डा.राममान तृषित…..

धेरै पछि यो नाउँ लेखे जस्तो लाग्छ आज । लेखिँदै छ जस्तो लाग्छ ।  विर्सिनै सकेजस्तो लाग्छ यो नाउँ आज भोलि ।

नेपाली जातिमा यो बानी पर्याप्त छ । अझै विशेषतः साहित्यिक, सांस्कृतिक अनि समाजार्थिक वृत्तमा । म यस्तो कुरालाई टिकट सम्झना भनेर तल लेखुँला ।

डा राममान तृषित अहिले छैनन्, अहिले छैनन् भने पहिले पनि थिएन । किनकि पहिले डा राममान श्रेष्ठ मात्र थिए ।

राममान श्रेष्ठ डाक्टर हुनुअगि पनि गीतकार थिए, डाक्टर भइसकेपछि पनि गीतकार थिए तर हाम्रो बौद्धिक समाजले उनलाई कवि, गीतकार, निबन्धकार वा गजलकारको रूपमा भन्दा एक चिकित्सकका रुपमा बढी चिनेको नै देख्छु, उनकै गीत गाउने वा मनपराउने कलाकारले पनि उनी जिउँदो हुँदा मैले चिनेको कहिले देखिनँ, (यस घटनालाई म विकट सम्झना भनेर तल लेखुँला)  यस्ता बीसतीसओटा घटना मैले उनीसित भोगेको छु । एकाध घन्टाको संस्मरण रेखी यहाँ राखुँला ।

तृषितका गीत वारे कैँयौ प्रश्न मैले उनलाई र उनका सहकर्मीलाई गरेको छु जसलाई म निकट सम्झना भनेर पनि लेखुँला तर राममान तृषित गीतकार चैँ कस्ता हुन् त ? गालिब, साहिर वा फैजअहमद फैज , कुन बाटो भएर उनी आएका हुन् उनी गीतमा ??? जानकारी धेरै छन् , त्यसलाई म प्रकट सम्झनामा राखुँला ।

प्रकट सम्झना ः

गीतकार राममान तृषित वारे रिसर्च, थेसिस वा व्याख्यान कहाँ कति भए, त्यो उनको निम्ति उनको जीवनकालमा जति महत्वपूर्ण थियो, भयो वा भए होलान् । यसमा कतिले खुशी हुने गरेका छन् , कसैले आफ्ना पुस्तक निकाल्दा सूचिमा राख्ने गरेकाछन् ,  आफूले गरेका विदेश भ्रमणको वा पुरस्कारको सूचिमा जस्तै । तर कसैकसैले राख्दैन –(जस्तो पंक्तिकार यसबाट कोसौँ टाढा छ । पंक्तिकार आफै एक लेखक भइएको भए पनि यस्तो विवरणीका टाँसेको छैन आफ्नो कृतिमा । )

राममानको जीवनमा पनि त्यो समय आयो र गयो होला तर हाम्रो सुधी  समाजले चासो लिएन होला । वा, पंक्तिकारलाई पनि थाहा नभएको कुरा हो ।

भनिन्छ, नेपालमा तीन लेखक सबभन्दा बढी विक्छ भन्छन्, भूपी, शंकर र पारिजात । यी तीन मध्ये शंकरका निबन्ध नपढ्ने नेपाली कमै होलान् , डा राममान त एब्स्ट्रैक्ट चिन्तन ः प्याज, लाई दोहोर्याई दोहोर्याई पढेको देखेको छु, अण्डरलाइन गरेर । ती शंकरको वारेमा अहिले सम्म पीएच्डी गर्ने त्रिविविका शोधार्थी अहिले सम्म भेटको छैन । त्रिविविमा पढाउने एक गुरुआमाले मेरै पुस्तक वर्सादी दिनहरू मा शंकर लामिछानेको जीवनी पढेर पनि शंकर जयन्तीमा श्यामप्रसाद शर्मालाई पुरस्कृत गर्ने वेलामा शंकरकी आमाको नाउँ अर्थोकै भन्दिई, राजकुमारी नभनेर । यस्ता गुरुआमा र गुरुबा भएको त्रिविविमा शंकर लामिछाने वा राममान तृषित माथि पीएचडी गर्ने विद्यार्थी नहुनुको दोष विद्यार्थीको होइन, शिक्षानीतिको हो भन्ने मलाई लाग्छ ।

भूपी शेरचन र ईश्वरवल्लभ राम्रा गीतकार भएका हुन् , राम्रा कवि भएर । तर दुवैमा गजल, नज्म, शायर वा कत’आत को छाप अलि अलि छ, भूपी साहिरलाई छुन्थे भने वल्लभ गालिबलाई आत्मीयता दिन्थे, हजार सपनाहरुको माया लागेर आउँछ सुन्दा गालिबको हजारोँ ख्वाहिश ऐसी है को निकै नजीक पुर्याउँछ हामीलाई ।

भूपीले नै होला हामीलाई नेपाली पाठकलाई अनि सम्पादकलाई पहिलो पटक कसमेँ ना खाने की कसम खाइ है को नजीक पुर्याएर हामीलाई छोडेको । साहिरको जाने वो कैसे लोग थे त्यही वेला भूपी, शंकर, वल्लभ वा अम्बर गुरुङका नजीक गुन्जेका थिए ।

आज भूपीको विरासतमा फैजका शैलीमा गीत लेख्ने कैयन् गीतकार “और भी गम है दुनियाँ में मुहब्बत के सिवा , (यहाँ माया भन्दा ठूलो कुरा अरु पनि छ यो दुनियाँमा ) जस्तै लेखिरहेका छन् , संयोगवश फैजको यो गीतको लाइन कुनै नेपाली गीतकारको  पंक्तिसित मिल्न गए क्षमा भन्न पाउनु पर्छ मैले ।

तीनै भूपी, वल्लभ र अगमसिंह गिरीका समकालीन थिए , डा राममान तृषित । वा वल्लभ, चेतन कार्की भन्दा अलि अगाडि नै हो कि ? गीतकार माधव खनाल भावुक विराटनगर पलायन भएपछि शिवशंकर—नातिकाजीको टीममा राममान आए तर प्रकट सम्झनामा भनिएजस्तो फैज, गालिब वा साहिरको बाटो नभए आफ्नै बाटोमा ….. मैले पुण्य मन पराए या पाप मन पराए जे होस् मैले तिमीलाई चूपचाप मन पराएँ …” कविताबाट चूपचाप यो शब्द गीतमा सर्यो, श्रोता, दर्शक वा पाठकले थाहै पाएनन् । बरु गीतकारले चलाए यही शब्द फेरि । भीम विरागले चलाए पछि , तिमीले पनि मजस्तै माया दिएर हेर मा ।

राममानको हिसाब किताबको गीत बजारमा आएपछि कवि नाटककार वासु शशी प्रकट भए, ‘क्या हो राममानजी । गीतमा मारवाडीपन ? ’

वासु शशीको प्रश्न कडा थियो तर गीतमा राममान एक्लै थिएनन् उनका साथमा हिमालजस्तै अटल गायक नारायणगोपाल थिए , अनि अर्का शिखर थिए संगीतकार गोपाल योञ्जन । यी दुवैले थामे यस गीतलाई । राममामान व्याप्त भए सर्वत्र । नेपाल भित्र र बाहिर । गीतले नारायणगोपालाई चूपचाप सुन्नुपर्ने त बनाइदियो तर राममान चूपचाप हराए त्यसपछि ।

गीतकार राममानलाई डाक्टर राममानले पाश्र्वभूमिमा धकेल्दै लग्यो, उनी झन् विकटमा पुगे ।

विकट सम्झना

डा राममान तृषितका गीतले स्वरसम्राट नारायणगोपालको स्वरमा गुञ्जिनु र नेपाली सुगम संगीतले स्वर्णिम युगमा प्रवेश गर्नु एकै साथ भएको होइन । इतिहासको शुरुवातमै डाक्टर हुनु अगिको राममान तृषित गायक हुनु अगिको नारायणगोपालको स्वरमा पहिलो पटक रेडियो नेपालको माइक्रोफोनमा गुञ्जिएका थिए, संयोग वा सौजन्यले त्यो गीत बाहिर सार्वजनिकीकरण हुन सकेन । यो नारायणगोपालको बाह्राखरी गीत थियो वा उनले गायनमा नमोबागीश्वराय गर्दा प्रेमध्वज र माणिकरत्नको  संगीतमा गाएको स्वरपरीक्षाको गीत थियो ।

पुरानो काठमाण्डूको एउटै टोल वरिपरिका सहयात्री थिए, नारायणगोपाल गुरुवाचार्य, राममान तृषित, प्रेमध्वज प्रधान, तारादेवी श्रेष्ठ  र माणिकरत्न स्थापित । सबैले सँगै शुरु गरे यात्रा । सबैले एकेक पटक गाए, राममान तृषितका गीत ।  तारादेवीले दिलमा हजुर आएर मात्र मलाई थाहा भो  गाइन् भने माणिकरत्नले यो कस्तो रात दियो बाल्दा मुटु बल्छ गाए । परबाट फत्तेमानले कस्तो माया लाइएछ रात आफै विझाउने गाए ।

राममान तृषितको पेशा बद्लिएपछि उनको बस्ने थात थलो पनि बद्लियो, उनी वटुबाट चावहिल, बीरगञ्ज हुँदै आफ्नो मुकाम बद्लिरहे । यसवीच उनका सहयात्री पनि बद्लिए । दशकौँपछि मात्र उनको भेट नारायणगोपालसित भयो , मान्छेको माया यहाँ खोलाको पानी जस्तो गीतमा  शिवशंकरको संगीत मार्फत् । उनी गुञ्जिए घनघोर । तर परिचयमा उही संकट । गीत उनको नभएर नारायणगोपाल र ज्ञानु राणाको हुन गयो । डा राममान तृषित त गीतमा पनि छैनन् । यसरी हराउँदै गए उनी ।

सन् १९९९ को एउटा घटना सम्झिन्छु म । बीरगञ्ज साहित्यिक परिषद्ले बीरगञ्जमा वर्सेनी गरिने साहित्यिक सम्मेलन आयोजना गरेको थियो । मलाई पनि लेजेन्डेरी गेष्ट मा बोलाई पठाएछ । म पनि पुगेँ, काठमाण्डूबाट बीरगञ्ज ।

भेट भए बीरगञ्ज बसिरहेका साहित्यिक डा राममान तृषित, क्याप्टेन जनकबहादुर राणा, बैकर्स गोविन्दबाबु तिवारी , निर्मोही व्यास आदि । कार्यक्रम भर निर्मोही व्यास एउटा गीत गाउँदै हलमा घुमिरेका थिए , गीत एउटै थियो लय असमान । कहिले लामो तानमा कहिले छोटो । मैले  सोधेँ, ‘यो गीत कसको हो थाहा छ व्यासजी ?’

उनले यति मात्र भने, यो गीत तारादेवीको हो । संगीत चैँ शिवशंकर हो कि …

अनि मैले सोधेँ, गीतकार नि बन्धु ?

“थाहा छैन । तर शब्द मनपर्छ मलाई । ”

अजम्बरी गीत—संगीतमा  महिनौँ यो गीत बजाएर गीतकारसित परिचित थिएँ म । गीतकार तपाइँ हाम्रो पछाडि लाइनमा हुनुहुन्छ, गीतजस्तै पंक्तिवद्ध भएर ।

मैले यति भने पछि निमोही व्यासले उचालिएर फरक्क फर्केर मेरो पछिल्तिर हेरे, अनि डाक्टर साहबको हो यो गीत ?

जाडोको महिना हाफ स्वेटरमाथि चेक कोट र कालो पाइन्ट लगाई राखेका गीतकार राममानको अनुहार उज्यालियो । पुरस्कार पाउने वेला प्रमुख अतिथिको निकट पुगेको विजेता विद्यार्थीको जस्तो तेज एक झलक देखियो उनको अनुहारमा अनि हरायो , बालुवामा पानीको लहरजस्तै ।

यस्तो लहर उनको अनुहारमा कति आए कति गए होलान् । अहिले त त्यस ठाउँमा रिँकल मात्र देखियो ।

अनि मैले हाँस्दै सोधेँ, ‘हाऊ डु यू फिल डक्टर ? ’ आफ्नो बानी अनुसार म प्रायःलाई हत्पत्ति दाइ वा अन्य कुनै नाता लगाउँदिन । नाताबाट म विश्वासै गर्दिनँ । त्यसैले उनलाई आदरले डक्टर भन्थेँ ।

उनी भन्दैथे, सम्टाइम् शेम । सम्टाइम एशेम्ड् एन्ड बट आइ एम् अल्वेज् सेम ।

उनको यो प्रत्युत्तर गुञ्जिँदै गर्दा पनि स्रष्टा निर्मोही व्यास आश्चर्यास्पद भइरहेका थिए । कहिले हाँस्दै, कहिले छक्कपर्दै भन्दै थिए , ल यो कुरा मलाई थाहा थिएन । वीरगञ्जमा हामी सँगै छौँ , कतिवर्ष देखि । तर मलाई थाहा थिएन यो कुरा ?

यति निकटतामा पनि विकट थिए , डा राममात तृषित । गर्न हुने नुहने सबै काम गरेका मान्छे काँचको पर्दामा गम्की गम्की अन्तर्वार्ता दिइरहेका हुन्छन् । तर यही समाज, उनकै गीत बजाउने नेपाल टेलिभिजन वा रेडियो नेपाल अनि तिनकै शाखा सन्तान एफएम र यू्ट्युबबाट विकटमा छन् , गीतकार राममान तृषित ।

आज उनी छन् पनि छैनन् पनि ।

खोज्ने कसरी ? वा खोज्ने कसरी ?

निकट सम्झना

वीरगञ्जमा भेटिएको एकमहिनापछि डा राममान तृषित आफ्नो छुट्टीमा काठमाण्डू आएका थिए । मैले निम्त्याएँ, रेडियो सगरमाथा बखुण्डोलको छानामा ।

दिलमाया खाति, ईश्वरवल्लभ, किरण खरेल, नगेन्द्र थापा, वैरागी काइँला पछि उनलाई निम्त्याएँ , मैले मेरो प्रिय कार्यक्रम अजम्बरी गीत संगीतमा । उनी यस कार्यक्रमप्रति वाकिफ थिए , क्याप्टेन जनकबहादुर राणाले गर्दा । क्याप्टेन राणा काठमाण्डू आउँदा मेरो कार्यक्रम सुनेर तराई जान्थे अनि यसवारे बीरगञ्जका साथीभाइलाई भन्थे , त्यसमध्ये डा राममान तृषित छुट्ने कुरै भएन ।

अजम्बरी गीत संगीतमा राममान तृषित हिट भए , दुई रातसम्म । मेरा अजर अमर रातमा राममान हिरो भए । फोन धेरै । प्रश्न धेरै । स्रोता दर्शकको जिज्ञासा धेरै । राममान फेरि आउँछु भनेर गए । मैले समय पनि तोकिदिएँ एक महिना पछि ।

एकमहिनापछि उनी फेरि काठमाण्डू दिन कलंकीबाट भावक आरजू विष्ट सल्यानीले आफ्नै ट्याक्सी खर्चमा किड्न्यापजस्तो गरेर घर एफएम ल्याए । घरबाट उनको खोजी शुरु भो । तर उनी गुञ्जिए, पौने नौबजेदेखि साढे दश सम्म फेरि एकपटक ।

उस्तै स्रोता उस्तै प्रश्न उस्तै फोन । अझ उस्तै तन र मनले दुरुस्त डाक्टर राममान तृषित अजर अमर रातमा काठमाण्डूको उपत्यकामा ।

सुन्ने कति कति । प्रतिक्रिया दिने अनगन्ती । म चूपचाप डा राममान तृषितको पुरानो गीत नयाँ लयमा सुन्दै थिएँ ,

मनमा तिम्रो प्रीत बसोस् …

पन्नाकाजी र दिलमाया खातिले गाएको युगल गीत । भारतीय नेपाली गायिका दिलमाया खातिलाई दार्जीलिङबाट नेपालमा आएर गाउन आग्रह गरिएको पहिलो गीत ।

त्यसपछि गुञ्जिए, नारायणगोपाल, प्रेमध्वज प्रधान, माणिकरत्न, फत्यमान अनि लोचन भट्टराई ।

कार्यक्रम सकिएको वर्षौँपछि पनि हाम्रो यो निकटता जारी थियो । एकदिन मैले उनलाई तपाइँले गीत नलेखेको भए के हुन्थ्यो, डाक्टर साहब ?

उनी हाँस्दै भन्थे, तपाइँले सुन्न पाउनु हुन्नथ्यो होला ।

मैले प्रतिवाद गर्दै भने, होइन डाक्टर साहब । मैले अजम्बरी गीत संगीतमा यस्ता गीत बजाउनै पाउँदिन थिएँ ।

आज फेरि मलाई अजम्बरी गीत संगीत चलाउन भनियो भने डा राममान तृषितका जस्ता गीत फेरि पाउँछु होला त मैले ?

म पनि चूपचाप छु अहिले । उनको चूपचाप जस्तै ।

०००

prakashsayami@gmail.com

9851021865

गोधूली संसार, सैँबु ८

भैसेपाटी, ललितपुर

Savar:  Face Book

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *