दिक सम्मान गर्न यो कृति सक्षम हुने मैले ठानेको छु ।
हरियो राहदानीको कथामा कति प्रतिशत सत्यता छ ?
यहाँ लेखिएको कथानकतामा सय प्रतिशत् सत्यता छ । केही कथाहरुले अलिक बढी महत्व पाएका छन्–केहीले कम महत्व पाएका छन् । तर सबै कथाहरु वैदेशिक रोजगारमा जानेहरुका दुःख–पीर, आँसु–हाँसो र उतारचढावसँगै गाँसिएर आएका छन् ।
भनेपछि तपाईले सबै चरित्रलाई न्याय नै प्रदान गर्नुभएको छ, होइन त ?
म प्रष्ट छु–अन्याय कुनै पनि चरित्रमाथि भएको छैन । अझ अहिले कृति निस्केपछि प्रतिकृया पाउँदा लागिरहेछ–मैले सबै चरित्रप्रति समान व्यवहार नै गरेको रहेछु ।
झिम्केको झोला निबन्धको झिम्केलाई कहाँ भेट्नु भएको थियो ?
म आफ्ना चिनारुलाई बिदा गर्न एयरपोर्ट गएको थिएँ । त्यहीँ मैले जुँगा पनि राम्रो नउम्रेका कलिलो एक नेपाली केटोले झोला मिलाइरहेको आहतपूर्ण दृश्य देखेको थिएँ । ऊसँग मेरो अरु कुराकानी पनि भएको थियो । त्यही स्थितिलाई पछि मैले लेखेको हुँ ।
यो निबन्ध त अत्याधिक मन पराइयो नि ?bimochan program.jpg
हो, निकै मन पराइयो । खासगरी युरोप–अमेरिका होइन–खाडीतिर श्रम गर्न जाने निम्न वर्गीय श्रमिकको चित्र यो रचनामा भेटिन्छ । देशबाट बाहिरिने समूहको चित्रण भएकैले ‘झिम्केको झोला’ ले यति लोकप्रियता हासिल गरेको हो ।
हरियो राहदानीका निबन्धमा युरोप–अमेरिकाको प्रसङ्ग थोरै भएको मानिदैंछ नि ?
ठीक भन्नुभो तपाईले । मैले सुरुदेखि नै मलेसिया, कतार, दुबई, कोरिया र कुबेत जस्ता देशमा ओइरिइरहेको नेपाली कामदारका मनस्थितिलाई पढेर लेखेँ । नेपालीहरुको ठूलो हिस्सा र उपस्थिति पनि यिनै भूभागमा रहेको छ । अवश्य पनि ठूलो हिस्सालाई लेख्नैपर्छ भनेर अलिक एकोहोरिएँ त्यतातिर । तर दुईतीन निबन्ध त युरोप–अमेरिकालाई सम्बोधन गरी पनि लेखेको छु मैले ।
हरियो राहदानी लेख्दा बढी समस्या कसका देख्नुभो ? महिलाका कि पुरुषका ?
महिलाहरु यौन हिंसाबाट प्रताडित भएका छन् । पुरुषहरुको श्रम शोषण बढी भएको भेटें मैले । तिनका प्रसंग केही निबन्धमा प्रष्टसँग लेखेको छु ।
हरियो राहदानीमा बोलीचालीका भाषाले निकै राम्रो स्थान पाएको पो रहेछ, किन ?
हो, म सामान्य मानिसका कुराकानीलाई पनि स्तरीय भाषामा लेख्न सकिन भन्ने विश्वासमा छु । त्यसै अनुसार परदेश गएका मानिसका बोलीचाली थपक्क टिपेर उतारेको हुँ । अझै पनि तराई र हिमाली भेगका बोलीवचन उतार्न सकिनँ । यो कुराले मलाई अलिक खिन्न पारेको छ ।
हरियो राहदानीमा मानिसका मसिना पक्षको बयानसँगै अरु के बढी दिएको लाग्छ ?
खासगरी देश छोडेर श्रम गर्न बाहिर पुगेका नेपालीहरुमा आफ्नो जन्मभूमिको अगाध प्रेम र सम्झनालाई मैले कुनै न कुनै रुपमा लेखेको छु । घर छोडेपछि बल्ल आफ्नो माटो, आफ्नो जाति र आफ्नो संस्कृतिको मूल्य बढी थाहा हुन्छ । यो भावानात्मक देशप्रेमलाई मैले उतारेको छु । आँफै पनि केही समय अमेरिका बस्दा देशको ममता के हो भन्ने कुरा थाहा पाएको थिएँ मैले ।
रेमिट्यान्सले ल्याएको विकृतिबारे हरियो राहदानीमा कस्तो चर्चा छ नि ?
रेमिट्यान्सले राम्रो मात्रै प्रभाव पारेको छैन–साँस्कृतिक, नैतिक र आध्यात्मिक दुस्प्रभावको घातक अवस्था देशमा भित्रिरहेको छ । त्यसलाई पनि मैले आफ्ना निबन्धमा धेरथोर उतारेको छु । तर ती ठूला नारा र चर्का भाषणका रुपमा नभएर प्रहार गर्ने तिखा सुइराका रुपमा आएको हुनुपर्छ ।
यी निबन्धलाई त कथा र निबन्ध मिसिएको नयाँ विधा हो भनियो नि त, केही पाठकबाट ?
हो, यी निबन्ध अलिक फरक छन् । रोजगारीका लागि बाहिर जाने नेपालीका सबै पक्षको धेरथोर चर्चा छ । ती कुनै कथा भएर, कुनै आख्यानात्मक भएर समग्ररुपमा आएका छन् । मेरो मुख्य विधा हो निबन्ध । निबन्धको उच्च र विशिष्टपन अपनाउँदा ती सरल, सोझा र श्रमिक चरित्र माथि न्याय नहोला कि भनेर पनि अत्यन्तै सचेत थिएँ । त्यसैले कथाजस्ता लागे पनि यी निबन्ध नै हुन्, ललित निबन्ध । जहाँ–पसिना पोखिरहेका लाखौं नेपालीका टीठलाग्दा अनुहारको स्थिति उतारिएको छ ।
हरियो राहदानीका कुन पात्रलाई तपाई विशेष सम्झना गर्नुहुन्छ ?
वास्तवमा यो संग्रहका सबै पात्रहरु स्मरणीय छन् । तर लिम्बुनीको फोन नम्बर भित्रकी ‘लिम्बुनी’ पात्र र दोबाटेको दलाल भित्रको ‘दोबाटे’ लाई निकै सम्झना गर्छु म । त्यसो त ‘झिम्के’ पनि घरीघरी मनमा आइरहने पात्र हो ।
कुन निबन्ध अत्यन्तै छोटो अवधिमा लेखिएको हो ?
‘बैसको भास’ भन्ने निबन्ध मैले एक घन्टामा लेखेको हुँ । विदेशमा बसेर कमाएको पैसा जति आफ्नो यौन तिर्खा मेट्ने पात्रको मनोदशालाई उतार्न मैले उक्त निबन्ध लेखेको हुँ । त्यो खराखरी लेखेर एक घन्टामा सकेको याद छ ।
हरियो राहदानीका कुन चैं निबन्धले बढी समय लिएको थियो ?
‘बाका बोली’ भन्ने निबन्ध लेख्न मलाई निकै समय लाग्यो । छोराछोरीले छोडेर गएका बृद्धबृद्धाको समस्यालाई लिएर मैले उक्त निबन्ध लेखेको हुँ । एकजना बृद्धलाई छोडेर अमेरिका गएका युवासँग मेलमा कुराकानी हुँदा उनका पिताले आफ्ना हालिएका दाँत भोजमा चपाएर निलेको मैले थाहा पाएँ । पछि त्यही सन्दर्भलाई बढाएर निबन्ध लेखेँ । तर त्यो पुरा गर्न फाप्लु, सल्लेरी र काठमाडौंका विभिन्न ठाउँमा वस्तुस्थिति बुझ्न खोज्दा झण्डै आधा महिना लागेथ्यो । यो निकै स्तरीय पनि छ । समकालीन बृद्धबृद्धाको अवस्था चित्रित राम्रो निबन्ध पनि भएको छ यो ।
हरियो राहदानीले राजनैतिक रुपमा के–कस्तो कटाक्ष गरेको छ नि ?
