आधुनिकोत्तर गजल अवधारणामा-
‘तप्किएर अँजुलीमा’को प्रतिसमीक्षण -समदर्शी काइँला
प्रस्तावनाको बद्धरुपिमबाट- प्रतिसमालोचनाको सिद्धान्तमा राखेर ”तप्किएर अँजुलीमा”को पर्गेलाइ वा विहङ्गमदृष्टि, यो तेती। गजलगो उमा सुवेदीको गजल सङ्ग्रह ‘तप्किएर अँजुलीमा’मा मेरो पाठकीयता यसरी प्रयोजन तथा प्रतिस्थापन बन्छ। यहाँ आधुनिकोत्तर गजलको परीक्षण र ‘तप्किएर अँजुलीमा’को प्रतिसमीक्षण एकैसाथ लिखतमा ल्याएको छु। कारण ?- गजल भनेको लिउँचिउँ बहर, बज्न र काफिया मिलाएर लेखेपछि हुन्छ भन्ने मीठो भ्रम जानिफकार गजलगोहरुमा समेत पाएँ। काफिया,रदिफ र बज्न भनेका डाँडाभाटाहरु मात्रै हुन्। घर त मीजाज हो। मीजाजलाई गजलको आत्म वा ज्यान भन्दा पनि भो। संरचना स्यानू कुरो हो भने मीजाज उपादेयता ठूलो कुरो हो। हिजको खरको घर र आजको टावर घरको फराकता, विभिन्नता र विशिष्टतालाई पनि छुट्टाएर गजलगोले गजल लेख्नु आधुनिकोत्तर गजलको निरीक्षण/परीक्षण हुनजान्छ। आज अहिलेसम्मन् हिजको सैद्धान्तिक संरचना र तत्वहरुमा गजल सृजनु भनेको खरको घरमै बस्ने विकुाचन/ विगतस्पृह हो। गजललाई शास्त्रीय सौन्दर्यमा यसरी सधैं थुनिराख्ने होभने एकदिन गजलको दुखद् मृत्यु हुनेछ। कुनै पनि चीजको सौम्य/सत्व/सौन्दर्य बँचिनको लागि सम्यक् ‘रुपान्तरण’ जरुरी हुने हुँदा अब आधुनिकोत्तर गजलको खोजतलास मेरो खोज हो। आधुनिकोत्तर खोज्दा पुरातन शास्त्रीय रुपरङ्ग पनि सापेक्षतामा बगलमै टाँसीबसेको हुन्छ। टँसाउन सक्नु पर्दछ एक कुशल गजलगोले। एक दृष्टान्तमा- टेक्निकल पक्ष आधुनिकोत्तर गजलमा काफियालाई बहूलकाफिया बनाएर या अरु शब्दालङकारबाट लयमा नयाँ मीठास बनाउनु पर्दछ। एकको सत्व अनेकमा हुनु र अनेकको सत्व एकमा हुनु नै सापेक्षता त्यो उत्तरवर्ती गजलगोले विषयवस्तुमा भेट्तै भेट्तै संशोधनवादको जादूले थप अमूर्त लय भावभङ्गिमा खोज्दा नै आधुनिकोत्तर गजलको मीजाज बन्दछ। गजलको बौद्धिकीकरण,विशिष्टीकरण र वैविध्यकरणको समीकरणबाट नै तेस्रो लय वा नितान्त नयाँ लय बनाएर मात्तै गजलगोको स्वकीयता र मौलिकता बन्दछ। प्रणय निवेदन, मधुशाला र विद्रोहचेतको फाँटबाट पनि निक्लेर गजल उत्तरवर्ती उत्तुङ्ग चुचुरोसम्मन् पुग्नुपर्छ । अनि मात्तै गजलको विकाश भएको एकहद मान्न सकिन्छ। अहिलेलाई अधिभाषिक संचेतनमा सापेक्षित हिस्सा अनि यो लेखक अर्थात् खेलकको एक अंश, प्रकाशकको एक अंश,भूमिकालेखनको एक अंश, आवरणकारको एक अंश, स्वागतकारको एक अंश, शुभकामनाकारको एक अंश,पात्रको एक अंश र अरु पनि विकल्पका/ सम्भावनाका अंशहरु छन् -बाट बहूल अंशहरु मिलेर विधामा प्रतिविधाहरु थपिइएर बनेको छ तप्किएर अँजुलीमा । सम्यक् हिस्साविभाजनबाट खोतलखातल गरेर मात्तै कृतिको कूलहिस्सा हिसापमा निस्कन्छ र सही लेखाजोखा हुन्छ भन्ने मान्यता प्रतिसमीक्षणको हो।मीजाजऐजनमा भनिसकें, मीजाज गजलको आत्म हो। मीजाजबेगर गजल ‘क्याभिटी’ मात्र बन्छ। दर्शनको भित्रिगुदी भनेकै मीजाज त्यसमा गजलको जीवन बाँचेको हुन्छ। प्रधान तत्व मीजाजलाई मानेर अरु संरचनाहरुलाई पनि उत्तिकै सम्यक् संचेतनले निर्माण गर्नुपर्दछ। अनि मात्र असली गजल बन्छ। उमा सुवेदीको ‘तप्किएर अँजुलीमा’मा उसरी नै बेजोडको व्यन्जनाशैलीमा मीजाज निर्मित छ। चिद्वैम्यताले मीजाजमा प्रणय निवेदन, विप्रलम्भशृंगार, विद्रोहचेत, आदर्शवादिता, वाङ्मयिक प्रबोधन, मायिक यथार्थवाद ,जीवनबोधता, आप्रवासिक उत्पीडन,देशप्रेम,असङ्गति/विसङ्गतिको उत्खनन,कटाक्ष र गवाक्ष,मनोहारी मनको सिद्धान्त ,नयाँ नेपाल निर्माणार्थ युद्धको अन्त्य,नारीको अनेकानेक रुपरङ्गको विवेचन र नोष्टाल्जिक अन्तरिमप्रेमको ऊहापोह विशेषरुपमा उरुङखात छन्। यी मीजाजको लम्बाइ-चौडाइ-उचाइ-गहिराइले परिमिततालाई घचेटेर परसम्मन् पुर्याएको वापतको भान हुन्छ त्यो पर भनेको मैले भर्खरैमाथि भनेकै हो। उमाका गजलमा काफियाको भन्दा’नी मीजाजको राम्रो व्यवस्थापन भएको मैले ठहर गरें। काफियाकाफिया भनेको अनुप्रास हो। अनुप्रास भनेको पुनरावृत्तिको शब्दालङ्कार जसमा तीन भेद हुन्छन्। ती भेदहरुको विभेद खुटाएर सम्यक् प्रयोग गर्दा नै काफियाले बहर निर्माणमा अहम् भूमिका खेल्छ मीजाज प्राप्तिको लागि। तप्किएर अँजुलीमामा बेसीजसो चलनचल्तीका र केहीजस्तो अचल्तीका काफियाहरु प्रयोग भएका छन्। केही काफियालाई लालित्यमय शब्दमा जोरजाम गर्न खोजेका छन् गजलगो उमा सुवेदीले। शब्दलाई छानेर, निफनेर, केलाएर ,हेरेर र स्वर -वर्णको एकेक फरक र मेललाई भेटेर काफिया निर्माण गर्दा नै भनेजस्तो भाव र लय बन्छ। आधुनिकोत्तर गजलमा बहूल काफियाको अवधारणा मैले पेस गरेको छु। जसले गजललाई अरु बेसी गेय बनाउनेछ। बौद्धिक पठनपाठनको लागि पनि आधुनिकोत्तर गजलको खनखाँचो परेको हो। वज्न वज्न भनेको मात्रात्मक तौल हो। गजलगोले सकेसम्मन् यसलाई मिलाउँदा गजलको लय विशिष्ट हुन्छ। नमिलाउँदा पनि लय भङ्ग हुने चाहिँ होओइन। किनकि यो अधिभाषिक संचेतनको निम्याक्ले बनाइन्छ। बनाउँनु पर्छ। उमा सुवेदीले वज्नमा विशेष ध्यान दिएका छन्। हुन त मोतिराम भट्टदेखि उमा सुवेदीसम्मन्का गजलगोहरुले वज्नमा गल्ति गरेका छन्। गजलमा पिएच. डी. गर्नुहुने डा. घनश्याम न्यौपाने ”परिश्रमी”ले पनि काफिया र मिसराहरुमा झिनामसिना गल्ति गरेका छन्। तेस्को अर्थ गजलको यो साङ्ग्रो संरचनाभित्र रहेर सप्पै सैद्धान्तिक तत्वहरुको सही प्रयोग र उपयोग गरेर गजल लेख्न हम्मे पर्छ। अनि तेहीभित्र रहेर लेख्न खोज्दा मीजाज मर्छ। लय बिगि्रन्छ। तेसो र पध्य कविता(उहिले पध्यलाई मात्तै कविता मानिन्थ्यो) लाई गध्य (अहिले गध्य कविता नै नेपाली साहित्यमा मानक र शक्तिशाली भएको छ) बनाएर लगेजस्तै गजललाई पनि अब आधुनिकोत्तर गजल बनाएर लानु पर्दछ भन्ने मेरो अभिष्ट हो। उमाका कतिपय वज्नले यी नै झझल्काहरु पनि दिन्छन्। तेसो र भन्छु, सारै थोरै समयमा सारै धेरै र सारै राम्रा गजल लेख्नेमा पर्छन उनी।शेरशेर भनेको दुई पङ्क्तिको पध्यांश हो। दुई मिसराहरु आपस्तमा समन्वय भएर ‘ए उला’ र ‘ए सानी’मा शेर बन्छ। अब्बल दर्जाको गजल बन्नुलाई मिसराहरुको वीचमा मीजाजको तादात्म्यता पहिलो शर्त हो।ए उलाले प्राक्कार्य गरेर ‘पोलीम्याथी राइटिङ’ले मीजाजको सलग्गता उचाल्दै ‘ए सानी’ले समापनमा सहकार्य गर्छ। उमा सुवेदीका गजलका शेरहरु उच्च गाम्भिर्यमा बनेका छन्। कहींकतै मिसरा उला र सानीको अन्तस्रम्बन्ध बिग्रेका छन् भने कहींकतै बनेका पनि छन्। शेर अब्बल हुनलाई मिसराहरुको शब्दरचनाले पनि सघाउपघाउ गर्दछ। सघाउपघाउमा गजलगो उमाका मिसराहरुले मानिसका पूर्णबोली बोल्न खोजेका छन्। त्यो प्रणयप्रेमदेखि प्रतिध्वनित भएर देशप्रेमसम्मन् पुगेर सुनिन्छ। अब आधुनिकोत्तर गजलले शेरको संरचनामा पनि बहूल शेर विनिर्माण गर्नुपर्छ भन्छ।तेसो गर्दा नै बहुलरङ्गको संगीत लय र भावको तन्काइ हुनजान्छ।तीन पध्यांशहरुलाई एक शेर बनाएर सम्यक् प्रयोग गर्दा नी भो। बहूल काफियाहरु लाटानुप्रास हुँदा नी भो। यो पनि बहुरङ्गवादले व्यैयक्तिक प्राक्कार्यमा जिम्मा लगाएको छ। शेरमा मौविनिहासाकलाविचलनको कुरा पनि थपनीमा छन्। बहर बहर भनेको छन्द हो। छन्द मिल्दा पनि नमिल्दा पनि गजल बन्छ। मैले नेपाली साहित्यमा बहर पूरापूर मिलेको गजल विरलै देखेको छु। मेरो स्वकीय मीमांसामा अरु कतिपयले भनेजस्तो बहर र मिटर एउटै होइनन्। हुँदैनन्। किनकि बहर सिरिफ छन्दसँग मात्र सापेक्षिक सम्बन्ध राख्छभने मिटर भनेको मात्रात्मक तौलसँग। वज्न र बहरको अन्तस्रम्बन्ध भने हुनुपर्छ नै उही सापेक्षिकता र सान्निध्यता। उमा सुवेदीका कतिपय गजलहरुमा बहरको राम्रो बन्दोवस्ती छ। जसले गर्दा नै यो छोटो प्रतिसमीक्षण गर्न मलाई जाँगर चल्यो। तप्किएर अँजुलीमा सरसर्ती हेर्दा उमा सुवेदीले गजलको सैद्धान्तिक तत्वहरुको निक्कै गहिरो अध्ययन गरेको पुष्टि हुन्छ। बहर निर्माणको यस्तै कठिनाइले गर्दा नै मैले आधुनिकोत्तर गजलको अवधारणा ल्याएको हुँ। गजलगोले आधुनिकोत्तर गजलमा यी सप्पै कुराहरुलाई अटाएर लैजान्छन्। गजल सृजनमा मत्लामक्तारदिफ र तखल्लुसले पनि आ- आफ्नो ठाउँमा लय मीजाजसौन्दर्य बोकेको हुन्छ नै। तीहरुको पनि सम्यक् विचलन र प्रतिनिर्माण हुनपर्छ भन्ने मेरो हार्दिक जिकिर रह्यो। उपसंहार आधुनिकोत्तर गजल अब रेखाचित्रमा पनि पुग्नु पर्दछ। गजल नयाँ आविष्कारण- गजल सुन्ने मात्र होइन हेर्ने पनि हुनपर्छ। ‘भिजुवल’ गजल ठ्याक्कै बहुर्गवादीहरुले बनाएको भिजुवल कविताजस्तो हुनुपर्दछ। अब प्रयोगको फड्काले तेसरी छलाङ मारोस् भन्ने मेरो सदिच्छा छ।चेतना प्रवाहात्मक लेखन शैलीको सङ्गीत-ध्वनि गजलमा पनि आयोभने गजल अझै गेयता भएर छुट्टै मीठास बन्छ। एक उदाहरण जो गजलमा हुनुपथ्र्यो,भएन ”
”पोथ्राहरुमा संगीत दौडिदै उमि्रउन् मि्रउन् उन नन् न्
पातहरुमा बसू्रन् अर्केष्टाका टुक्राहरु टुक्राहरु टुक्राहरु क्राहरु हरु रु र
पेपिरसका पातहरुमा पातहरुमा हरुमा रुमा मा म् ।”
यसमा मीथबिधान पनि आओस्। आज हामी बाँचेका जो छौं, हिजको हिस्सा पनि जानीनजानी बोकेरै बाँचेका हुन्छौं -ले गजलमा आध्यबिम्ब लेख्न जरुरी भईसक्यो भन्ने मलाई लाग्छ। त्यो कसैबाट थालनी भएको देखिनँ यो बेला सम्मन्। अनि नै मैले यो आधुनिकोत्तर गजल परीक्षण ‘तप्किएर अँजुलीमा’को प्रतिसमीक्षणभित्रै खाँदेर जबरजस्ती लेख्नु परेको हो। गजलगोहरुले ढोडको आगो तापेर बस्ने बेला यो हुँदै होओइन म पनि भन्छु। गजलगो परिहास सुब्बाले काछुप गजलको यौटा नविनप्रयोग गरेको मलाई बेसी मन पर्यो। अभियन्ता परिहास सुब्बा र खगेन्द्र पन्धाक लिम्बूबाट गजलमा यस्तै थुप्रै प्रयोग र आविष्कार मैले आशा गरेको छु। महान विचारहरुको जीवनमा प्रयोग गजलले पनि गरोस् कवितालेजस्तै। गजल समृद्ध भएको म पनि देख्न चाहान्छु। अन्तमा उमा सुवेदीले गजललाई शराव,शवाव र ख्वाबको साँगुरो विषयवस्तुको चेपबाट निकालेर मैले चाहेको उत्तरवर्ती फाटकसम्मन् ल्याईपुर्याएकाले लाख धन्यवाद र शुभकामना दिदछु। छोड्दै दृष्टान्तमा उही उमा सुवेदीको अब्बल दर्जाको शेर-
आफ्नै घर सल्काउँदा आफ्नैबाट ताली पाएँ
फूल काटी काँडा गोड्ने अनुभवी माली पाएँ
shabhar:Facebook