असल र दुरदृष्टिपूर्ण चिन्तन नभएका नेताकै कारण मुलुक अहिले युवाविहीन भइरहेछ । देश प्रतिभा पलायनले ग्रस्त छ । हरियो राहदानीमा राजनैतिक नालायकी र भ्रष्टतालाई समेत उतारेको छु । बेरोजगारीहरुको चित्रण र रोजगारका निम्ति विदेसिनेहरुका अवस्थालाई देशको राजनैतिक पंगुपनासँग मैले जोडेर हेरेको छु ।
भनेपछि आजको नेपालको चित्र छ हरियो राहदानीमा ?
मैले मुलुक छोड्नेहरुको मात्र होइन–रित्ता घरबस्ती, सुनसान आँगन र युवाविहीन टोलका चित्रहरु यहाँ उतारेको छु । यो आजको नेपालको साँचो तस्वीर हो । यी तस्वीरका पछाडि उत्साह र खुशी कम छन्–आँसु र हिँक्का छन् एकदमै बढी । त्यसैले पनि कृति बढी मार्मिक हुन पुगेको हो ।

विमोचनकै दिनमा कृति बीसौं हजारको बिक्री भएको सुनियो नि ?
हो, तपाईले ठीक सुन्नु भयो । त्यसमा अझै केही रकम बढी भएको पो मैले थाहा पाएको थिएँ ।
‘हरियो राहदानी’ को वितरण कहाँबाट भइरहेको छ ?hariyo rahadani cover.jpg
यसको प्रकाशन रोजगार मिडिया प्रा.लि.ले गरेको हो । यससँग सम्बद्ध मित्र सुमन गिरीले अहिले बजार व्यवस्थापन गरिरहनुभएको छ । खासगरी नयाँ सडक, रत्न पुस्तक भण्डार–बागबजार, हिमालयन बुक सेन्टर–बागबजार र पैरबी बुक हाउस–पुतलीसडकबाट हरियो राहदानीको बिक्री वितरण भइरहेको छ ।
मलेसिया र दुवईतिरका पाठकहरुबाट निकै माग भएको सुनिएथ्यो ?
हो, त्यतातिरबाट यो कृतिको निकै माग भएको छ । मलेसियामा हजारौंले पढ्ने चाहना गरी हामीलाई खबर गरेका छन् । त्यसैगरी दुबई, ओमान, अवुधावीतिर पनि हामी बिक्री वितरणका लागि पठाइरहेका छौं । कोरिया र इजरायलतिर पनि दशैं अघि नै हरियो राहदानी पुगिसक्नेछ ।
भनेपछि पुस्तकको माग निकै बढी छ ?
अवश्य नै बढी छ । पढ्ने चाहना गरेका सबै पाठकका हातमा हरियो राहदानी पु¥याउने प्रयासमा छौं । यसका लागि रोजगार मिडियाको कार्यालयको फोन नं. ०१ ४२४८२२३ र बजार व्यवस्थापक सुमन गिरीको मोबाइल नं. ९८५१०९२६९६ मा सम्पर्क गर्न पनि म अनुरोध गर्दछु । दिनहुँ देशभित्रसँगै देश बाहिरबाट अत्याधिक माग भइरहेको छ–हरियो राहदानी ।
हरियो राहदानी अन्य भाषामा पनि अनुवाद गरिनुपर्छ भन्ने माग आएको सुनियो नि ?
खासगरी, खाडी वरपरका भाषामा अनुवाद गरिनुपर्छ भन्ने माग भइरहेको छ । तर त्यो सम्भावनाशून्य चैं होइन । सम्भावनाको नजिक छ । भोलि त्यो काम गर्न सकिन्छ ।
हरियो राहदानी पछि अर्काे कुनै त्यस्तो प्रकाशन गर्दै हुनुहुन्छ कि ?
अब अर्काे पक्षबाट वैदेशिक रोजगारलाई नियालेर लेख्ने मन छ । हेरुँ, भोलिका दिनमा के–कस्तो हुन्छ ! स्पटमै गएर अध्ययन गरी बुझ्ने मन चैं छ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *